कुलमान घिसिङ र हितेन्द्रदेव शाक्य नेपाल विद्युत प्राधिकरणका दुई होनहार इन्जिनियरमध्ये हुन्।
र, दुवै जना कर्म र भाग्यले प्राधिकरणको नेतृत्वसम्म पुगे।
तर प्राधिकरणबाट दुवैको बहिर्गमन सुखद रहेन। दुवै जना दुई–दुई पटक नेतृत्वबाट अन्यायपूर्वक निकालिए।
कुलमानलाई दुई वटा सरकारले दुई पटक प्रतिशोध साधेर निकाले। यसपालि भने दुई पटक सरकारबाट चोट पाएका कुलमानले नै हितेन्द्रलाई अन्याय गरेर प्राधिकरणबाट हुत्याए।
जबकि उनलाई पनि थाहा छ — हितेन्द्र पनि उनीजस्तै एक काबिल इन्जिनियर हुन्। इमानका साथ काम गरेका मानिस हुन्। र, पाँच वर्षअघि पहिलो पटक कुलमानलाई हटाएर जसरी हितेन्द्रदेव प्राधिकरणमा नियुक्त भए, त्यसमा उनको कुनै हात थिएन।
त्यो बेला नेकपाको सरकारले उनलाई हटाएको थियो र हितेन्द्रलाई नियुक्ति दिएको थियो। अनि बजारमा हल्ला चलेजस्तो उनी पूर्वप्रधानमन्त्री केपी ओलीका साला पनि होइनन्।
ओली सरकारले जसरी कुलमानलाई दोस्रो पटक हटायो, त्यसमा मुख्य हात तत्कालीन ऊर्जामन्त्री दिपक खड्काको थियो। हितेन्द्र त प्राधिकरणबाट बाहिरिइसकेका थिए।
अरू धेरैको नाममा ओली र खड्काबीच सहमति नजुटेपछि अन्तिममा हितेन्द्रदेव दोस्रो पटक प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए।
समय बलवान छ। समय चक्रले कुलमानलाई अप्रत्यासित रूपमा ऊर्जामन्त्री बनाएर सिंहदरबारमा प्रवेश गरायो। मन्त्रीका रूपमा उनी प्राधिकरणका पदेन अध्यक्ष बने।
लामो समयका दुई सहकर्मी फेरि एक पटक आमने–सामने भए।
समयले कुलमानलाई शक्तिशाली बनाएर मन्त्रीको कुर्सीमा राख्दा त्यही समयले हितेन्द्रलाई घरविहीन बनायो। भदौ २४ को प्रदर्शनमा प्रदर्शनकारीले हितेन्द्रको ललितपुर युएनपार्कसँगै रहेको घर तोडफोड गरी जलाइदिएका थिए।
यो नाजुक अवस्थामा हितेन्द्रले सायद कुलमानसँग मिलेर काम गर्ने मनमनै अठोट गरिसकेका थिए।
उनी आफ्ना नयाँ मन्त्रीलाई स्वागत गर्न मन्त्रालय गए। कुलमानको निर्देशन अनुसारै काम गर्छु भनेर सार्वजनिक रूपमै भने।
कुलमानले ऊर्जामन्त्रीको कार्यभार सम्हाल्दै गर्दा उद्योगहरूबाट ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने पहिलो निर्णय गरेका थिए। मन्त्रीले गरेको उक्त निर्णय कार्यान्वयनमा लैजान हितेन्द्रले जतिसक्दो छिटो प्राधिकरण बोर्ड बैठक डाक्ने तयारी गरिरहेका थिए।
फ्रान्स तथा दक्षिण कोरियामा भएको औपचारिक कार्यक्रममा सहभागी भएर शुक्रबार मात्रै स्वदेश फर्किएका हितेन्द्रले आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै सोमबार/मंगलबार नै बैठक बसेर बक्यौता उठाउन कदम चाल्नेबारे निर्णय लिइने बताएका थिए।
'बक्यौता सम्बन्धी मन्त्रीज्यूको निर्णय हामी कार्यान्वयन गर्छौं। प्राधिकरणको अध्यक्ष मन्त्रीज्यू नै हुने व्यवस्था छ। बोर्डले निर्णय गर्नासाथ बक्यौता उठाउन थाल्छौं। भोलि वा पर्सिमै बोर्ड बैठक बस्छ,' हितेन्द्रले आइतबार बिहान भनेका थिए।
कुलमानको मनमा भने अर्कै कुरा थियो।
जुन प्रतिशोधको सिकार उनी बनेका थिए, त्यही प्रतिशोधमा सवार भएर उनले हितेन्द्रलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइदिए। हितेन्द्रले बोर्ड बैठक डाक्न पनि नपाउँदै, आइतबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई हटायो।
हितेन्द्रलाई नहटाउन मन्त्रिपरिषदमा कतिपयले कुलमानलाई सुझाएका थिए। तर कुलमानले सुनेनन्।
अंग्रेजीमा एउटा भनाइ छ — Magnanimity in victory (जितमा उदारता, सहिष्णुता)।
जो मानिस जितमा उदार बन्न सक्छ, सहिष्णु बन्न सक्छ; त्यसले त्यो मानिस को हो, कस्तो हो भन्ने देखाउँछ। उसको जीवन दर्शन देखाउँछ।
कुलमान जितेको सेनापति जसरी ऊर्जा मन्त्रालय प्रवेश गरेका थिए। अर्कातिर आफूसँगै झन्डै ३० वर्ष प्राधिकरणमा काम गरेका हितेन्द्रलाई समयले
अप्ठ्यारो परिस्थितिमा उभ्याएको थियो। एकातिर उनी घरविहीन बनेका थिए, अर्कातिर उनको जागिर पनि तरबारको धारमा थियो।
त्यही बेला कुलमानले हितेन्द्रमाथि प्रहार गरे।
हितेन्द्र चारवर्षे कार्यकालका लागि २०८१ चैत ११ गते प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए। कार्यकालको पाँच ६ महिना पनि पुग्न नपाउँदै उनी प्राधिकरणबाट हुत्याइएर जल तथा ऊर्जा आयोगमा पुर्याइएका छन्।
यसले धेरैलाई खिन्न बनाएको छ।
प्राधिकरणमै लामो समय काम गरेका इन्जिनियर मधुकर बस्नेतले खिन्नता फेसबुकमै पोखेका छन्। उनी कुलमान, हितेन्द्र र नयाँ कार्यकारी निर्देशक मनोज सिलवाल तीनै जनासँग काम गरेका इन्जिनियर हुन्।
उनले लेखेका छन्, 'मैले कुलमान घिसिङ, हितेन्द्रदेव शाक्य र मनोज सिलवाल तीनै जनाको मातहतमा बसेर काम गरेको छु। त्यसमा तुलना गर्दा हितेन्द्र सरलाई अन्याय भयो। उहाँ अरूभन्दा काबिल मान्छे हो। कुलमान सरलाई यो निर्णयले राजनीतिक रूपमा धेरै ब्याक–फायर हुन सक्ने देख्छु। म शक्तिको पुजारी होइन। सत्यको प्रेमी हो।'
प्राधिकरणमा लामो समय बिताएका धेरै कर्मचारीहरू कुलमान र हितेन्द्र दुवैलाई काबिल इन्जिनियर मान्छन्। उनीहरू दुवै प्राधिकरणका राम्रा इलेक्ट्रिकल इन्जिनियरमध्ये गनिन्छन्। हितेन्द्र प्रसारण लाइनका जानकार पनि मानिन्छन्।
विगतमा दुवैको राम्रो व्यक्तिगत सम्बन्ध रहे पनि पछि छुट्टाछुट्टै राजनीतिक दलले च्यापेका कारण उनीहरू टाढिन पुगेको कर्मचारीहरूको भनाइ छ।
पुर्ख्यौली घर पूर्वी इलाम बजार भएका हितेन्द्रले सन् १९८८ मा भारतको एनआइटीबाट स्नातक, नर्वेबाट डिप्लोमा र नेपालबाट इन्जिनियरिङमा स्नातकोत्तर गरेका हुन्। हाल उनी काठमाडौं विश्वविद्यालयमा 'इलेक्ट्रिसिटी मार्केट डिजाइन' विषयमा पिएचडी अनुसन्धानरत छन्।
उनले ३६ वर्षअघि इन्जिनियरका रूपमा प्राधिकरणमा सेवा सुरू गरेका थिए। प्राधिकरण अन्तर्गत पावर ट्रेड, सिस्टम प्लानिङ एन्ड प्लान्ट अपरेसन लगायत विभिन्न विभागको निर्देशकका रूपमा काम गरेका छन्।
उनले सन् २०१५ को राष्ट्रिय प्रसारण प्रणाली मास्टरप्लान, २०१६ को नेपाल–भारत सीमापार प्रसारण प्रणाली मास्टरप्लान र २०१७ को सस्टेनएबल डिस्ट्रिब्युटेड जेनेरेसन एन्ड ग्रिड एक्सेस फर अल योजनामा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।
त्यस्तै, सन् २०१७ देखि २०२० सम्म उनी एनइए इन्जिनियरिङ कम्पनीका संस्थापक प्रबन्ध निर्देशक थिए। यसबाट ठूला जलविद्युत आयोजना र ठूला प्रसारण लाइनको डिजाइन तथा परामर्श सेवाको क्षेत्रमा काम गरेका थिए।
प्राधिकरणको सेवामा कुलमानभन्दा केही वर्षअघि नै हितेन्द्रको प्रवेश भएको थियो। हितेन्द्रले २०४५ सालमा सातौं तह इन्जिनियर पदमा अस्थायी सेवाबाट प्राधिकरण प्रवेश गरेका थिए। २०४६ सालमा त्यही पदमा स्थायी भएर सेवा सुरू गरे। पदमा रहँदासम्म इमान्दार भएर काम गरे। विवादमा पनि तानिएनन्।
अर्कातिर, रामेछापको बेथानगाँउमा जन्मिएका कुलमान २०५१ सालमा प्राधिकरणमा प्रवेश गरेका हुन्। उनले भारतको जम्सेदपुरबाट सन् १९९४ मा बिएस्सी इलेक्ट्रिकल इन्जिनियरिङ गरेका छन् भने पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। उनले विद्युत प्राधिकरणमा सातौं तहको इन्जिनियर पदबाट जागिर सुरू गरेका थिए।
कुलमानले प्राधिकरणका जलविद्युत परियोजनाहरू, वितरण प्रणाली, पावर ट्रेडिङ लगायत क्षेत्रमा काम गरे।
२०७३ भदौ ३० गते उनी पहिलो पटक विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भए। त्यति बेला देशमा दैनिक १८ घन्टासम्म लोडसेडिङ हुन्थ्यो। उनले आफ्नो पहिलो कार्यकालमै लोडसेडिङ अन्त्य गरे। विद्युत चोरी नियन्त्रण लगायत विभिन्न सुधारका काम पनि गरे। यसले नै उनको लोकप्रियता बढेको हो।
कुलमान र हितेन्द्र दुवैले आ–आफ्नो क्षेत्रबाट प्राधिकरणका लागि जिम्मेवारीपूर्वक काम गरेको सहकर्मीहरू बताउँछन्।
प्राधिकरणमा धेरैले कुलमानलाई व्यवस्थापकीय क्षमता र गतिशील नेतृत्वको धनी भन्छन्। हितेन्द्रलाई आफ्नो विषयको विज्ञ र इमानी मान्छन्।
अहिले ऊर्जाको बागडोर यी दुई जना काबिल इन्जिनियरको हातमा आइपुगेकाले यो अवसरमा उनीहरूले मिलेर काम गरेको भए ऊर्जा क्षेत्रको हित हुन्थ्यो। मुलुको हित हुन्थ्यो।
तर कुलमानले त्यो हित समात्न सकेनन्। उदारता देखाउन सकेनन्। मन साह्रै सानो पारे!
***