नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपुर क्षेत्रमा भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहत कार्यमा तीव्रता दिन सरकार र सर्वपक्षीय निकायसँग अपिल गरेको छ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बुधबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य संयोजन समितिको आकस्मिक बैठकले प्राकृतिक विपद्बाट उत्पन्न संकट व्यवस्थापनका लागि १० बुँदे निर्णय गरेको छ।
बैठकले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। त्यसैगरी घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूलाई निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको छ।
बेपत्ता व्यक्तिहरूको खोजीका लागि राज्यका सम्पूर्ण संयन्त्र, जनशक्ति र साधनस्रोत परिचालन गर्न तीनै तहका सरकार, सुरक्षा निकाय, जनप्रतिनिधि र नागरिक समाजलाई अपिल गर्दै विस्थापितहरूका लागि तत्काल अस्थायी बसोबास, आधारभूत राहत र मृतकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउन आग्रह गरिएको छ।
प्रभावित क्षेत्रमा स्वास्थ्य, खानेपानी, बिजुली, यातायात र दूरसञ्चार जस्ता अत्यावश्यक सेवाहरू तत्काल पुन: सञ्चालन गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।
साथै, उत्तरी सीमा क्षेत्रमा हिमताल फुट्ने र ग्लेसियर पग्लिने जोखिम बढेकाले दीर्घकालीन समाधानका लागि नेपाल–चीन द्विपक्षीय संयन्त्र सक्रिय बनाउन र कूटनीतिक पहल थाल्न सरकारलाई सुझाव दिइएको छ।
बाढी प्रभावित क्षेत्रमा सरकारी तथा गैरसरकारी निकायहरूसँग समन्वय गरी राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन पार्टीले केन्द्रीय कार्य संयोजन समिति सदस्य एवं बागमती प्रदेश इन्चार्ज क. गङ्गालाल तुलाधरको संयोजकत्वमा ‘केन्द्रीय खोज उद्धार राहत समन्वय समिति’ गठन गरेको छ।
उक्त समितिमा उपत्यका विशेष, संघीय सम्पर्क समन्वय समिति, बागमती प्रदेश समिति, प्रभावित ६ जिल्लाका इन्चार्ज/संयोजकका साथै विपद्, स्वास्थ्य, जन–स्वयंसेवा विभाग र जनवर्गीय संगठनका प्रमुखहरू रहेका छन्।
बैठकपश्चात् प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी वक्तव्यमा पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, जनप्रतिनिधि तथा जनवर्गीय संगठनहरूलाई प्रभावित क्षेत्रमा तत्काल खटिएर खोज, उद्धार र राहतमा जुट्न विशेष निर्देशन दिइएको छ।