मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्।
शनिबार ललितपुरको द प्लाजा पुल्चोकमा सम्पन्न ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्ड घोषित भएकी हुन्।
उनी गैरआवासीय नेपाली पनि हुन्।
हङकङमा जन्मिएकी २३ वर्षीया ढकाल गैरआवासीय नेपाली संघ (एनआरएनए) की दोस्रो पुस्ता संयोजक हुन्। चैतमा सम्पन्न एनआरएनएको महाधिवेशनबाट उनी संयोजक चयन भएकी थिइन्।
ढकाल मिस नेपाल हङकङ पनि हुन्।
हङकङमा जन्मिएर उतै शिक्षा–दीक्षा हासिल गरेकी भए पनि दीपमालाले हङकङको पासपोर्ट नलिएको उनकी आमा रोशनी खरेलले सेतोपाटीलाई बताइन्।
रोशनी आफैले पनि कुनै बेला मिस नेपालमा प्रतिस्पर्धा गरेकी थिइन्।
'मेरा दुई छोरी (स्वेना र दीपमाला) दुवैले हङकङको पासपोर्ट लिएका छैनन्। उनीहरूलाई नेपालप्रतिको मोह ठूलो छ। हङकङमा हुने नेपाली समुदायका कार्यक्रमहरूमा उनीहरू मिलेसम्म सहभागी हुन्थे,' रोशनीले भनिन्, 'हरेक चाडपर्व र अन्य ठूला कार्यक्रमका अवसरमा उनीहरू नेपाल आउँछन्। कान्छी छोरी अमेरिकी लगानी व्यवस्थापन कम्पनी ब्ल्याक रक (Black Rock) मा फाइनान्स एनालिस्टको जागिर छाडेर नेपाल आएकी हुन्।'
दीपमालाका बुवा सुरेन्द्रप्रसाद ढकाल पूर्वाधार इन्जिनियर हुन्। सुरेन्द्र र रोशनीले मिलेर हङकङमा निर्माण कम्पनी सञ्चालन गर्दै आएका छन्।
'२००९ देखि हामीले व्यवसाय सुरु गरेका हौँ। हामीले सुरुङ निर्माणमा पनि काम गरेका छौँ। समुद्रमुनि रेल स्टेसन निर्माण, पहाड फोरेर सुरुङ बनाउने तथा हङकङलाई चीनसँग जोड्ने फास्ट ट्र्याक रेल परियोजनामा सब-कन्ट्र्याक्टरका रूपमा काम गरेका हौँ,' उनले भनिन्, 'हङकङ–मकाउ पुलमा पनि काम गर्यौँ। हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सब-कन्ट्र्याक्टरका रूपमा काम गरेका थियौँ। अहिले पनि हामीसँग ३ सय कामदार छन्।'
दीपमालाको जितले एनआरएन अभियानीहरू पनि उत्साहित भएका छन्।
एनआरएनएका अध्यक्ष हेमराज शर्माले दीपमालाको जितले गैरआवासीय नेपालीहरूको नेपालप्रतिको लगावलाई स्पष्ट पारेको बताए।
'दीपमालाको जित दोस्रो पुस्ताका एनआरएनहरूका लागि पनि प्रेरणा हो।
'यसले 'एक पटकको नेपाली, सधैंको नेपाली' भन्ने अभियानको महत्व अझ बढाएको छ,' उनले भने, 'वंशजको नागरिकताको निरन्तरता भयो भने दोस्रो पुस्ताका एनआरएनहरू नेपाल आउने क्रम अझै बढ्छ। यसमा सरकार अझ गम्भीर बन्ने हाम्रो अपेक्षा छ।'