चितवन रत्ननगर–१५ का जीवन घलानको बाल्यकालमा राम्रै बितिरहेको थियो। उनी अरू साथीभाइ सरह हिँडडुल गर्थे, दौडिन्थे, उफ्रिन्थे, खेल्थे।
दस वर्षको उमेरमा उनको शरीरमा केही समस्या देखिन थाल्यो। बिस्तारै उनका हात, खुट्टा कम चल्न थाले। शारीरिक समस्याले साथीभाइसँगको संगत छुटाउँदै लग्यो।
परिवारले उनलाई धेरै अस्पताल पुर्यायो तर रोग पत्ता लागेन। करिब दस वर्ष उनी 'अन्डरग्राउन्ड' जस्तै बसे। उनको साथीसँगको संगत नै टुट्यो। घरभित्रै बसिरहँदा चिन्ताले समस्या झन् बल्झिन थाल्यो।
भारत पुगेपछि मात्रै थाहा भयो उनको समस्या 'मस्कुलर डिस्ट्रोफी' रहेछ। भारतमा रोग त पत्ता लाग्यो तर निको भइहाल्ने उपचार भेटिएन। उनी अचेल रोगलाई बढ्न नदिन औषधि खान्छन्, फिजियोथेरापी गर्छन्।
गीत, संगीतमा रूचि भएका जीवनले ६ वर्षअघि 'नेपाल आइडल' मा भाग लिएका थिए। उनलाई भाइले बोकेर अडिसन र थिएटर राउन्ड हुने ठाउँसम्म पुर्याएका थिए।
अहिले पनि जीवनको शारीरिक अवस्था उस्तै छ। तर पहिलेजसरी घरभित्रै थन्किनुपरेको छैन। करिब एक वर्षदेखि ट्राइसाइकल (तीनपांग्रे विद्युतीय साइकल) ले उनको जिन्दगी खुसी बनाइरहेको छ।
उनी अचेल भरतपुरस्थित नारायणी बहुप्राविधिक शिक्षालयभित्र रहेको इन्फिनिटी ल्याबमा निर्माण गरिएको विद्युतीय ट्राइसाइकल चढेर मन लागेको ठाउँमा पुग्छन्।
'मेरो जस्तो समस्या भएका मान्छेका लागि खुसी असाध्यै ठूलो कुरा हो। यसले जीवन अघि बढाउन प्रोत्साहन गर्छ। अचेल ट्राइसाइकलले मलाई धेरै सजिलो भएको छ। मान्छेसँग घुलमिल हुन पाएको छु। घरमै स्टुडियो बनाएर म्युजिक एरेन्जको काम गर्छु। नजिकै सांगीतिक कार्यक्रम हुँदा सहभागी हुन्छु,' जीवनले भने, 'अरूको सहायताबिना कार्यक्रमस्थल पुग्न सक्दा खुसीको सीमा रहँदैन। मेरो जिन्दगीमा हराएको खुसी फर्किएको छ।'
जीवन केही महिनाअघि 'नेपाली सिंगिङ स्टार' मा सहभागी भएर टप १२ सम्म पुगेका थिए। यो ट्राइसाइकल किन्न उनलाई रत्ननगरको वडा नम्बर–१५ ले आर्थिक सहयोग गरेको थियो।
इञ्जिनियर सुनिल परियारले नारायणी बहुप्राविधिक शिक्षालयसँगको सहकार्यमा सञ्चालन गर्दै आएको इन्फिनिटी ल्याबले जीवन घलानजस्ता धेरैको जीवनमा खुसी फर्काएको छ।
जीवन घलान (ट्राइसाइकलमा) सँग सुनिल परियार (बसेका)भरतपुर–१० का सुनिलले नारायणी माध्यामिक विद्यालय भरतपुरबाट एसएलसी, काठमाडौंस्थित इन्टेन्सिभ इन्टरनेसनल एकेडेमीबाट प्लस–टू उत्तीर्ण गरेर सन् २०१४ मा नेपाल इञ्जिनियरिङ कलेजबाट इञ्जिनियरिङ पास गरेका थिए।
उनको चाहना काठमाडौं उपत्यकाको पर्यटन क्षेत्र विषयमा काम गर्ने थियो। त्यसका लागि सँगै पढेका अन्य तीन जना साथीसँग मिलेर अध्ययन पनि गरेका थिए। तर यस विषयमा सरोकारवाला निकायकै ध्यान गएन।
सन् २०१५ मा भूकम्प गयो। त्यसपछि उनको ध्यान पनि मोडियो।
भूकम्पले धेरै मान्छेलाई घाइते बनाएको थियो। उनीहरू जागिरसँगै भूकम्पको असरबारे अध्ययन गर्न थाले।
'नेपालमा ह्विलचेयर विदेशबाट आउने रहेछ। अपांगता भएकाहरू महँगो मूल्य तिरेर किन्न बाध्य रहेछन् भन्ने थाहा भयो,' ३५ वर्षीय सुनिलले भने, 'अपांगता भएकाहरूले आवश्यकता अनुसारको ह्विलचेयर नपाउने रहेछन्। त्यसपछि हामीले नेपालमै ह्विलचेयर बनाउन अध्ययन थाल्यौं।'
कक्षा ९ पढ्दा नै रिमोट कन्ट्रोलबाट चल्ने कार र क्रेन निर्माण गरेर मध्यमाञ्चल स्तरीय विज्ञान प्रदर्शनीमा प्रथम भएका थिए सुनिल। सन् २०१२ मा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा भएको प्रदर्शनीमा एसियाको 'बेस्ट मेकानिकल डिजाइन अवार्ड' पनि पाएका थिए। उनलाई पहिल्यैदेखि नयाँ खोज र अनुसन्धानमा रूचि थियो। आफ्नो रूचिको विषयलाई नै पेसा बनाउने निधो गरे।
त्यसपछि चार जना इञ्जिनियरले १५/१५ हजार रूपैयाँ लगानी गरेर ह्विलचेयर बनाउनेबारे अध्ययन थालेको सुनिलले बताए।
दुई वर्ष अध्ययनपछि तयार भयो 'लियोपार्ड'।
यो उनले अपांगता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्धति केन्द्र (सिआइएल) काठमाडौंसँगको सहकार्यमा बनाएको नेपालकै पहिलो स्मार्ट विद्युतीय ह्विलचेयर थियो। यो तयार पार्न ३ लाख रूपैयाँ खर्च लागेको उनी बताउँछन्। तत्कालीन अर्थ राज्यमन्त्री उदयशमशेर राणाले यो ह्विलचेयर सार्वजनिक गरेका थिए।
समूहमा रहेकामध्ये तीन जना इञ्जिनियरहरू अहिले नेपाल बाहिर छन्। सुनिलले हार मानेनन्। उनले म्यानुअल ह्विलचेयर बनाउने काम पनि सुरू गरे।
'युरोपियन देश सनमारिनोले नेपालका भूकम्प प्रभावितलाई ३२ वटा ह्विलचेयर सहयोग गर्न लागेको रहेछ। त्यो काम इन्फिनिटी ल्याबले पायो। बालाजु स्कुल अफ इञ्जिनियरिङसँग सहकार्य गरेर ह्विलचेयर तयार पार्यौं,' उनले भने।
यो कामले उनको हौसला अझै बढायो। व्यक्तिको आवश्यकता अनुसारका थप विद्युतीय र म्यानुअल ह्विलचेयर निर्माण गर्दै गए। सुनिलको नेतृत्वमा निर्माण भएका विद्युतीय ह्विलचेयरहरू स्विट्जरल्यान्ड र टर्कीमा भएका 'सस्टेनएबल डेभलपमेन्ट गोल्स' मा पनि पुगेका थिए।
'कोरोना महामारीको समयमा विदेशबाट ह्विलचेयर आउन बन्द भयो। यसको असरले नेपालमा मूल्य बढ्यो। अनि त हामीले माग धान्नै सकेनौं,' उनले भने, 'हामीले सकेजति बनाउँदै आएका छौं।'
इञ्जिनियर सुनिलले दुई वर्षदेखि भरतपुर–१० स्थित नारायणी बहुप्राविधिक शिक्षालयसँग सहकार्य गरेर शिक्षालय परिसरमै ल्याब स्थापना गरेर ह्विलचेयर बनाइरहेका छन्।


यो सिटिइभिटीका पाठ्यक्रम पढाइ हुने शिक्षालय हो। यहाँ पढ्ने उत्कृष्ट २५ जना विद्यार्थीलाई ल्याबमा अभ्यास गराइने शिक्षालयका प्रशिक्षक रामबाबु अधिकारीले बताए। यसमार्फत् विद्यार्थीले प्रयोगात्मक ज्ञान प्राप्त गरेको र दक्ष जनशक्ति तयार भइरहेको उनी बताउँछन्।
चितवनमा मात्रै अहिले करिब पाँच हजार जना ह्विलचेयर प्रयोगकर्ता रहेको अनुमान छ। २०७८ सालको जनगणना अनुसार देशभरमा २.२ प्रतिशत व्यक्ति अपांगता भएका छन्। नेपालमा भारत र चीनबाट आयात हुने ह्विलचेयरको प्रयोग बढी हुन्छ। तर बजारमा सबैलाई उपयुक्त हुने ह्विलचेयर पाइँदैन। त्यसैले अपांगता भएकाहरू मेडिकल ह्विलचेयर प्रयोग गर्न बाध्य छन्।
'बजारमा बच्चाका लागि उपयुक्त हुने ह्विलचेयर नै पाइँदैन। हामी अपांगता भएका व्यक्तिको नाप र आकार अनुसारको ह्विलचेयर बनाएर उपलब्ध गराउँछौं। राम्ररी अध्ययन गरी उनीहरूको समस्या पहिचान गरेर निर्माण गर्छौं,' सुनिलले भने, 'यसरी निर्माण गरिएको ह्विलचेयरको मूल्य बजारमा पाइनेको भन्दा बढी त पर्छ तर गुणस्तरीय हुन्छ।'
भरतपुरको ल्याबले अहिले दस प्रकारका ह्विलचेयर बनाइरहेको उनले जानकारी दिए। म्यानुअल ह्विलचेयर २५ देखि ७५ हजार रूपैयाँसम्म बिक्री हुन्छ। यो ल्याबबाट अस्पताल तथा अपांगता भएकाहरूलाई चाहिने वाकर, टिल टेबल, फोल्डिङ बेड, ह्विलचेयर र्याम्प लगायत सामग्री पनि उत्पादन हुन्छ।
उत्पादित सामग्री चितवन तथा विभिन्न स्थानका अस्पतालले पनि किन्ने उनले बताए। यहाँबाट घरेलु चुह्लो, कृषि उपकरणदेखि रोबोटसम्म आविष्कार गर्ने लक्ष्य राखेको उनी बताउँछन्।
यसका साथै बिग्रिएका ह्विलचेयर मर्मतको काम पनि यहाँ हुन्छ। दुई वर्षमा यहाँ चार सय वटाभन्दा बढी ह्विलचेयर मर्मत गरिएको छ। यो ल्याबले साइकल मर्मत गर्ने व्यक्तिहरूलाई ह्विलचेयर मर्मतको तालिम पनि दिन्छ। ल्याबमा सिकेका विद्यार्थीहरूले यस्तो तालिम दिन्छन्। अहिलेसम्म करिब एक सय जनालाई तालिम दिइएको सुनिलले बताए।
'हामीले ठूलो लगानी गर्न नसकेकाले सानो परिमाणमा ह्विलचेयर बनाइरहेका छौं। यो ल्याबलाई ठूलो उद्योगका रूपमा विकास गर्न सकिने सम्भावना छ। त्यसका लागि ठूलै बजेट चाहिन्छ। हामी अहिले लगानीकर्ताको खोजीमा छौं,' उनले भने, 'सरकारी निकायले अनुदान सहयोग गर्यो र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने नीति लियो भने सहज हुन्छ। उपभोक्ताले सस्तोमा स्वदेशी गुणस्तरीय उत्पादन प्रयोग गर्न पाउँछन्।'
सुनिलको चाहना अहिले सञ्चालन भइरहेको ल्याबलाई आविष्कार केन्द्र बनाउने छ।
'अन्य युवाहरू जसरी विदेश गएर पैसा कमाउने अवसर मसँग पनि थियो। तर सधैं सरकारको लगानीमा पढेकाले होला, यही देशमा केही गरौं भन्ने सोचले मलाई विदेश जानबाट रोक्यो। म यहीँ बसेर नयाँ आविष्कारहरू गर्न चाहन्छु,' सुनिलले भने।