पठन अनुभूति
'तपाईंलाई सबभन्दा मन परेको किताब कुन हो?'
अहिले निकै चर्चामा रहेको पुस्तक 'अज्ञात' का लेखक केशवराज ज्ञवालीसँग मेरा अनगिन्ती प्रश्न थिए, तर उनैले पो उछिने।
जसलाई सुन्न बसेको हुँ उनैको प्रश्न अनपेक्षित त थियो नै, उत्तर उत्तिकै मुश्किल। तर सहज भान पार्न हातको 'अज्ञात' देखाउँदै भनेँ, 'यो किताब पढेको छैन। अहिलेसम्म सबभन्दा मन परेको त महाभारत नै हो।'
'महाभारत भित्रको पनि के धेरै मनपर्छ?' लेखक सोध्न रोकिएनन्।
'लेखिएका भन्दा नलेखिएका कथा,' मैले पनि अलिक घुमाएर जबाफ दिएँ।
'जस्तै?'
'जस्तै, ऋषि पराशर र मत्स्यगन्धाको अधुरो प्रेम। यमुना नदीको बीचमा उनीहरूले देहसुख प्राप्त गरे। पराशरले बाचा अनुरूप मत्स्यगन्धालाई उनको शरीरबाट निस्कने सुगन्ध एक योजन परसम्म फैलिने बरदान दिए। त्यही सुगन्धले खिँचेर हस्तिनापुर नरेश शान्तनुलाई मत्स्यगन्धाको आँगनसम्मै पुर्यायो। अन्ततः ती योजनगन्धा महारानी सत्यवती बनिन्। यी सबै परिस्थितिले ऋषि पराशरको मनमा कस्तो हलचल ल्यायो होला? किताबमा नलेखिएका तर मनले खोज्ने यस्ता कयौं रोमाञ्चक प्रसंग छैनन् त महाभारतमा!'
मेरो जबाफ सुनेर लेखक ज्ञवाली घत परेजसरी मुस्कुराए मात्र।
साता दिनपछि उनको मेसेज आयो, 'अहिलेसम्म नपढेको भए शिवाजी सावन्तको 'मृत्युञ्जय' पढ्नू है।'
पूरा नपढे पनि यो किताब महाभारतका पात्र महारथी कर्णको विराट् व्यक्तित्वमा केन्द्रित छ भन्नेसम्म थाहा थियो।
'अज्ञात' पढेपछि बुझेँ, लेखक ज्ञवालीलाई पुराणले होस् कि इतिहासले, पाखा लगाएको पात्रप्रति करूणा छ, मोह छ। र, त उनी त्यस्तै पढ्न/लेख्न चाहँदा रहेछन्।
कतिसम्म भने, आफ्नो किताब नै उनले ती अज्ञात मान्छेहरूप्रति समर्पण गरेका छन्, जसको नाममा इतिहासको उज्यालो परेन। तर सबभन्दा ठूलो संख्यामा तिनले नेपालको वर्तमान भूगोल निर्माणमा आफ्नो प्राण र पसिना मिसाए।
यो किताब त हात परेको साता दिनमै पढेर सकियो। तर यसमा लिपिबद्ध 'भावनाको इतिहास' ले अझै हल्लाइरहेको छ। 'बितेका कालमा भएका घटनाको विवरणलाई इतिहास भनिन्छ' भन्ने घोकेर स्कुलमा इतिहास पढ्न सुरू गरेको म 'अज्ञात' पढेपछि छ्यांग भएको छु, पाठ्यक्रममा जे पढियो इतिहास त त्यो भन्दा कति धेरै रहेछ!
ज्ञवालीले लेख्न त आख्यान लेखेका हुन्, तर त्यो नदेखिने गरी बसेको यथार्थको अभिलेख जस्तो पनि छ।
यो किताब पढेपछि मन इतिहासबाट वर्तमानमा आउनै मानेन, अनि बाबुराम आचार्यको 'अब यस्तो कहिल्यै नहोस्' फेरि पढेँ। यसपटक मलाई त्यो इतिहासको किताब कथाजस्तो र उपन्यास 'अज्ञात' यथार्थजस्तो लाग्यो।
मोहन मैनालीको 'मुकाम रणमैदान' को पाना फेरि पल्टाएँ। उनले 'त्यो लडाइँ लड्ने र लडाउनेहरूले त्यस बखत लेखेका, पाएसम्मका सबै चिठी पढेर' लेखेको किताबले मलाई राज्यले पढाएको इतिहासका किताबले भन्दा निकै नजिक पुर्याएको थियो।
'इतिहास भूतकाल हैन, वर्तमान र भविष्यत काल हो', अहिले सुनसरीमा भएजस्ता घटना/दुर्घटनाले मैनालीले किताबमा उल्लेख गरेको यही पंक्तिलाई सत्य साबित गर्न खोजेजस्तो लाग्छ। कुन बेला रोपेको प्रतिशोधको बीउ कुन बेला कुन ठाउँमा झांगिन्छ ठेगान नै नहुने!
'साहित्य अनुभूतिको इतिहास हो। हामीले भावनाको उतारचढाव भन्नुपर्छ,' ज्ञवाली यो कुरामा प्रस्ट रहेछन्।
सायद भावनाको उडान अनियन्त्रित नहोस् भनेर उनले पात्रहरूलाई पञ्चमहाभूतको अधिनमा राखेर लेखे। उनले खडा गरेको किताबका च्याप्टरहरू माटो, पानी, हावा, आगो र आकाश कति बेला भौतिक हुन्, कति बेला भावनाका विम्ब थाहै हुँदैन। लेखनमा उनको यो प्रयोगले निकै प्रभावित तुल्यायो।
यो पञ्चतत्वको कथा पनि हो र मन्या वा ऊ जस्ताको पाँच अवस्थाको कथा पनि हो।
पहिल्यै इतिहास जानेर 'अज्ञात' पढ्दा अनुभूतिको इतिहास हो। यसमा सुनेकै घटनामा नसुनिएका दृष्टिकोणहरू प्रचुर पढ्न पाइन्छ। नेपालको इतिहासै नपढेकालाई पनि यो किताबले थोरबहुत इतिहास बुझाउँछ। र, धेरै जान्न उत्सुक गराउँछ।

ज्ञवालीले उपन्यास लेख्न करिब २०० वर्षअघिको त्यो समय रोजे, जतिखेर आधुनिक नेपाल निर्माणको सिलसिला चलिरहेको थियो। र, त्यो समयलाई यति टाढाबाट लेखे जसको हवाई दुरी नै १३ हजार किलोमिटरभन्दा पर छ।
'त्यति टाढा बसेर यति नजिकसँग कसरी लेख्नु भो?' यो प्रश्न सोध्ने थिएँ होला, उपन्यास सकिने बित्तिकैको पृष्ठमा रहेको 'बीजकथा' ले सबै कुरा बोल्यो।
मलाई लेखकहरूसँग गफ गर्न मनपर्छ। करिब दुई महिनाअघि हिमालय खबरले अमेरिकाको टेक्सासमा आयोजना गरेको कार्यक्रम 'कविता र किताबका कुरा' मा लेखक ज्ञवालीलाई भेट्नु पनि मेरो निम्ति एउटा आकर्षणको विषय थियो।
पहिलोचोटि उनलाई प्रत्यक्ष सुन्न र मौका मिले संवाद गर्ने धोको थियो। उनी टेबलमा घोत्लिएर किताबमा हस्ताक्षर गरिरहेका थिए। परदेश छिरेको एक दशकपछि पहिलो पटक म पढौं पढौं लागेको किताब लेखककै हातबाट प्राप्त गर्न लालायित थिएँ। उनीसँग चिनजान थिएन, आफ्नो नाम बताएर किताबमा हस्ताक्षर गराई मागेँ।
ती अज्ञात लेखकलाई छिट्टै ज्ञात गराउन मुख्य भूमिका खेले लेखक मित्र, कृष्ण कुसुमले। उनैको लेख 'अज्ञात लेखकदेखि अज्ञातका लेखकसम्म' पढेर पनि म ज्ञवालीबारे थप जान्न उत्सुक थिएँ।
मलाई लाग्थ्यो, राम्रो लेखक बन्ने एउटा प्रक्रिया हुन्छ। लेखाइको सिँढी चढ्दै चढ्दै पुस्तक लेखनको उचाइमा पुगिने होला। तर ज्ञवाली कुनै फुटकर लेख रचनाका बाइलाइनमा देखिएका थिएनन्। उनको नाम एकैचोटि आफ्नै किताबको बुई चढेर आयो र धेरैलाई एकैचोटि चिनायो। पहिलो किताब 'अर्को भोर' बाट पद्मश्री पुस्कार पाएका ज्ञवाली यस पटक मदन पुरस्कारको मनोनयनमा पनि परेका छन्।
'आज ज्ञवालीजी सहित सबै जना मेरै घरमा बसौं,' कार्यक्रम चल्दै गर्दा कृष्ण कुसुमले कानेखुसी गरे।
उनको प्रस्ताव यति मनपर्यो, हामी होटल छाडेर कसुम निवासतिर हुइँकियौं।
ज्ञवाली पनि परिवारसहित पहिल्यै त्यहाँ पुगिसकेका रहेछन्। कृष्ण कुसुमको सत्कारमा साहित्य समेत मिसिएपछि सिँगो रात जाग्राम बित्यो।
ज्ञवालीको पहिलो किताब 'अर्को भोर' पढ्दा म छक्क परेको थिएँ। लेखक नयाँ छन्, लेखाइ एकदमै भर्सिएको छ। दोस्रो किताब अज्ञात त झनै सशक्त। उनको साधना वा अभ्यास के होला!
'हो, लामो समय मैले अरूकै पढेर बिताएँ। चिठी र डायरी लेखेर अभ्यास गरेँ,' उनी भन्दै गए, 'आफ्नो कुरा कति स्पष्ट भयो थाहा पाउन अहिले पनि डायरी लेख्छु। आफूले भन्न खोजेको कुरा शब्दमा आयो कि आएन भनेर अभ्यास गर्न यो तरिका सही लाग्छ।'
विद्यार्थी जीवनमा दाइसँग मन दुख्दा उनले कथा लेखेर बालाई पठाएका रहेछन्। भोलिपल्टै तानसेनबाट बा तम्घास आइपुगेपछि उनले दुईवटा कुरा एकसाथ बुझे, लेखनमा शक्ति हुँदो रहेछ, र म लेख्न जान्दो रहेछु।
पढ्ने किताब छान्दा उनी बलियो विषयवस्तु, स्पष्ट विचार र त्यसमा निहित द्वन्द्वले आकर्षित हुँदा रहेछन्। नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइराला र हिन्दी साहित्यमा आचार्य चतुर सेनले प्रभाव पारेको कुरा उनले निर्धक्क प्रकट गरे।
ऐतिहासिक र पौराणिक कृति रूचाउने ज्ञवालीलाई हिन्दी भाषाका लेखक फणीश्वरनाथ रेणु, 'राग दरबारी' का लेखक श्रीलाल शुक्ल मनपर्दो रहेछ। वनारस पढेका बाबु, घरमा हिन्दी र संस्कृत किताबका चाङ, दूरदर्शन टिभीको प्रभाव, उनी बिस्तारै हिन्दी साहित्यको रसमा डुबे। अनि पुराण र इतिहास छिचोले।
उनको सिफारिस छ, 'भाषामा पहुँच हुनेले हिन्दी साहित्य पढे हुन्थ्यो। भारतको लेखन संस्कृति निकै पुरानो भएकाले लेखन सुधार गर्न पनि त्यसले सघाउँछ।'
दुई दशकदेखि उनी अमेरिकामा छन्। उनको पढाइ र पेसा इन्जिनियरिङ हो। दुई भाइ छोरा हुर्काइरहेका छन्। जिम्मेवारीको गह्रौं भारी बोकेर पनि उनी कसरी लेखनमा खरो उत्रन सकेका होलान्?
यो प्रश्न मलाई मात्र होइन, विदेशमा बसेर काम गर्दै बच्चा हुर्काउने सबैको मनमा उब्जिन सक्छ।
उनको 'ट्रिक' रहेछ, छोराहरूलाई पनि लेखन 'प्रोजेक्ट' मै सामेल गर्ने। आफ्नो दिमागमा चलेको कल्पनाको सिलसिलालाई छोराहरूसामु पस्किएर त्यसलाई अझै तिखार्ने, अनि उनीहरू निदाएपछि लेख्ने।
'सानो छँदा बालाई चिठी लेखेर अभ्यास गर्थेँ, अहिले छोराहरूलाई कथा सुनाएर,' उनले लेखन रहस्य लुकाएनन्, 'छोराहरूलाई सुनाउँदा कथा भन्ने तरिकाको अभ्यास हुन्छ। यता हुर्कँदै गरेका बच्चाले पनि बुझे भने त नेपालीभाषी सबैले बुझ्छन् नि, हैन?'
नभन्दै छोराहरूलाई सुनाउँदा सुनाउँदा चार वर्षमा लोकलाई सुनाउन लायक मोटो किताब तयार पार्न उनी सफल भए।
'बच्चाहरूले असामान्य कुरा पनि सोध्छन्। उनीहरूलाई बुझाउने प्रयासले कथा भन्ने शैलीमा सरलता ल्याउँछ। भाषाको अन्तिम उद्देश्य भनेको कुरा बुझाउनु नै त हो। गीत, फिल्म, साहित्य सबैले खोज्ने भनेको भन्न खोजेको कुरा बुझाउनु नै हो।'
लेख्नु सजिलो काम त उनलाई पनि लाग्दैन। यो त ठूलो समुन्द्रको बीचमा डुंगा चलाएजस्तै हो। विकल्पहरू अनन्त हुन्छन्, तर गन्तव्यमा पुग्न एउटा दिशा समाउनुपर्छ।
'लेख्दा दुःख त हुन्छ। त्यसमा रमाइलो माने अघि बढ्न सकिन्छ। त्यो जेलजस्तो लागे कुरो अघि बढ्दैन,' उनी भन्छन्, 'सँच्चै केही कुरा पूरा गर्ने हो भने नियममा बसेर लेख्नुपर्छ। राम्रो लेख्न सकेको छैन भन्ने थाहा हुँदा पनि लेख्नुपर्छ। यसलाई पुनर्लेखन गर्नुपर्छ भन्ने थाहा हुँदा हुँदै पनि लेख्नुपर्छ।'
उनको निष्कर्षले भन्छ, 'लेख्नु भनेको घन घोटी बन्चरो बनाउनु नै हो।'
मलाई लेखक/साहित्यकारहरू औधी मनपर्छन्। राम्रो लेख्नेहरू त झनै मनपर्छन्। विदेशमा बसेर पनि नेपालीमा राम्रो लेख्नेहरूप्रति निकै श्रद्धा जाग्छ।
यो विदेशमा लेख्नेहरू बरू भेटिन्छन्, नेपाली किताबको नियमित पाठक भेट्न भने साह्रै मुश्किल पर्छ। तर केही संयोगले मिठो 'सर्प्राइज' दिन्छ। जस्तो सुदीप घिमिरेले दिए।
'अज्ञात' लेखकसँगको चिनारीले मिलेको खुसी त्यति बेला दोब्बर भयो, जब मैले सुदीपजस्तो अज्ञात पाठक भेटेँ।
उनको पनि पेसा र अध्ययन सूचना प्रविधि, तर रूचि क्यानभासमा कला कोर्ने र राम्रा साहित्य अध्ययन गर्ने रहेछ। एउटा जमघटमा 'अज्ञात' किताब देख्दा उनी यति 'एक्साइटेड' भएर पढ्न खोजे, मलाई उनको पठन अनुभूति सुन्न मन लाग्यो।
सर्वप्रिय किताबमा 'पल्पसा क्याफे' को नाम लिएपछि नै मोटामोटी उनको परख बुझिहालेँ।
'अज्ञात' पढेर सकेपछि उनले बेलीविस्तार लगाए, 'दासत्वको कुरा हामी अमेरिका लगायत पश्चिमी समाजमा मात्रै थियो भन्ने ठान्थ्यौं। नेपालमा पनि त्यसरी कमारा कमारीको बेचबिखन हुँदो रहेछ। यो किताबले इतिहासलाई च्यालेन्ज नगरी त्यसैभित्रको जुन दृष्टकोण लेख्यो, धेरै कुरा मेरा निम्ति नयाँ थिए।'
पौराणिक पात्र 'अश्वत्थामा' मा आधारित माधव घिमिरेको गीति नाटक पढेर खुब प्रभावित सुदीपलाई 'अज्ञात' अलि कमर्सियल लाग्यो। यसमा उनले नयाँ इतिहासको उत्खनन भएको होला कि भन्ने आशा गरेका रहेछन्, तर किताबमा प्रस्तुत नयाँ अनुभूतिमा चित्त बुझाए।
इतिहासले नबताएको कथा, नचिनाएको पात्र र नगरेको कदर ज्ञवालीले उपन्यासमार्फत गरे। उपन्यासमा उनको कल्पनाशीलता देख्दा मेरो मनमा एउटा विचार उब्जियो। त्यसैले सोधेँ, 'इतिहासले दिएको समय र परिधिमा रहेर पात्र र परिवेश खडा गर्न सजिलो त भयो होला, तर त्यसले आफ्नो सिर्जनशीलतालाई साँघुरो बनाइदिएजस्तो लागेन?'
यो प्रश्नको ज्ञवालीले जबाफ दिएनन्। एउटा किताब उपहार दिए, 'कितने पाकिस्तान'।
उनले यो किताब दिनुको अभिप्राय मैले सोधेको छैन। तर यसका लेखक कमलेश्वरको यो किताब लेखनसँग दुईवटा बाध्यता जोडिएको रहेछ।
एउटा, उनको अगाडि कोही नायक वा महानायक छैनन्, त्यसैले समयलाई नै नायक, महानायक र खलनायक समेत बनाउन परेछ।
दोस्रो बाध्यता, उनले यो किताब लेखनको दौरान 'यो मेरो पहिलो रचना हो' भन्ने भावमा बस्ने चेष्टा गरेछन्।
उपन्यास कुनै ठाउँमा टुंगिनु थियो टुंगियो, तर कमलेश्वरको मनको प्रश्न सकिएनछ।
'अज्ञात' उपन्यास पनि एउटा ठाउँमा पुगेर टुंगिएको छ। तर त्यसले मन शान्त बनाउँदैन, अझै अनगिन्ति प्रश्नहरू जन्माउँछ।
'मेरा साना दुःखले आर्ज्याको मुलुक होइन' पृथ्वीनारायण शाहको भनिने यो भनाइलाई सच्याएर 'हाम्रा साना दुःखले आर्ज्याको मुलुक होइन' बनाउन ज्ञवालीले ४४० पृष्ठको किताब लेख्नुपर्यो।
इतिहासका थुप्रै ठाउँछन् असहमतिले भरिएका। तिनले समयक्रममा यसैगरी साहित्यमार्फत विद्रोह गर्लान्, आफ्ना हक खोज्लान्। म भने राज्यले चरम शोषण गरेर कर असुल्दा पनि कोदाली नबिसाएका किसान, काट्न/काटिन तयार सिपाही, अनि कसैकहाँ कमारो बसेर भए पनि सभ्यतालाई आजको समयसम्म ल्याइपुर्याउन डटेका पुर्खाहरूप्रति आभारी भएँ।
मलाई यो समय इतिहासकै सुन्दर लाग्दै थियो, सुनसरीको देवानगन्जमा भएको साम्प्रदायिक झडपको खबरले खबरदार भनेजस्तो लाग्यो!
कतै त्यहाँ फैलिएको त्रास र प्रतिशोध 'भावनाको इतिहास' माथिको अवमूल्यनको नतिजा त होइन?
म सोचमग्न भएँ।
हातमा कमलेश्वरको 'कितने पाकिस्तान' छ, पृष्ठभूमिमा देख्छु अशान्त कप्तानगन्ज, जो सेतोपाटीमै राजु अधिकारीले लेखेजस्तै 'सेना र प्रहरी होइन, सरकार खोजिरहेछ।'
'अशान्त सुनसरी र त्यसको पृष्ठभूमिसँग 'कितने पाकिस्तान' को कति सम्बन्ध होला?' यो प्रश्न मैले लेखक ज्ञवालीलाई सोधिनँ।
कतै किताब पो बोल्छ कि!
***