नेकपा एमालेले विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जासहित १० जना आरोहीको निधन भएको घटनामा दुःख व्यक्त गरेका छन्।
आइतबार बिहान शोक वक्तव्य जारी गरी पार्टी महासचिव पोखरेलले पर्वतारोहणका नायक पुर्जा र उनका सहयात्रीहरूको निधनको खबरले पार्टी स्तब्ध र मर्माहत भएको बताएका छन्।
'विश्व पर्वतारोहणको इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै असम्भवलाई सम्भव बनाएर संसारलाई साहस र सङ्कल्पको पाठ सिकाउने हाम्रा सपूतहरू आज सधैँका लागि हिमालकै काखमा लीन हुनुभएको छ। उहाँहरूको यो असामयिक र दु: खद निधनले पर्वतारोहण क्षेत्रका साथै समग्र राष्ट्रले नै आफ्ना अमूल्य राष्ट्रिय धरोहर र साहसी सन्ततिहरू गुमाएको छ। यो नेपालको पर्वतारोहण इतिहासमा एउटा स्वर्णिम अध्यायको दु:खद अन्त्य हो,' महासचिव पोखरेलले वक्तव्यमा भनेका छन्।
एमालेले निम्स र सम्पूर्ण पर्वतारोही सहयात्रीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
साथै, आफ्नो प्रियजन गुमाएका शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभचिन्तकहरूमा प्रति गहिरो समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ।