आज दिउँसो करिब ३ बजेतिर हामी कीर्तिपुरमा सुकुम्बासीहरूलाई राखिएको होल्डिङ सेन्टर पुगेका थियौं। तर प्रहरीले हामीलाई भित्र प्रवेश गर्न दिएनन्।
हामीले 'किन रोकिएको हो' भनेर प्रश्न गर्यौं।
हामीसँग माजिद अन्सारीजी पनि हुनुहुन्थ्यो। उहाँले यसअघि नै होल्डिङ सेन्टरमा डुबान हुन सक्छ भनेर सरकारलाई जानकारी गराउनुभएको थियो। उहाँले नक्सासहित सम्बन्धित निकायलाई देखाएको र त्यसबारे सर्वोच्च अदालतमा रिट समेत दायर गर्नुभएको थियो।
त्यसपछि हामीले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी बस्तीका एक जना दाइलाई फोन गर्यौं।
उहाँले ओजस्वी थापा (रास्वपाका निवर्तमान केन्द्रीय सदस्य तथा जेनजी अभियानी) भित्रै हुनुभएको जानकारी दिनुभयो।
त्यसपछि हामीले प्रहरीसँग 'उहाँलाई भित्र पठाइएको भए हामीलाई किन रोकेको?' भनेर सोध्यौं।
प्रहरीले 'उहाँ आधिकारिक व्यक्ति हो' भनेर जबाफ दिए।
त्यसपछि हामीले 'उहाँ आधिकारिक व्यक्ति हो भने त्यसको आधार के हो? नियुक्तिपत्र वा कुनै आधिकारिक कागजात देखाइदिनुहोस्' भन्यौं।
त्यसको स्पष्ट जबाफ दिनुको सट्टा प्रहरीले हामीलाई प्रहरी प्रवक्तासँग फोन गरेर कुरा गर्न भने। चाहिन्छ भने फोन नम्बर दिने कुरा पनि गरे।
त्यही बेला मैले ओजस्वीलाई भित्र देखेकी थिएँ। उनी मेरो साथी पनि भएकाले मैले बाहिर आउन भनेर बोलाएकी थिएँ। तर उनी बाहिर आएनन्। उनले दुई जना प्रहरीसँग केही कुरा गरे। त्यसपछि प्रहरीको बाक्लो घेरा बनाइयो र ठूलो ब्यारिकेड खडा गरियो।
माजिदजीले प्रहरीलाई प्रश्न गर्नुभयो, 'यदि उहाँ सरकारको प्रतिनिधित्व गरेर आउनुभएको हो भने मलाई उहाँसँग प्रश्न सोध्ने अधिकार छ। त्यो अधिकारबाट मलाई किन वञ्चित गरिँदैछ? उहाँ को हो जसको इसारामा प्रहरी परिचालन भइरहेको छ?'
प्रहरीले भने, 'हामी कसैको इसारामा चलेका होइनौं। तपाईंहरूले हामीलाई त्यस्तो आरोप लगाउन मिल्दैन।'
माजिदजीले आफू कानुनको विद्यार्थी भएको र प्रहरीको व्यवहार देखिरहेको बताउनुभएको थियो। जबाफमा एक प्रहरी कर्मचारीले 'मैले पनि कानुन पढेको छु' भनेका थिए।
त्यसपछि हामीले 'सुकुम्बासीहरूको उठिबास नै गलत थियो, अहिले हामीले सान्त्वना दिन आउँदा तपाईंहरूलाई केको चित्तदुखाइ भयो' भनेर भन्यौं।
प्रहरीले माजिदजीलाई होच्याउने हिसाबले 'भ्युजका लागि आउने तिमीहरू, पढाइलेखाइ गर्नु छैन, नेता बन्न आउने तिमीहरू' भनेर कराए।
त्यही बेला सरकारको प्रतिनिधि भनिएका ओजस्वी थापा बाहिर निस्किएको देखेपछि मैले उनीविरूद्ध नाराबाजी पनि गरेकी थिएँ।
मैले 'ओजस्वी मुर्दाबाद, गरिबमारा सरकारले यस्तो गर्न मिल्दैन' भनेर नारा लगाएकी थिएँ।
त्यसपछि हामी सुकुम्बासी बस्तीका दुई जना विद्यार्थी बहिनीसँग कुरा गर्न थाल्यौं। उनीहरूले आफूहरू पढाइका लागि बस्दै आएको ठाउँ छाड्नुपर्ने अवस्था आएको बताए।
सरकारले २५ हजार रूपैयाँ दिएको भए पनि कोठा नपाएको र एउटा पाल्तु कुकुर भएकै कारण घरबेटीहरूले कोठा दिन नमानेको भन्दै यसबाट पढाइ प्रभावित हुने चिन्ता पनि उनीहरूले व्यक्त गरेका थिए।
माजिदजीले चाहिँ यी सबै कुरासँग लड्न शिक्षा एकदम महत्त्वपूर्ण छ भनेर ती नानीहरूलाई हिम्मत नहार्न भनिरहनुभएको थियो।
त्यही बेला एक जना प्रहरी अधिकृतले आएर फेरि 'आफै त अनपढ जस्तो छ, यसको कुरा किन सुन्ने?' भनेर होच्याए।
त्यसबीच एक जना आमाले बोकेको चामल भुइँमा पोखियो। ती आमा रून थाल्नुभयो। म उहाँलाई समातेर सँगै रोइरहेकी थिएँ। प्रहरीले हिलोमा मिसिएको चामलसमेत फेरि उठाएर हाल्न खोज्दा हामीले 'त्यो अब प्रयोग गर्न मिल्दैन, नउठाउनुहोस्' भन्यौं।
त्यही क्रममा अर्को प्रहरी अधिकृत आएर 'अघिदेखि यहाँबाट जान भनेको होइन, किन नमानेको?' भन्ने शैलीमा कडा रूपमा बोल्नुभयो।
त्यसपछि माजिदजीले पनि 'मैले अहिलेसम्म सम्मानपूर्वक कुरा गरिरहेको छु, किन यस्तो अपमानजनक व्यवहार गरिरहनुभएको?' भनेर प्रतिवाद गर्नुभयो।
प्रहरी अधिकृतले औंला देखाउँदै बोल्नुभएको थियो। त्यसपछि उहाँले माजिदजीको हात समात्दै 'मलाई औंला देखाउने?' भन्नुभयो।
त्यसपछि धेरै जना प्रहरीले तानेर उहाँलाई एकदम नराम्रोसँग कुटपिट गरे। हामीले रोक्न खोज्यौं, तर धेरै प्रहरी मिलेर माजिदजीलाई नियन्त्रणमा लिई कुटपिट गर्न थाले।
उहाँले पटक पटक 'मलाई किन पक्राउ गरिँदैछ? पक्राउ पुर्जी देखाउनुहोस्। जबर्जस्ती किन गर्दै हुनुहुन्छ?' भनेर भन्नुभयो।
उहाँको आँखामा चोट लाग्यो, मुखबाट रगत आयो र घाँटीभित्रबाट समेत रगत बगेको थियो। त्यसपछि उहाँलाई उपचारका लागि टिचिङ अस्पताल लगियो। माजिदजीले 'आँखा धमिलो देखिरहेको छु' भन्नुभएकाले उहाँलाई त्यहाँ लगिएको हो। उहाँले 'बरू म आफ्नै खर्चमा परीक्षण गर्छु' भन्नुभयो।
मेरो हकमा भने तानातान हुँदा हातमा सामान्य चोट लागेको थियो। त्यसबाहेक देखिने खालको गम्भीर चोट थिएन।
त्यस क्रममा नेल्सन घतानी दाइ हामीलाई छुट्याउन र बचाउन आउनुभएको थियो। उहाँ हाम्रो टोलीका सदस्य पनि हुनुहुन्थेन। तर उहाँलाई पनि प्रहरीले नियन्त्रणमा लियो।
त्यसअघि नहेन्द्र खड्कालाई दिउँसै नियन्त्रणमा लिइएको भन्ने जानकारी पनि हामीले पायौं। उहाँलाई कहाँ लगिँदैछ भन्नेसमेत जानकारी दिइएको थिएन।
गाडीमै हुँदा मैले साथीहरूलाई फोन गरेर घटनाबारे जानकारी गराएँ।
पछि प्रहरीका एक अधिकृतले सामान्य मेडिकल परीक्षणपछि छाडिने बताएका थिए।
त्यसपछि हाम्रा कानुन व्यवसायी कविता लामा दिदी आउनुभयो। उहाँको रोहबरमा कागजमा हस्ताक्षर गराएर मलाई र अर्को साथीलाई छाडियो। माजिदजीको हकमा भने त्यसबेला पनि आवश्यक कागजी प्रक्रिया पूरा भएको थिएन। किनभने उहाँ उपचारकै क्रममा अस्पतालमा हुनुहुन्थ्यो।
(कीर्तिपुर होल्डिङ सेन्टरमा शनिबार दिउँसो पक्राउ परेकी सरिश्मा थापासँग सेतोपाटीका युनिक श्रेष्ठले गरेको कुराकानीमा आधारित। उनलाई शनिबार राति रिहा गरिएको छ।)