काठमाडौंमा जन्मिएका डा. सञ्जय खनाल विगत ३५ वर्षदेखि अमेरिकामा छन्। सन् १९९१ मा अमेरिका पुगेका उनी अहिले क्यालिफोर्नियाको लस एन्जलसमा इन्टरभेन्सनल कार्डियोलोजिस्ट (मुटु रोग विशेषज्ञ) का रूपमा काम गरिरहेका छन्।
उनको मुख्य काम मुटु सम्बन्धी रोगको उपचारमा विभिन्न प्रविधि प्रयोग गर्नु हो।
'हामी मुटुको रोगको शल्यक्रिया नगरी नसाबाटै उपचार गर्छौं,' उनले भने।
उनका अनुसार हृदयाघात हुँदा मुटुको बन्द भएको नसामा स्टेन्ट राख्ने, आवश्यक परे पेसमेकर राख्ने तथा मुटुको भल्भमा समस्या भए छाती नचिरी नसाबाटै भल्भ राख्ने उपचारमा उनी संलग्न हुन्छन्। त्यस्तै, क्याथेटरको माध्यमबाट मुटु र रक्तनलीको अवस्था जाँच गरेर पनि आवश्यक उपचार गरिन्छ।
क्याथेटरमार्फत मुटु र रक्तनली सम्बन्धी उपचार पनि उनको कामको क्षेत्र हो।
डा. सञ्जयको अमेरिकामा आफ्नो क्लिनिक पनि छ। क्लिनिकमा उनीसहित पाँच जनाले लगानी गरेका छन्। त्यसबाहेक उनी अन्य दुई अस्पतालमा पनि काम गर्छन्।
'हामी मुटुरोग विशेषज्ञहरू मिलेर क्लिनिक खोलेका हौं। बाहिर अस्पतालमा पनि काम गर्छौं,' उनले भने।
डाक्टर बन्ने सोच उनको बाल्यकालदेखि नै बनेको थियो। घरका जेठो सन्तान सञ्जयका एक भाइ छन्। उनका बुबा नेपाल एयरलाइन्समा काम गर्थे भने आमा गृहिणी थिइन्। घरको आर्थिक अवस्था पनि राम्रै थियो।
उनले सेन्ट जेभियर्स स्कुलबाट एसएलसी (एसइई सरह) उत्तीर्ण गरेपछि अमृत साइन्स क्याम्पस (अस्कल) मा पढे।
सानो छँदा उनी पटक पटक बिरामी भइरहन्थे। आमाले उनलाई उपचारका लागि लगिरहन्थिन्।
'मलाई जाँच्ने डाक्टरबाट प्रभावित भएर मैले डाक्टर बन्ने सपना देखेको थिएँ,' सञ्जयले भने।
उनले भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसबाट एमबिबिएस पूरा गरे। त्यसपछि उनी अमेरिका पुगे।
सुरूआतमा अमेरिका जाने उनको योजना पढाइ वा जागिरका लागि थिएन। बुबा एयरलाइन्समा काम गर्ने भएकाले टिकटमा सहुलियत पाउँथे। त्यही सहुलियतमा उनी साथीहरूलाई भेट्न र घुम्न पुगेका थिए।
'साथीहरू अमेरिकामा थिए। म चाहिँ घुम्न गएको थिएँ,' उनले भने।
अमेरिका पुगेपछि उनले एक वर्ष इन्टर्नसिप गरे। त्यसपछि न्युयोर्कमा दुई वर्ष जनरल मेडिसिनको रेसिडेन्सी पूरा गरे। रेसिडेन्सीमा काम गर्दै पढ्नुपर्ने भएकाले चिकित्सकीय अनुभव बढ्दै गयो।
उनले क्यालिफोर्नियामा तीन वर्ष विशेषज्ञता पढाइ गरे। यही अवधिमा उनको बिहे पनि भयो।

परिवारसँग डाक्टर सञ्जय
हार्वर्डबाट दुई वर्ष इन्टरभेन्सनल कार्डियोलोजी पढे र त्यसपछि मेडिकल कलेज अफ जर्जियामा असिस्टेन्ट प्रोफेसरका रूपमा दुई वर्ष काम गरे।
यसपछि हेड्रिफोर्ड अस्पतालमा असोसिएट प्रोफेसर तथा इन्टरभेन्सनल कार्डियोलोजी कार्यक्रमका डाइरेक्टरका रूपमा सात वर्ष काम गरे। अनि उनी क्यालिफोर्निया गए।
'अस्ति भर्खर आएको जस्तो लाग्थ्यो। क्यालिफोर्निया बसेको पनि २० वर्ष भइसक्यो,' उनले सुनाए।
क्यालिफोर्नियामा उनले चिकित्सकहरूसँग मिलेर क्लिनिक सुरू गरे।
यो क्लिनिकका पाँचै जना साझेदार एउटै अस्पतालमा काम गर्छन्। अस्पतालमा २४ घण्टा कल सेवा हुने भएकाले पालो अनुसार उनीहरू अस्पताल पुग्नुपर्छ।
सामान्य अवस्थामा सातामा एक दिन अस्पताल जाने भए पनि शुक्रबार, शनिबार वा आइतबार अनिवार्य जानुपर्ने सञ्जयले बताए।
'बिदाको बेला त अस्पताल जानुपर्छ। अरू दिनमा सातामा एक दिन एउटा डाक्टरको पालो पर्छ। आफ्नो पालोअनुसार जान्छौं। पालो नपरेको डाक्टर क्लिनिकमा हुन्छौं,' डा. सञ्जयले सुनाए, 'अस्पतालमा बिरामीको चाप भयो भने पालो नपरे पनि अर्को डाक्टरलाई सघाउन जान्छौं।'
क्लिनिकमा नर्स, सुरक्षा, बिलिङ, फ्रन्ट डेस्क र परीक्षण सम्बन्धी प्राविधिकसहित करिब ३० जना कर्मचारी छन्। ती सबै अमेरिकी नागरिक हुन्।
सञ्जयका अनुसार उनी वरिष्ठ चिकित्सक भएकाले बिरामीले समय लिन करिब तीन महिनासम्म कुर्नुपर्छ।
'बिरामीको उपचार गरेर उनीहरूको जीवन जोगाउन सक्दा निकै खुसी लाग्छ,' उनले भने।
अमेरिकामा उनी श्रीमती र दुई छोरीसँग बस्छन्।
जेठी छोरीले कलेजको पढाइ पूरा गरिसकेकी छन् र उनी पनि डाक्टर बन्न चाहन्छिन्। तर सञ्जय अब डाक्टरी पेसा पहिले जस्तो नरहेको बताउँछन्।
'पहिलेसम्म सम्मान र आम्दानी दुवै राम्रो थियो। अहिले त्यो अवस्था कम हुँदै गएको छ। डाक्टर बन्न धेरै लामो समय पढ्नुपर्छ। करिब १४ वर्ष पढेपछि मात्रै विशेषज्ञ भएर काम सुरू हुन्छ। त्यति बेलासम्म अरू क्षेत्रमा लाग्नेहरू आफ्नो करिअरमा धेरै अघि पुगिसकेका हुन्छन्,' उनले भने।
सञ्जय बेलाबेला आमाबुबालाई भेट्न नेपाल आइरहन्छन्।