अमेरिकाले साढे तीन महिनाअघि सुरू गरेको इरानसँगको युद्ध अन्त्य गर्ने सहमति भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा पोस्ट गर्दै इरानसँग प्रारम्भिक सम्झौता भएको जानकारी दिएका छन्। इरानले पनि सहमति भएको पुष्टि गरेको छ।
सम्झौता सम्बन्धी समझदारीपत्र (एमओयू) मा आगामी शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर हुनेछ। त्यसअघि तयारीका लागि कतारले दोहामा दुवै पक्षसँग बेग्लाबेग्लै बैठक गर्ने अपेक्षा गरिएको छ।
समझदारीपत्रमा के छ भनेर अहिलेसम्म खुलेको छैन। सबै सर्तहरू थाहा पाउन हस्ताक्षर गरिएको समझदारीपत्र नै पढ्नुपर्नेछ।
ट्रम्पले भने स्ट्रेट अफ हर्मुज सदाका लागि बिना कुनै शुल्क खुला हुने दाबी गरेका छन्। इरानले हर्मुजको पानीमा बिछ्याएका बमहरू सफा गरिसकेपछि हर्मुज पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
यसको बदलामा ट्रम्पले इरानलाई तुरून्तै तेल बेच्न दिने छन्। यसले इरानलाई पक्कै पनि राहत हुनेछ। तर इरानले समेत खुल्ला रूपमा तेल बेच्न थालेपछि आपूर्ति बढेर तेलको अन्तर्राष्ट्रिय भाउ अझै घट्नेछ। र, सारा विश्वलाई राहत हुनेछ।
यसबाट तेलको भाउ बढेकाले चिढिएका अमेरिकी जनताको ट्रम्पसँगको रिस अलिकति भए पनि मत्थर हुनेछ।
समझदारीपत्रमा हस्ताक्षर भएपछिको ६० दिनभित्र इरानको आणविक हतियार कार्यक्रम लगायत अरू विषयमा सम्झौता हुनेछ। वार्तामा प्रगति हुँदै गएपछि र ६० दिनपछि हुने अन्तिम सम्झौताको इरानले पालना गरे बिस्तारै रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा हुनेछ।
इरानले सञ्चालन गर्ने हिजबुल्लाह, हमास लगायत समूहहरूको हकमा के हुन्छ भन्ने चाहिं प्रस्ट छैन। तर इसराइलले हाल हिजबुल्लाहलाई लक्ष्य गर्दै लेबनानमा गरिरहेको सैन्य कारबाही भने रोक्नुपर्नेछ।
आफूलाई हरेक कुराको केन्द्रमा राख्ने ट्रम्पले आफ्नो ८०औं जन्मदिन पारेर यो सहमति घोषणा गरेका हुन्। अर्कातिर वार्ता चलिरहेका बेला गत जुन र यसपालि समेत गरेर दुई–दुई पटक आफूमाथि आक्रमण गरेका ट्रम्पलाई जन्मदिनको उपहार नदिन इरानले हस्ताक्षरमा ढिलाइ गरेको हुन सक्छ।
ट्रम्पको जन्मदिनकै कारण विगत केही दिनदेखि उनले बारम्बार आइतबारसम्म हस्ताक्षर हुने भनेको र इरानले नहुने दाबी गरेको देखिन्छ।
आखिरमा ट्रम्पले जन्मदिनको अवसर पारेर यो सहमति घोषणा गरे भने इरानले त्यस दिन हस्ताक्षर गरेन।
चीनले यो सहमतिको तुरून्तै स्वागत गर्यो। बेलायत, जर्मनी र इटालीले संयुक्त विज्ञप्ति जारी गर्दै इरानले आणविक कार्यक्रम सीमित पार्न पत्याउने गरी कदम चाले इरानमाथि लगाएको आर्थिक प्रतिबन्ध हटाउन तयार रहेको जानकारी दिए।
सहमति घोषणा गर्दा ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गरे। यसले गत महिना उनको चीन भ्रमण क्रममा इरानबारे समेत छलफल भएको पुष्टि गर्छ।
त्यस्तै, ट्रम्पको भ्रमणको केही दिनमै चीन पुगेका पुटिनको पनि यो सहमतिमा भूमिका भएको देखिन्छ।
अमेरिका र इसराइलको संयुक्त आक्रमणको सुरूआतमै फेब्रुअरी २८ मा मारिएका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीको अन्तिम संस्कार जुलाई ४ मा सुरू हुने इरानले योजना बनाएकाले पनि यो सहमतिले तत्कालका लागि युद्ध रोकिने देखिन्छ।
सहमति घोषणा गर्दा ट्रम्पले आणविक हतियार सम्बन्धी अन्तिम सम्झौता हुन सकेन भने इरानमाथि पुनः सैन्य आक्रमण गर्ने र मध्यपूर्वको संरक्षकको हैसियतमा उक्त क्षेत्रको आम्दानीको २० प्रतिशत अंश लिने बताएका छन्। तर नोभेम्बरमा हुने अमेरिकी संसदीय चुनावको केही साताअघि उनले इरानसँग युद्ध फेरि सुरू गर्ने सम्भावना न्यून देखिन्छ।
इरानसँगको युद्धले बढेको महँगीका कारण रिपब्लिकन पार्टीले संसदीय निर्वाचन हार्ने खतरा भएकाले पनि ट्रम्पले अहिले युद्ध नचर्काएको मानिन्छ।
गत जुनमा इरानको आणविक भट्टीहरू ध्वस्त पारेको दाबी गरेका ट्रम्पले यसपालि सर्वोच्च नेता खमेनीलाई मारेर इस्लामिक सत्ता नै पल्टाउन खोजेका थिए। तर खमेनी लगायत धेरै वरिष्ठ अधिकारी र जनरलहरू मारे पनि सत्ता ढलाउन नसकेपछि अब उनको सारा ध्यान इरानको आणविक हतियार कार्यक्रम नियन्त्रणमा हुनेछ।
आणविक हतियार कार्यक्रम रोक्न उनीभन्दा अघिका अमेरिकी राष्ट्रपति बराक ओबामाले गरेको सम्झौता इतिहासकै सबभन्दा खराब भन्दै उनले पहिलो कार्यकालमा खारेज गरेका थिए।
त्यसैले ओबामाको भन्दा राम्रो सम्झौता गर्न उनमा दबाब हुनेछ। जति रफू गरे पनि त्यस्तै वा त्योभन्दा नराम्रो सम्झौता गरे उनलाई लाजमर्दो हुनेछ।
अर्कातर्फ त्यति बेला ओबामाले पनि इरानले सम्झौता पालना गरेपछि रोक्का भएको केही इरानी सम्पत्ति फुकुवा गरेका थिए। त्यसलाई अमेरिकाविरूद्ध हतियार किन्न ओबामाले इरानलाई पैसा दिएको भनेर ट्रम्पले झूटो प्रचार गरेका थिए।
त्यसैले इरानले आणविक हतियार कार्यक्रम नरोकी इरानको रोक्का भएको सम्पत्ति फुकुवा गर्न उनलाई पनि अप्ठ्यारो हुनेछ।
यो सहमतिको ६० दिनपछि सम्झौता भए पनि वा नभए पनि फेरि तुरून्तै अमेरिका-इरान युद्ध हुने सम्भावना अत्यन्तै न्यून देखिन्छ।
अब यो युद्धले पारेको प्रभावबारे चर्चा गरौं।
यो युद्धले मध्यपूर्वमा ठूलो परिवर्तन ल्याउने देखिन्छ। अहिलेसम्म साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार लगायत खाडी राष्ट्रहरू अमेरिकी सुरक्षाका भर परेर ढुक्कसँगले बसेका थिए। पेट्रोलियम पदार्थ बेचेर हासिल भएको वैभवमै रमाएका थिए।
इरानविरूद्धको युद्धका लागि यी देशमा रहेका अमेरिकी सैन्य अखडाहरू प्रयोग हुने भए पनि अमेरिकाले कसैलाई पनि जानकारी नदिइकनै इसराइलसँग मिलेर संयुक्त आक्रमण सुरू गर्यो। यी देशलाई पूर्वसूचना दिँदा सूचना चुहेर खमेनी जोगिने खतराका कारण अमेरिकाले जानकारी नदिएको हुन सक्छ।
तैपनि आफ्नो भूमिमा अमेरिकी सैन्य अखडा हुँदा पनि युद्धबारे पूर्वजानकारी समेत नपाउँदा यी देशले हेपिएको महसुस गरेका छन्।
अमेरिकाले इरानमाथि युद्ध सुरू गर्दा इरानले अमेरिकी सैन्य अखडामा मात्रै प्रहार गर्ने अमेरिका र खाडी राष्ट्रहरूको अनुमान थियो। तर सर्वोच्च नेता खमेनी मारेर सुरू भएको युद्धले इस्लामी शासनको अस्तित्व नै खतरामा परेकाले इरानले खाडी राष्ट्रका सार्वजनिक संरचनाहरूमाथि पनि प्रहार गर्यो।
त्यस्तै, वर्षौंदेखि इरानले आफ्नो नजिकै रहेको समुद्री मार्ग 'स्ट्रेट अफ हर्मुज' बन्द गर्ने खतरा थियो। तर पनि इरानले हर्मुज बन्द गरे के गर्ने भनेर ट्रम्पले राम्ररी नसोचिकनै युद्ध सुरू गरेको देखियो।
गत जनवरीमा सेना पठाएर भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेर हौसिएका ट्रम्पले मध्य–पूर्वको सबभन्दा शक्तिशाली मुस्लिम राष्ट्रमा पनि त्यसरी नै सजिलै सत्ता पल्टाउन सकिने सोचेको देखिन्छ। इरानले हर्मुज बन्द गर्न सक्ने खतराबारे खासै चिन्ता गरेन।
हर्मुज जलमार्ग प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल र करिब २० प्रतिशत ग्यास पैठारी हुन्छ। त्यसैले हर्मुज बन्द हुँदा तेल आपूर्ति कम भई अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेर विश्व अर्थतन्त्रमै प्रभाव पर्यो।
पेट्रोलियम पदार्थको बिक्रीमा निर्भर रहेका खाडी राष्ट्रले आफ्नो उत्पादन बेच्न नपाएर दैनिक करोडौं डलरको नोक्सानी बेहोर्नुपर्यो।
इरानी मिसाइलले उत्कृष्ट ‘एयर डिफेन्स सिस्टम’ भएको इसराइलमा खासै ठूलो क्षति भएन। अमेरिकाले पनि आफ्ना सैन्य अखडाबाहेक खाडी क्षेत्रका संरचना जोगाउन खासै प्रयास गरेन। इसराइललाई जोगाउन नै आफ्ना महँगा रक्षात्मक हतियारहरूको प्रयोग गर्यो। यसले अमेरिकाका लागि पहिलो प्राथमिकता खाडी राष्ट्र नभएर इसराइल भएको पुष्टि भयो।
युद्ध सुरू गर्ने अमेरिका र इसराइललाई हर्मुज बन्द भएर खासै केही पनि असर परेन। अमेरिकी जनताका लागि तेलको खुद्रा मूल्य बढे पनि खुद तेल निर्यात गर्ने अमेरिकालाई भाउ बढ्दा बरू समग्रमा फाइदै भयो। इसराइलले तेल बेच्दैन भने अन्तर्राष्ट्रिय व्यापारका लागि हर्मुजको पनि प्रयोग गर्दैन। खाडी राष्ट्रहरूले भने पेट्रोलियम पदार्थ बेच्न नपाएर ठूलो आर्थिक नोक्सानी बेहोर्नु पर्यो।
यसरी हेर्दा खाडी राष्ट्रहरूले अमेरिकाले सुरू गरेको युद्धका कारण निकै ठूलो नोक्सानी बेहोर्नु पर्यो। आफ्नो सुरक्षा हुन्छ भनेर अमेरिकी सैन्य अखडा राख्न दिएका खाडी राष्ट्रलाई ती अखडाका कारण केही सुरक्षा भएन।
उल्टो झन् धेरै आक्रमण खेप्नु परेकाले भविष्यमा अमेरिकीहरूलाई ती अखडा बन्द गरेर सेना फिर्ता लैजाऊ भन्न सक्ने सम्भावना बढेको छ।
यस्तो भए पनि उनीहरूले तुरून्तै अमेरिकी खेमा छाडेर चीन वा रूसको खेमामा जाने सम्भावना भने कम छ। आफ्ना सार्वजनिक संरचनामा इरानले प्रहार गर्दा समेत नरोकेको, बरू उल्टै इरानलाई सहयोग गरेका कारण खाडी राष्ट्र रूस र चीनसँग पनि खुसी छैनन्।
युद्धका क्रममा रूसी र केही हदसम्म चीनका समेत हतियारविरूद्ध अमेरिकी हतियारको सफलताका कारण खाडी राष्ट्रले अझै पनि महँगा अमेरिकी हतियार नै किन्ने देखिन्छ। इरानका सस्ता ड्रोनबाट जोगाउन उनीहरूले अहिले नै युक्रेनसँग रक्षा सम्झौता गरिसकेका छन्।
खाडी राष्ट्रहरूले तुरून्तै अमेरिकी खेमा नछाडे पनि आफ्नो सुरक्षाका लागि अरूमाथि भन्दा आफैमा निर्भर हुनुपर्छ भन्ने पाठ सिकेका छन्।
शान्तिको समय प्रशस्त तेल बेचेर धनी भएका खाडी राष्ट्र पछिल्ला केही वर्षमा आफैँबिच पनि नचाहिँदो प्रतिस्पर्धामा लागेका थिए। अब भने उनीहरूले सामूहिक सुरक्षाका लागि सहकार्य गर्ने देखिन्छ। यसो गरे उनीहरू आफ्नो सुरक्षाका लागि पूर्ण रूपमा अमेरिकामाथि निर्भर हुनुपर्ने छैन।
अब भने यो युद्ध कसले जित्यो र यसले युद्ध लडेका तीन राष्ट्रमा पारेको प्रभावबारे चर्चा गरौं।
अमेरिका र इरान दुवैले आफूले यो युद्ध जितेको दाबी गर्ने छन्। तर सैन्य रूपमा अमेरिका-इसराइलले जितेका छन्।
युद्ध क्रममा इरानका सर्वोच्च नेता खमेनी लगायत कयौं शीर्ष अधिकारी र सैन्य जनरलहरू मारिए। सयौंको संख्यामा इरानी सैनिकहरू पनि मारिए। अर्कातर्फ अहिलेसम्म अमेरिकाका १३ जना मात्रै सैनिक मारिएका छन्। तीमध्ये पनि ६ जनाको मृत्यु लडाकू विमानमा हावामै तेल भर्ने अमेरिकी विमानको अर्को अमेरिकी विमानसँग ठोकिएर दुर्घटना हुँदा भएको थियो। इसराइलतर्फ पनि केही दर्जन मात्रै सैनिक मारिएका छन्।
त्यस्तै, अमेरिका र इसराइलले जहाँ चाह्यो त्यहाँ प्रहार गरेर इरानका कयौं सैन्य संरचना र मिसाइल भण्डार ध्वस्त पारेका छन्। इरानले भने अमेरिकाको एउटा लडाकू विमान र केही हेलिकप्टर मात्रै खसालेको छ। इसराइलको एउटा लडाकू विमानमा क्षति पुगेको र एउटा हेलिकप्टर खसेको छ। अमेरिकाका केही सैन्य अखडामा महँगा सैन्य उपकरण नष्ट भएका छन्। तर पनि इरानले बेहोरेको क्षतिको तुलनामा उक्त नोक्सानी सम्पन्न अमेरिकाका लागि नगन्य जस्तै हो।
यसरी सैन्य हिसाबमा यो युद्ध अमेरिका र इसराइलले जिते। तर पनि इरानले आफ्नो सत्ता जोगाएकै कारणले यसलाई विजयका रूपमा लिएको छ। हर्मुज बन्द गरेर अमेरिकालाई झुकाएकाले आफ्ना लागि भविष्यमा प्रयोग गर्न अचुक हतियार पाएको इरानले ठानेको छ।
यो युद्ध वास्तवमा कसले जित्यो भनेर स्पष्ट हुन भने हामीले भविष्यलाई कुर्नुपर्नेछ। ६० दिनपछि हुने भनिएको शान्ति सम्झौता कस्तो हुन्छ वा हुँदैन र भविष्यमा इरान अझ बलियो हुन्छ कि ढल्छ भनेर हेर्नुपर्ने हुन्छ।
अमेरिकाको हकमा हेर्दा अमेरिकी हतियारको व्यापक सफलताले विरोधीहरू झस्किएका छन्। युद्ध क्रममा अमेरिकाले जहाँ चाह्यो त्यहाँ अचुक प्रहार गर्यो। हमलाका लागि पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्सको (एआई) समेत सफल प्रयोग गरेको मानिन्छ। यसले भोलि अमेरिकासँग युद्ध भए अमेरिकी हतियार कति प्रभावकारी हुनेछन् भनेर चीन र रूसले देखेका छन्।
युद्धको सुरूमै इसराइल र अमेरिकाले खमेनीलाई मार्न सफल भएकाले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अत्तालिएको समाचार आएका छन्।
तेहरानका सिसिटिभी क्यामेराहरूको फुटेजको प्रयोग गरेर खमेनीलाई मारेकाले आफूलाई पनि मार्न सक्छन् भनेर उनी डराएका छन्। उनले मस्कोमा रहेका सार्वजनिक र खुफिया सबैखाले सिसिटिभी क्यामेराको जाँच गराएको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।
अमेरिकी सेना र हतियारको व्यापक सफलता भए पनि यो युद्ध क्रममा अमेरिकाका महँगा हतियारको भण्डार धेरै हदसम्म रित्तिएको छ। चीन वा अरू कुनै शक्तिशाली राष्ट्रसँग अहिले युद्ध भए महँगा र प्रभावकारी अमेरिकी हतियार केही दिनमै सकिनेछन्। हतियारको भण्डार रित्तिन थालेकाले पनि अहिले ट्रम्पले युद्ध नचर्काएको मानिन्छ।
हर्मुज खुलाउन नसक्नु अमेरिका र विशेष गरी ट्रम्पका लागि ठूलो असफलता हो। अमेरिकी सेनाले बल प्रयोग गरेर हर्मुज खुलाउने प्रस्ताव ट्रम्पसामु राखेको मानिन्छ। तर धेरै अमेरिकी सैनिकको ज्यान जाने खतराका कारण उनले हर्मुज खुलाउन वा इरानमाथि थल आक्रमण गर्न आदेश दिएनन्।
यस अर्थमा जतिसुकै सन्की भए पनि अमेरिकी सैनिक मारिनु हुन्न भन्ने चेत उनमा रहेको देखिन्छ।
युक्रेनसँगको युद्धमा प्रत्येक महिना १० हजारभन्दा बढी रूसी सैनिक मारिँदा समेत पुटिनले युद्ध जारी राखेका छन्। तर केही दर्जन वा सय अमेरिकी सैनिक मारिने खतराका कारण उनले बल प्रयोग गरेर हर्मुज खुलाउने प्रयास गरेनन्। इरानसँग झुकेको भनेर बदनामी हुने भए पनि ट्रम्पले त्यस्तो खतरा मोलेनन्।
बरू हर्मुजमा इरानलाई समेत नाकाबन्दी लगाउने आर्थिक हतियार प्रयोग गरे।
यो युद्धमा भोगेको आर्थिक नोक्सानीका कारण भोलि इरानको सत्ता ढल्यो वा इरानले अमेरिका लगायत पश्चिमा राष्ट्रसँग सम्बन्ध सुधारे भने ट्रम्पका लागि यो ठूलो सफलताका रूपमा हेरिनु पर्नेछ। तर युद्धअघिकै जस्तो स्थिति रहे वा इरानको सत्ता अझ बलियो भयो भने उनको लागि यो युद्ध कलंक नै हुनेछ।
इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उचालेकै भरमा ट्रम्पले केही नसोची इरानसँग युद्ध सुरू गरेको भाष्य नै स्थापित हुनेछ।
यो युद्धले फाइदा भने इसराइललाई मात्र भयो।
इसराइलले वर्षौंदेखि इरानमाथि आक्रमण गर्नुपर्छ भने पनि अहिलेसम्म अमेरिकाले रोकेको थियो। अमेरिका सहितको आक्रमणका कारण युद्धमा इरानले ठूलो सैन्य र आर्थिक नोक्सानी बेहोर्यो। आफ्नो प्रमुख शत्रुलाई व्यापक नोक्सानी भएकाले तत्कालका लागि इसराइललाई फाइदा भयो।
तर यो युद्ध कालान्तरमा इसराइलका लागि महँगो पर्ने देखिन्छ। गजामा प्यालेस्टिनीविरूद्ध नरसंहार गरेको भनेर उसै पनि अमेरिकाको डेमोक्र्याटिक पार्टी आबद्ध र तटस्थ जनता समेत अहिले इसराइल विरोधी भएका छन्। त्यसमाथि इरानसँग नचाहिँदो युद्ध गर्न ट्रम्पलाई हौस्याएको भनेर अब ट्रम्प समर्थक पनि इसराइल विरोधी भएका छन्।
त्यसैले यो युद्धपछि अमेरिकाले पहिलेको जस्तो बिनासर्त इसराइललाई सहयोग गर्ने छैन। युरोपेली देशहरूसँग त इसराइलको सम्बन्ध झन् धेरै बिग्रिएको छ। यसले समग्रमा इसराइललाई यो युद्धबाट घाटा नै हुनेछ।
नेतन्याहुको इच्छा र उक्साहटमै यो युद्ध सुरू भए पनि उनलाई समेत व्यक्तिगत रूपमा घाटा भएको छ। लेबननमा रहेको इरान समर्थित हिजबुल्लाह समूहमाथि समेत इसराइलले हमला गर्न नमिल्ने गरी अमेरिका र इरानबिच सहमति भएपछि उनी अप्ठ्यारोमा परेका छन्।
त्यसैले उनले आगामी अक्टोबरमा हुने आम निर्वाचन हार्ने देखिन्छ।
त्यसमाथि आफूले जे भन्यो नेतन्याहुले मान्नै पर्छ भनेर ट्रम्पले सार्वजनिक टिप्पणी गरेकाले इसराइल भित्रै उनको व्यापक आलोचना भएको छ। आफूमाथि लागेको भ्रष्टाचारको मुद्दाबाट जोगिन हमाससँगको युद्ध जबर्जस्ती लम्ब्याएको र इरानसँगको युद्ध सुरू गरेको नेतन्याहुमाथि आरोप लागेको छ।
यस्तोमा यो युद्ध फेरि बल्झिएर इरानको सत्ता नढलेमा नेतन्याहुको ठूलो राजनीतिक हार हुने देखिन्छ।
अब यो युद्धले इरानलाई पारेको प्रभावका बारेमा चर्चा गरौं।
अमेरिका र इसराइलको संयुक्त हमला हुँदासमेत सत्ता जोगाएका कारण इरानका इस्लामिक शासकले विजय हासिल गरेको ठानेका छन्। हर्मुज बन्द गरेर ट्रम्पलाई झुकाएको भनेर अमेरिका–विरोधी देशहरूमा इरानी शासकको इज्जत समेत बढेको छ। तर पनि युद्धका कारण इरानले ठूलो सैन्य क्षति बेहोरेको छ।
इरानले त्योभन्दा ठूलो आर्थिक क्षति बेहोरेको छ। इरानी तेल खानीमा आक्रमण गरे तेलको भाउ बढ्ने र नयाँ सत्ता आए पनि इरानलाई तेल चाहिने भएकाले ट्रम्पले इरानी तेल खानीमा प्रहार गरेनन्। इसराइललाई समेत त्यसो गर्न दिएनन्। तर पनि अमेरिका र इसराइलले इरानको अर्थतन्त्रका मुख्य स्तम्भ मानिने कयौं उद्योग ध्वस्त पारेका छन्।
अहिले सम्झौता गर्दा इरानलाई तेल बेच्न दिए पनि वा रोकिएको केही रकम अमेरिकाले फुकुवा गरे पनि त्यसले इरानी अर्थतन्त्र उकासिँदैन। अहिले भएको सहमति इमानदारीपूर्वक पालना नगरे अमेरिकाले फेरि आर्थिक प्रतिबन्ध लगाउनेछ।
यस्तोमा ध्वस्त अर्थतन्त्रका कारण शासन चलाउन नसकेर सत्ता व्यापक दबाबमा पर्नेछ। आर्थिक समस्या चुलिएपछि जनता फेरि सडकमा आएर सत्ता फाल्ने खतरा समेत रहन्छ।
हर्मुज प्रयोग गरेकोमा इरानले ठूलो शुल्क उठाउन समेत सम्भव हुने छैन। अमेरिकाले युद्ध छेडेका बेला केही ड्रोनका भरमा अहिले हर्मुज बन्द गरे जस्तो भविष्यमा बिनाकारण हर्मुज बन्द गर्न सम्भव हुने छैन। साउदी, युएई लगायत खाडी राष्ट्रले इरानको दादागिरी सहेर महँगो शुल्क तिर्ने छैनन्। बरू पाइपलाइन र अरू संरचनाको विस्तार गरेर केही वर्षभित्रै हर्मुज छलेर तेल बेच्ने व्यवस्था मिलाउने छन्।
त्यस्तै, इरानले युद्ध क्रममा छिमेकी खाडी राष्ट्रका सार्वजनिक संरचनामा प्रहार गरेर उनीहरूसँगको सम्बन्ध सदाका लागि बिगारेको छ। अमेरिकाले लगाएको आर्थिक प्रतिबन्ध छल्न इरानलाई विगतमा सहयोग गरे पनि यसपालि इरानले युएईमाथि भारी आक्रमण गर्यो।
इसराइलमा भन्दा कयौं गुणा बढी मिसाइल र ड्रोन आक्रमण गर्यो। त्यसैले इरानी शासकले अब अमेरिकी प्रतिबन्धबाट जोगिन युएईको वित्तीय संरचनाहरूको प्रयोग गर्न पाउने छैनन्। इरानले आफ्नो नीति नै परिवर्तन गरेर सबैसँग मित्रवत् सम्बन्ध राख्ने भनेर भरोसा नदिलाए सम्म इरानको खाडीका छिमेकीहरूसँग सम्बन्ध सुध्रिने छैन।
तर यो सम्झौताको इमानदारीपूर्वक पालना गरे इरान र त्यहाँका शासक दुवैलाई फाइदा हुनेछ।
सन् १९७९ मा भएको इस्लामिक क्रान्तिको मुख्य एजेन्डा धार्मिक कट्टरपन्थपछि अमेरिका–विरोधी नीति नै थियो। इस्लामिक क्रान्तिअघि देखि नै अमेरिकाको विरोध गरेर हुर्केका खमेनीको हत्या भइसकेको छ। उनीपछि सर्वोच्च नेता भएका मोज्तबा खमेनीले शासन जोगाउन धार्मिक कट्टरपन्थ बिस्तारै कम गर्न सक्छन्।
उनलाई सर्वोच्च नेता बनाएको र अहिले इरानमा शासन चलाइरहेको इस्लामिक रिभोलुसनरी गार्ड कोर्सलाई (आइआरजिसी) पनि अमेरिकासँगको शत्रुता त्यागे आर्थिक फाइदा हुनेछ। ट्रम्पले पनि आणविक हतियार बनाउने योजना त्यागे बदलामा इरानलाई व्यापक आर्थिक फाइदा हुने भनेर अहिलेको सहमतिमा राजी गराएका हुन्।
अहिले हर्मुज बन्द गरेर इरानले ट्रम्पलाई झुकाएका कारण अमेरिकाले भविष्यमा जथाभाबी इरानसँग युद्ध सुरू गर्ने छैन। केही गरी अमेरिकाले आक्रमण गरे हर्मुज बन्द गर्ने विकल्प भएकाले इरानलाई खासमा आणविक हतियारको आवश्यकता पनि देखिँदैन।
त्यसैले इरानले आणविक हतियार कार्यक्रम त्यागे इरान मात्रै नभएर सारा खाडी क्षेत्रलाई फाइदा हुनेछ।
इरानमा ठूलो मात्रामा तेल मात्र छैन, व्यापक औद्योगिक र आर्थिक विकास गर्ने अरू क्षमता पनि छ। चीनको जस्तो व्यापक आर्थिक उन्नति गरेर शान्तिपूर्ण रूपमा पनि इरान मध्यपूर्वको प्रमुख शक्तिराष्ट्र बन्न सक्छ।
होइन आणविक हतियार नै बनाउने अनि अमेरिका र इसराइलसँग दुश्मनी नै गरिराख्ने हो भने आणविक हतियार बनाउनबाट रोक्न अमेरिकाले हमला गर्ने खतरा रहनेछ। अमेरिकाले नगरे पनि इसराइलले पक्कै गर्नेछ।
इरानले आणविक हतियार बनाए आफ्नो अस्तित्व नै खतरामा पर्ने ठानेर इसराइलले आणविक हतियार नै पनि प्रयोग गर्ने खतरा रहनेछ।
घरभित्रै पनि गत जनवरीमा जस्तो निहत्था जनतामाथि गोली चलाएर, हजारौं मारेर सधैंभरि सत्ता टिकाउन समेत मुस्किल पर्नेछ।
***