नेपाली कांग्रेसका सभापति गगन थापाले ब्रोड पिकको हिमपहिरोमा परी बेपत्ता भएका निर्मल 'निम्स दाइ' पुर्जा कठिनाइ पार गर्दै फर्किन्छन् भन्ने कुरामा आफू अन्तिमम्म विश्वासमा बताएका छन्।
शनिबार दिउँसो दसै जना आरोहीको निधन भएको घटनामा समवेदन व्यक्त गर्दै सभापति थापाले निर्मल पुर्जालाई स्मरण गरेका हुन्।
'निम्स, ‘प्रोजेक्ट पसिबल’ सुरु हुनुअघि, संसारले तपाईंलाई चिन्नुअघि र तपाईंले हिमालमा सम्भवको परिभाषा बदल्नुअघि नै हाम्रो भेट भएको थियो। तपाईं हरेक कठिनाइ पार गरेर फर्किनुहुन्छ भन्ने विश्वास मलाई अन्तिम क्षणसम्म थियो,' सभपति थापाले लेखेका छन्।
निम्सको सबैभन्दा ठूलो उपलब्धि कीर्तिमान मात्रै नभई नेपाली पर्वतारोहीप्रति विश्वको दृष्टिकोण नै बदल्नु पनि रहेको सभापति थापाले बताए।
'नेपालीहरू केवल विदेशी अभियानका सहयोगी होइनन्, उनीहरू नेतृत्व गर्न, नयाँ इतिहास रच्न र पर्वतारोहणको भविष्यलाई नयाँ दिशा दिन सक्षम छन् भन्ने कुरा तपाईंले संसारलाई प्रमाणित गर्नुभयो। तपाईंको योगदानले आउने पुस्तालाई पनि प्रेरित गरिरहनेछ,' उनले लेखेका छन्।
'पुरबहादुर ‘युक्ता’ गुरुङ, किली पेम्बा ‘किलु’ शेर्पा, नीमा शेर्पा, नावाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा, सोहेल साखी, म्यालोरी गाइस, नधिरा अल हार्थी र वाङ झोङ सबैलाई । यी प्रत्येक नामसँग साहस, त्याग, सपना र आफ्ना प्रियजनको प्रतीक्षामा रहेको एउटा परिवार जोडिएको छ,' सभापति थापाले अगाडि लेखेका छन्।
शोकमा परेका सबै परिवार, साथीभाइ तथा सम्पूर्ण पर्वतारोहण समुदायप्रति उनले समवेदना व्यक्त गरेका छन्।