काभ्रेका विक्रम गौतम सन् २०१० मा होटल म्यानेजमेन्ट पढ्न साइप्रस गए। नेपालमा पनि होटल म्यानेजमेन्ट नै पढेर गएकाले साइप्रसमा उनलाई फाट्टफुट्ट काम पाउन सहज भयो।
त्यहाँ साढे तीन वर्ष पढेर उनी नेपाल फर्किए।
सन् २०१४ मा उनी दुबई गए। दुबईमा बारटेन्डर काम गरे। बिस्तारै बार म्यानेजरसम्म बने।
दुबईमा काम गर्दागर्दै विक्रमले मदिरा, खासगरी वाइन सम्बन्धी कोर्स गरे। यसलाई सोमेलियर कोर्स भनिन्छ। स्तरीय रेस्टुरेन्ट, होटल तथा उच्चस्तरीय वाइन बारमा यस्ता तालिमप्राप्त र विशेषज्ञ व्यक्ति हुन्छन् जसलाई सोमेलियर भनिन्छ।
'मैले त्यहाँ लेभल–३ सम्म सोमेलियर कोर्स गरेँ। यो आफैमा कुनै डिग्री त होइन, तर महत्त्वपूर्ण भोकेसनल कोर्स हो,' विक्रमले भने, 'हामी मुख्यतः ग्राहकलाई कुन परिकारसँग कुन वाइन उपयुक्त हुन्छ भनेर सिफारिस गर्ने, वाइनको स्वाद, गुणस्तर, उत्पत्ति र विशेषताबारे जानकारी दिने काम गर्छौं।'

तीन वर्षपछि उनी नपाल आए। फर्केर असिस्टेन्ट सोमेलियरका रूपमा क्रुजमा काम गरे। क्रुजमा काम गर्ने क्रममा इटाली, स्पेन, फ्रान्स, ग्रीस, स्लोभाकिया लगायत देश पुगे।
'क्रुजमा केही समय काम गरेपछि म माल्दिभ्सको रिसोर्टमा काम गर्न गएँ। काम गर्ने क्रममा कहिले कता, कहिले कता भइरहँदो रहेछ। जहाँ राम्रो अवसर पाइयो, उतै हिँड्नु परिहाल्दो रहेछ,' विक्रमले भने।
माल्दिभ्समा एक वर्ष काम गरेपछि उनी अमेरिका गए। अनि क्रुजमा क्यानडा, चिली, उरूग्वे हुँदै अन्टार्कटिका पुगे।
'मैले पटक पटक गरेर क्रुजमा साढे दुई वर्ष काम गरेको छु। ६० भन्दा बढी देश पुग्ने अवसर पाएको छु,' उनले भने।
अस्ट्रेलिया बाहेक सबै महादेश क्रुजमार्फत घुमेको उनले बताए।
धेरै देशमा काम गर्दै अनुभव हासिल गरेका विक्रम सन् २०२१ मा अफ्रिकी देश सेसेल्स पुगे। त्यहाँ झन्डै चार वर्ष काम गरे। अनि नौ महिनाअघि मलेसिया गए।
हाल मलेसियास्थित अमेरिकन चेन रेस्टुरेन्ट स्मिथ एन्ड ओलेस्कीमा उनी सोमेलियर म्यानेजर छन्। उनले त्यहाँ सर्भिस र तालिम दुवै पक्ष हेर्छन्। अर्थात् कामको अनुगमन गर्ने र कर्मचारीलाई निर्देशन दिने जिम्मेवारी उनकै हो।
'नियमित तलब र कमिसन गरी मासिक झन्डै ६ लाख रूपैयाँ कमाइ हुन्छ। खाने र बस्ने व्यवस्था कम्पनीले नै गरेको छ,' उनले भने।
उनी अहिले मास्टर सोमेलियर डिप्लोमाको तयारी पनि गरिरहेका छन्।

'म हाई–स्किल भिसामार्फत मलेसिया आएको हुँ। काम राम्रो छ। मेरो मुख्य प्राथमिकता चाहिँ पढाइलाई निरन्तरता दिनु हो,' उनले भने।
तर मास्टर सोमेलियर डिप्लोमाको परीक्षा कहिले हुन्छ भन्ने टुंगो छैन। उनी परीक्षाका लागि योग्य भएपछि कोर्ट अफ मास्टर सोमेलियर्सले परीक्षाको मिति तोक्ने उनले बताए।
यो कोर्स अनिवार्य होइन। तर यसबाट वाइन, खानेकुरा तथा वेभरेज सम्बन्धी गहिरो ज्ञान र सीप हासिल गर्न सकिन्छ। चिया, कफी तथा अन्य पेय पदार्थबारे पनि विशेषज्ञता हासिल गर्न सकिन्छ। त्यसैले यसले ज्ञानको दायरा फराकिलो बनाउने विक्रमले बताए।
उनी यो पढाइ सकेर नेपाल फर्किन चाहन्छन्। नेपाल आएर आफूले सिकेको ज्ञान र सीप बाँड्ने उनको इच्छा छ।
'मैले जीवनको महत्त्वपूर्ण समय विदेशमै बिताएँ। धेरै सिक्न पाएँ, धेरै देश घुम्न पाएँ र राम्रो कमाउन पनि सकेँ। अहिले हाम्रो परिवार आर्थिक रूपमा सुरक्षित छ,' विक्रमले भने, 'तर परिवारसँग बिताउनुपर्ने महत्त्वपूर्ण समय गुमाएँ। अब नेपालमै फर्केर केही गर्न चाहन्छु। गर्दै जाँदा कति गर्न सकिन्छ, त्यो समयले नै बताउला।'
