काठमाडौं किर्तिपुर ५ भत्केपाटीमा सय वर्षभन्दा बढी पुरानो पुरातात्विक कुवा गायव भएको छ। नुवाकोट विदुरका शिवराम खड्कासँग किर्तिपुरकै सानु धिमालले कुवासँगै जोडिएको जग्गा किनेपछि धिमालले कुवा आफ्नो जग्गामा पारेका हुन ।
उनले कुवा आफ्नो जग्गामा पारेपछि स्थानीय विरोधमा उत्रिएका छन् । खड्कासँग किनेको ५ आना ३ पैसा १ दाम जग्गामा कुवा र कुवाले चर्चेको जग्गासमेत मिलाएर जग्गा ६ आना २ पैसा ३ दाम बनाएका छन् ।
उनले नापी विभागमा समेत सेटिङ मिलाएर कुवा हडपेको स्थानीयले आरोप लगाएका छन् ।
कुवा भएको जग्गा हडपेपछि धिमालले अहिले त्यहाँ घर बनाइरहेका छन् ।
स्थानीयले घर बनाउन अवरोध गरेपनि धिमालले जिल्ला प्रशासन कार्यालय र अदालतबाट आदेश ल्याएर घर बनाइरहेको पुर्व वडाअध्यक्ष हिमाल कार्कीले बताए।
'उनले घर बनाउन थालेपछि हामीले कुवा खोज्यौं', कार्कीले भने, 'पछि उनी अदालत गए, कुवा नभएको नक्सा पेश गरे, अदालतले पनि घर बनाउन नरोक्नु भन्ने आदेश दियो।'
कुवाका विषयमा किर्तिपुर नगरपालिकाका मेयर र उपमेयरले पनि यस विषयमा कुवा नहडप्न आग्रह गर्दै आइरहेको छ।