कुलमान घिसिङले 'पहिचानको पक्षमा दृढतापूर्वक उभिने' वचन दिएपछि उनी संरक्षक रहेको उज्यालो नेपाल पार्टीमा सहभागी भएका पहिचानवादी नेताहरू यति बेला अनिर्णयमा अल्झिएका छन्।
ऊर्जामन्त्रीसमेत रहेका कुलमानले उज्यालो नेपाललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मिसाउने निर्णय गरेपछि लामो समयदेखि पहिचानको मुद्दा बोकेर हिँडेका नेताहरू अलपत्र परेका हुन्। कुलमान रास्वपामा पहिलो वरीयताको उपसभापति भइसकेका छन्।
कुलमानको उक्त कदमसँग चिढिएका पहिचान पक्षधर नेताहरूले उनको निर्णयप्रति प्रारम्भिक असहमति जनाएका थिए।
आफूहरूसँग कुनै सल्लाह नगरी पार्टी विलय गराएको भन्दै पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले सार्वजनिक रूपमै असन्तोष जनाएका थिए भने रास्वपाको समानुपातिक सूचीमा नाम समेटिएका प्राध्यापक डा. महेन्द्र लावतीले पनि गम्भीर असहमति प्रकट गरेका थिए।
कुलमान रास्वपाको उपसभापति बनेको चार दिनपछि सेतोपाटीले डा. लावती र थेगिम दुवैलाई फेरि सोधको छ, 'तपाईंहरू कुलमानजीको निर्णयमा असहमत हुनुहुन्थ्यो। अब के गर्ने हुनुभयो? रास्वपामै जाने कि अलग्गै अघि बढ्ने हुनुभयो?'
जबाफमा लावती र थेगिम दुवैले अनिश्चय प्रकट गरेका छन्।
'म अहिले काठमाडौं बाहिर छु, काठमाडौं पुगेर छलफल गरेपछि मात्र निर्णय हुन्छ,' लावतीले भने, 'अहिले केही निर्णय गरेको छैन।'
अमेरिकाको वेस्टर्न मिसिगन विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक डा. लावती नेपालमा संघीयता र पहिचानको पक्षमा लगातार लेख्दै–बोल्दै आएका विद्वान हुन्। नेपालका आदिवासी, जनजाति, दलित तथा सीमान्त समुदायको पक्षमा निरन्तर आवाज उठाउँदै आएका उनी पञ्चायत कालका चर्चित नेता पद्मसुन्दर लावतीका छोरासमेत हुन्।
पञ्चायतदेखि बहुदल कालसम्मै नेपालको सत्ता राजनीतिको केन्द्रमा रहेका आफ्ना बुबाको राजावादी लाइनसँग छोरा महेन्द्रको विचार सधैं बाझिन्थ्यो।
प्राध्यापनसँगै नेपालका सीमान्त समुदायको अधिकारका लागि आफूलाई सधैं उभ्याउँदै आएका उनी पनि उज्यालो पार्टीकै केन्द्रीय समितिमा थिए।
लावती, डकेन्द्रसिंह थेगिम, खगेन्द्र माखिम लगायतका पहिचान पक्षधरहरू उज्यालोले 'पहिचानको मुद्दा बोक्ने र पार्टी विधानको प्रस्तावनामै त्यो उल्लेख भएको' भन्दै उज्यालो नेपालमा आबद्ध भएका थिए।
कुलमान संरक्षक रहेको उज्यालो नेपालमा पहिचानवादी नेताहरू केन्द्रीय सदस्य बनेर गएपछि पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमलाई सेतोपाटीले सोधेको थियो, 'तपाईंले पहिचानको मुद्दा छोड्नुभएको हो कि उज्यालो पार्टीले मुद्दा बोक्ने भयो?'
गएको मंसिरमा सेतोपाटीलाई अन्तर्वार्ता दिने क्रममा थेगिमले 'उज्यालोले मुद्दा बोक्ने र पार्टीको प्रस्तावनामै पहिचानको पक्षमा उभिने' भएपछि आफूहरू त्यता लागेको बताएका थिए।
थेगिम तिनै नेता हुन्, जसले पछिल्लो समय कोशी प्रदेशमा चलिरहेको पहिचानवादी आन्दोलनको नेतृत्व गरेका थिए।
२०७९ फागुन १७ मा प्रदेशसभाको दुईतिहाइ बहुमतले तत्कालीन प्रदेश १ को नाम 'कोशी' राखेपछि आन्दोलन सुरू भएको थियो।
मान्छेले विकास गरेको सभ्यताको सम्मानमा भन्दा कांग्रेस र एमालेले नदीनालाको सम्मानमा बढ्ता ध्यान दिएको भन्दै पहिचानवादीहरूले सांस्कृतिक सभ्यताका आधारमा कोशीको पुनः नामकरण गर्नुपर्ने बताइरहेका छन्। थेगिम आफैले नेतृत्व गरेको आन्दोलनमा एक जना सहिद भएका छन् भने सयौं घाइते भएका थिए।
त्यही आन्दोलनको बलमा थेगिमले २०८१ वैशाखमा भएको उपनिर्वाचनमा इलाम-२ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए। एमाले पहिलो र कांग्रेस दोस्रो भएको उक्त उपनिर्वाचनमा थेगिमले 'मुडा' चुनाव चिह्नबाट तेस्रो स्थान हासिल गर्दा रास्वपा चौथो भएको थियो।
त्यस बेला थेगिम सहितका पहिचानवादी नेताहरू रवि लामिछाने नेतृत्वको रास्वपालाई 'विचारविहीन झुन्ड' भएको बताउँथे।
अझ त्यति बेला उनले 'संघीयता र पहिचानप्रति अनुदार विचार बोक्ने नेताहरूको बाहुल्य र निर्णायक भूमिका रहेको' भनेको रास्वपामै आफ्ना नेता कुलमान उपसभापति बनेर गएपछि थेगिमसहितका नेता विलखबन्दमा परेका छन्।
रास्वपा र कुलमान आबद्ध उज्यालो नेपाल पार्टीबीच एकता भएपछि पहिचानवादी नेता थेगिमले सेतोपाटीसँगै कुराकानी क्रममा असन्तुष्टि व्यक्त गरेका थिए।
कोशी प्रदेशको पहिचानवादी आन्दोलनको नेतृत्व गरिरहेका र इलामको उपनिर्वाचनमा सम्मानजनक मत प्राप्त गरेका थेगिमले यो एकताले पहिचानको एजेन्डालाई ओझेलमा पार्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका थिए।
कुलमानले रास्वपासँग सहमति गरेलगत्तै थेगिमले भनेका थिए, 'हामी कुलमानजीसँग पहिचानको मुद्दा स्वीकार गर्ने सर्तमा साथमा थियौं। रास्वपासँग केवल चुनावी गठबन्धन र सहकार्य गर्नेसम्मको कुरा भएको थियो। तर पार्टी नै विलय गर्ने कुनै पूर्वजानकारी थिएन। अब के गर्ने भन्ने विषयमा छलफल जारी छ।'
उनले थपेका थिए, 'मेरो बुझाइमा हामीले चुनावी गठबन्धन र सहकार्य गर्नेसम्मको मात्र कुरा थियो। आफ्नो पहिचान र अस्तित्व समाप्त गरेर मिल्न सकिँदैन भनेर त कुलमानजी बोलिरहनुभएको थियो। तर झट्टै एकताको कुरा आयो। उहाँ कसरी सबै विलय गरेर जानुभयो, त्यो विषयमा उहाँलाई नै सोध्नुपर्छ। हामीलाई यसबारे जानकारी छैन।'
थेगिमले रास्वपासँगको एकतामा आफ्ना मुख्य एजेन्डा कता परे भन्ने स्पष्ट नभएको प्रश्न पनि उठाएका थिए।
संघीयता, लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिकताका मुद्दामा रास्वपासँग के सहमति भयो भन्ने कतै उल्लेख नगरिएको उनको भनाइ थियो।
उनले पहिचानवादी शक्तिहरूसँग चुनावी प्रक्रियामा मोर्चाबन्दी र गठबन्धन गरेर जान सकिने भए पनि विचारहीन एकताको अर्थ नहुने तर्क पनि गरेका थिए।
'अब के गर्ने छलफल गर्छों' भनेर उनले प्रतिक्रिया दिएको तीन दिनपछि अर्थात् बिहीबार दिउँसो हामीले उनलाई फेरि सोध्यौं, 'तपाईंहरू केही निर्णयमा पुग्नुभयो? रास्वपाबाटै कि अलग्गै अघि बढ्ने हुनुभयो?'
थेगिमले पनि डा. लावतीकै जस्तो उत्तर दिए।
'अहिलेसम्म केही छलफल भएकै छैन,' उनले भने, 'के गर्ने भन्ने निर्णयमा पुगिएकै छैन।'
कहिलेसम्म यस्तै अनिर्णयमा अल्झिनुहुन्छ भन्ने प्रश्नमा पनि उनले केही खुलाएनन्।
'हाम्रो छलफल नै अड्केको अड्क्यै भयो। हेरौं न अब के हुन्छ,' उनले अनिश्चय प्रकट गरेका छन्।