परराष्ट्र मन्त्री शिशिर खनालले तिब्बती क्षेत्रमा आएको भूकम्पपछिको हिमपहिरोका कारण रसुवामा बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना प्राप्त भएको बताएका छन्।
सरकारको तर्फबाट घटनाबारे जानकारी दिँदै खनालले बाढीका कारण नेपालको रसुवाको टिमुरे, स्याफ्रुबेसी र नुवाकोटको त्रिशूली, बेत्रावती र बट्टार लगायतका क्षेत्रमा क्षति पुगेको जानकारी दिए।
प्रतिनिधि सभाको बैठकमा मन्त्री खनालले ८ बजेर ३७ मिनेटमा उक्त क्षेत्रमा भूकम्प गएको सूचना प्राप्त भएको उल्लेख गरे।
'प्रारम्भिक सूचना अनुसार ८ बजेर ३७ मिनेटमा त्यो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिमपहिरो झरेको र त्यसका कारण बाढी आएको प्रारम्भिक सूचना आएको छ', मन्त्री खनालले भने, 'त्यसलाई थप भेरिफाइ गर्नुपर्ने आवश्यकता देखिन्छ।'
उनले घटनामा परेर केही नेपालीले ज्यान गुमाइसकेको सूचना सरकारलाई प्राप्त भएको उल्लेख गरे।
बिहान करिब ८ बजेर ४० मिनेटमा बाढी गएको उनले संसदमा जानकारी दिए।