प्रदर्शनकारीहरूले मंगलबार चितवनका अधिकांश सरकारी कार्यालयमा आगजनी गरेका छन्।
बिहान ११ बजे भरतपुरको चौबीसकोठीमा भेला भएका प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेपछि आक्रोशित बनेका थिए।
उनीहरूले सबभन्दा सुरूमा जिल्ला प्रशासन कार्यालयलाई निसाना बनाए। हजारौं संख्यामा जिल्ला पुगेका प्रदर्शनकारीले प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय आगजनी गरे।
त्यसपछि चितवन जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, आन्तरिक राजस्व कार्यालय, भरतपुर महानगरपालिका कार्यालय, यातायात व्यवस्था सेवा कार्यालयमा आगजनी गरे।
सुरक्षाकर्मीले सुरूआतमा रोक्ने प्रयास गरे पनि प्रदर्शनकारीहरूको भिडले उनीहरूलाई लाचार बनाएको थियो। अन्य सरकारी कार्यालय जोगाउन नसकेका सुरक्षाकर्मीहरूलाई अपराह्न आफ्नै कार्यालय जोगाउन हम्मे भएको थियो।
सदरमुकामका महत्त्वपूर्ण कार्यालयहरूमा आगजनी गरेपछि प्रदर्शनकारीहरू भाटभटेनी सुपर मार्केट पुगेका थिए। उनीहरूले सुरूमा भाटभटेनी सुपर मार्केटमा ढुंगा प्रहार गरेर सिसा फोडे। त्यसपछि आगो लगाइदिए। आडैमा रहेको सिजी ल्यान्डमार्कमा पनि आगो लगाइदिए।
प्रदर्शनकारीहरूले भरतपुर महानगरका अधिकांश वडा कार्यालयमा आगजनी गरिदिएका छन्।

उनीहरूले भरतपुर महानगरपालिकाको शिवनगरस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को निवास, एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेको राप्तीको भण्डारास्थित निवास, खैरनी नगरपालिकामा रहेको एमाले संसदीय दलका नेता जेएन थपलिया, भरतपुर–१० मा रहेको एमालेका केन्द्रीय सदस्य कृष्णभक्त पोखरेल, एमाले जिल्ला अध्यक्ष कमल पाठक, खैरहनी नगरपालिकाका मेयर शशि खनिया, उपमेयर कविता उप्रेती र वडाध्यक्षहरूको निवासमा तोडफोड तथा आगजनी गरे।
उनीहरूले खैरहनी नगरपालिकामा रहेको सबै सरकारी कार्यालय तोडफोड गरेका छन्। रत्ननगर नगरपालिका, रत्ननगरस्थित इलाका प्रहरी कार्यालय र विभिन्न वडा कार्यालयमा तोडफोड तथा आगजनी गरिएको छ।
प्रदर्शनकारीहरूले चितवनका सबैजसो राजनीतिक दलका कार्यालय पनि जलाइदिएका छन्।
उनीहरूले मंगलबार साँझ भरतपुर–१० स्थित कालिका एफएममा पनि आगजनी गरेका छन्। भरतपुर–९ मा रहेको महालक्ष्मी ड्राइभिङ सेन्टरमा पनि आगजनी गरेका छन्।