सीमावर्ती भारतीय भन्सार कार्यालय जोगबनीमा कार्यरत भन्सार एजेन्टहरूले एक्कासि थालेको आन्दोलनको प्रत्यक्ष असर विराटनगर भन्सारमा परेको छ।
सोमबारबाट भारतीय भन्सार एजेन्टहरूले 'पेन डाउन' गरेर आन्दोलन थालेपछि जोगबनीस्थित ल्यान्ड पोर्ट अफ इन्डिया हुँदै नेपाल प्रवेश गर्ने मालबाहक गाडीको जाँचपास ठप्प छ।
यसले विराटनगर भन्सारको राजस्व संकलनमा ठूलो धक्का दिएको छ।
'हाम्रोतर्फ केही समस्या छैन, भारतीय भन्सारमा समस्या भएको हो,' विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले सेतोपाटीसँग भने, 'उता समस्या हुँदा नेपाल आउने गाडीहरू रोकिएका छन्। सोमबार र मंगलबार यसको असर परेको छ।'
भन्सार कार्यालय प्रमुख श्रेष्ठले दिएको जानकारी अनुसार विराटनगर भन्सारमा जोगबनी नाका हुँदै दैनिक ४०० मालबाहक गाडीहरू नेपाल भित्रिन्छन्। पछिल्लो दुई दिन भने नेपाल प्रवेश गर्ने गाडीहरूको संख्या 'ज्यादै न्यून' छ।
उनले 'ज्यादै न्यून' भने पनि भन्सार एजेन्टहरू र विराटनगर भन्सारकै अन्य कर्मचारी भने सोमबारदेखि मंगलबार साँझसम्म भारतीय भूमिबाट विराटनगर भन्सारमा एउटा पनि गाडी नआएको बताउँछन्।
'यहाँ जे जति आउने हो सबै जोगबनी हुँदै नै आउने हो,' विराटनगर भन्सारका एक अधिकृतले भने, 'दुई दिनमा एउटा पनि गाडी नेपाल आएको छैन। उता जाँचपास नै नभएपछि यता गाडी आउने सम्भावना नै हुँदैन।'
ती अधिकृतका अनुसार दुई दिनमा मात्रै विराटनगर भन्सारबाट उठ्ने कम्तीमा २२ करोड रूपैयाँभन्दा बढी राजस्व संकलन रोकिएको छ।
'हामीकहाँ दैनिक सरदर ११ देखि १२ करोड रूपैयाँ राजस्व हुन्छ,' ती अधिकृतले भने, 'यो दुई दिनमा कारोबार ठप्प बन्दा कम्तीमा २२ करोड रूपैयाँ राजस्व गुमेको छ।'
जोगबनीमा यो समस्या कसरी आयो भन्नेबारे त्यहीँको व्यवस्थापन समूहसमेत बेखबर देखिएको छ।
जोगबनीस्थित ल्याण्ड पोर्ट अफ इन्डियाका एलपिआईका प्रबन्धक रत्नाकर यादवले भारतीय भन्सारका एजेन्टहरूले मागपत्र पेस नगरी एक्कासि पेन डाउन गरेको दाबी गरेका छन्।
'हामीलाई कुनै अल्टिमेटम वा पूर्वसूचना उनीहरूले दिएनन्। एक्कासि काममा अवरोध भयो,' यादवले भने, 'उनीहरूले आफ्नो मागबारे समेत हामीलाई खुलेर केही भनेका छैनन्।'
भारतीय भन्सार एजेन्टहरूले भने एलपिआईका प्रबन्धकसहित सुरक्षाकर्मीहरूले आफूहरूमाथि लगातार दुर्व्यवहार गरेको बताइरहेका छन्। भन्सारमा सर्भर डाउन भएको भन्दै कर्मचारीले समयमा जाँचपास नगर्ने, अपमानपूर्वक व्यवहार गर्ने गरेको एजेन्टहरू बताउँछन्।
भारतीय भूमिमा देखिएको किचलोले नेपालमा ठूलो असर पारेको नेपाली भन्सार एजेन्टहरू बताउँछन्।
'भारतीय सीमावर्ती क्षेत्रमा हुने ससाना प्रशासनिक किचलोको सोझो मार नेपाली अर्थतन्त्रमा कसरी पर्छ भन्ने ताजा उदाहरण बनेको छ विराटनगर भन्सार,' भन्सार एजेन्ट नवल उपाध्यायले भने, 'पछिल्लो दुई दिनयता जे भइरहेको छ, त्यसमा हाम्रोतिरबाट केही समस्या होइन। उतैको किचलोले समस्या ल्याएको हो।'
भारतीय भूमिमा देखिएको यो किचलोका कारण यति बेला जोगबनीस्थित भारतीय ल्यान्ड पोर्टमा नेपालतर्फ आउनुपर्ने एक हजारभन्दा बढी मालबाहक सवारीसाधन थन्किएका छन्।
नेपाल र तेस्रो मुलुकबाट आयात गरिएका सामान बोकेका यी गाडीहरू सीमा क्षेत्रमै रोकिएपछि भन्सार एजेन्ट र आयातकर्ताहरू अलपत्र परेका छन्।
समस्याको मुख्य जरो भारतीय पक्षको व्यवस्थापकीय कमजोरी र सीमा सुरक्षा बल एसएसबीको व्यवहारसँग जोडिएको भन्सार एजेन्टहरू बताउँछन्।
भारतीय एजेन्टहरूको जारी आन्दोलनका बीच बुधबार परेको चाडपर्वको बिदासमेत थपिएपछि स्थिति झनै जटिल बनेको भन्सार एजेन्ट नवल उपाध्यायले बताए।
बुधबार मोहम्मद जयन्तीको बिदा छ।
ल्यान्ड पोर्टमा जाँचपास ढिलाइ हुँदा नेपालतर्फ सामान ल्याउने गाडीहरूले भारतीय भूभागमै भारी पार्किङ शुल्क तिर्नुपरेको छ। यसको प्रत्यक्ष आर्थिक भार नेपाली आयातकर्तामा परेको छ।
'सीमापारि सामान्य खटपट वा कर्मचारीको असन्तोष हुँदा पनि नेपालमा औद्योगिक कच्चा पदार्थको आपूर्ति रोकिने, बजारमा सामान महँगो हुने र सरकारी कोषमा राजस्व घट्ने समस्या बारम्बार दोहोरिइरहन्छ,' भन्सार एजेन्ट उपाध्यायले थपे, 'यसले हाम्रो अर्थतन्त्रमा गम्भीर प्रभाव पारिरहेको छ।'