स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन्।
उनले मंगलबार दिउँसो राजीनामाको घोषणा गरेका हुन्।
‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी गराउन चाहन्छु,’ उनले भने।
उनले सडक र सामाजिक सञ्जालमा उर्लिएको जेन जी पुस्ताको आक्रोश भ्रष्टाचार र कुशासनविरुद्धको स्वाभाविक र जायज खबरदारी भएको बताए।
‘उनीहरूले केवल प्रश्न सोधेका थिए। हाम्रा छोरा छोरीहरूले आफ्नो भविष्य मागेका थिए, भिडन्त होइन। उनीहरूले राज्य व्यवस्थामा सुधार खोजेका हुन्, अराजकता होइन,’ उनले भने, ‘अहिंसा लोकतन्त्रको प्राण हो” भन्ने सिद्धान्तमा अडिग रहेर राजनीतिमा होमिएको म, हिजो आफ्नै निहत्था छोरा छोरी पुस्ताको रगत बगिरहेको दृस्यको साक्षी बन्न सकिन। जुन मन्त्रालयको शपथ नागरिकको जीवन रक्षाका लागि लिएको थिएँ त्यही पदमा बसेर राज्यले गरेको ब्यबहारको मुकदर्शक बन्न मेरो आत्माले मानेन।’
आजको युवा पुस्ताले सडकमा उठाएको आवाज विद्रोह होइन, सुधारको अपेक्षा भएको उनले बताएका छन्। ‘यो पुस्ताको ऊर्जा र चेतनालाई दमन गरेर होइन, सम्मान गरेर मात्रै देश अघि बढ्न सक्छ। उनीहरूको आवाज नसुन्नु भनेको देशको भविष्यलाई अस्वीकार गर्नु हो,’ उनले भने, ‘एकातिर घाइतेहरूको उपचारको व्यवस्था मिलाउनु, अर्कोतिर त्यही राज्य संयन्त्रको अंग बनिरहनु—यो नैतिक संकटमा म रही रहन सकिनँ। त्यसैले, लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै मैले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पदबाट राजीनामा दिएको छु।’
यसअघि कांग्रेसबाट मन्त्री भएका कृषि मन्त्री रामनाथ अधिकारी र गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका थिए।
जेनजीको आन्दोलनमा १९ जनाको मृत्यु भएको थियो।