काठमाडौंका डेरामा अनेकथरिका केटाहरू बस्छन्। हरेक कोठाबाट कुनै न कुनै स्वरूपको धुवाँको गन्ध बाहिर आइराख्थ्यो। कुनै कोठाबाट गाँजाको, कुनै कोठाबाट अगरबतीको। कोही केटाहरू बन्द कोठामै संसारभरिकै नि:शब्दतालाई खन्याएर दिनभरि लोक सेवाको किताबमै झुलेर बस्थे भने कोही केटाहरूको कोठाबाट कौडा हानेकोदेखि लिएर तास फिटेकोसम्मको होहल्ला सुनिन्थ्यो।
हरेक कोठाको आआफ्नो कथा थियो, आआफ्नो ब्यथा थियो। साँझमा कुनै कोठामा भातसँगै कुखुराको मासुको हर्रर मीठो बास्ना आउँथ्यो भने कुनै कोठाबाट कुनै गन्ध आउँदैन थियो। कुनै पनि परिकारको बास्ना नआएको कोठालाई हेरी यो सहजै अनुमान गर्न सकिन्थ्यो कि आज त्यो कोठाको जारमा पानीको उचाइ दुई चार गिलासको कदमा घट्यो होला।
म अभ्यस्त थिएँ, हरेक कोठासित। कारण, छ महिनाअघि पोखराको डेराबाट काठमाडौंको यो डेरामा विशाल लक्ष्य समातेर आउँदा, पहिलोपटक मैले यही गल्लीको यही इमारतमा सानो कोठा भेटाएकी थिएँ।
अझ म युवती भएर हो कि मसित बोल्नका लागि केटाहरू दिलोज्यान दिएर आउँथे। मेरो रूम पार्टनर थिई, मेरी काकाकी छोरी, सबिता। जसको यही मंसिरमा विवाहको कुरा छिनिएकोले ऊ अचेल केटाहरूको छायासँग पनि तर्किएर हिँडिरहेकी थिई। पहिला, पहिला त केटाहरूसित सवालजबाफमा म दुई गियरमा थिएँ भने ऊ पाँच गियरमा थिई। साँच्चै भन्ने हो भने यो डेराले भरिएको घरले पूरै नेपालको प्रतिनिधित्व गथ्र्यो। एक रैथाने नेवारको काठमाडौंको छातीमा खोपिएर, आकासमा हाँगा फैलाएको यो विशालकाय इमारतमा ६० कोठा थियो। जसमा सातै प्रदेशका मानिसहरू बसेका छन्।
मेरी काकीकी छोरी नजिकिँदो आफ्नो विवाहको कारण महिना महिनामा आफ्नो घर जान थालेकी थिई। उनको रिक्ततामा, अनेक कोठाका केटाहरू अनेक बहाना गरी मेरो कोठामा आउने क्रम सुरू भएको थियो। कुनै विशेष काम लिएर मेरो कोठामा आए पनि उनीहरू सबैको नजर मेरो छातीमा झुन्डिएर बस्थ्यो। म आफूलाई असहज महसुस गर्थें र आफ्नो कुर्तालाई छातीमाथि तान्न खोज्थेँ।
सुरू, सुरूमा 'आज खरिदारको परीक्षा खुल्यो नि', 'नासुको खुल्यो नि', कोरियाको जाँच दिने होइन, अब यसपालि तिमीले अधिकृत भर्नुपर्छ है' जस्ता अनेकन कुरा गर्न आउँथे केटाहरू। 'हो र, नभर्ने यो पटक, कोरियाको कहिलेसम्म छ फर्म मिति, अधिकृत भर्न त बिबिएस पनि पास हुनुपर्यो नि' जस्ता जबाफ दिन्थेँ।
त्यसको भोलिपल्ट आउँदा तिनै केटाहरू 'पार्टनरसिपमा पढ्ने हो हामी, तिम्रो कोठा त शान्त छ त, तिमी कतै बाहिर जाँदा मलाई भाडामा दिएर जाऊ है' जस्ता अनेकन ठठ्ठा गर्थे।
मलाई केटाहरूको बानी राम्ररी थाहा थियो किनभने म यो कोठामा आउनुअघि नै दुईपटक केटाहरूको प्रेम चक्करमा परेर ब्रेकअप खाइसकेकी थिएँ।
पहिलो डेटमै च्याप समातेर सेक्स गर्न खोज्ने अहिलेका केटाहरू 'टाइमपास' सिवाय केही होइन भनी बुझेकी थिएँ। मलाई विगतमा प्रेमजालमा पारेर, धोका दिएका ती दुई केटाहरू हेर्दा सोझा खालका थिए। झुक्याएर, फुल्याएर होटलभित्र पुर्याइँदा पो चाल पाएँ, बाहिरी संसारमा भगवान् बुद्धको जस्तो सौम्य अनुहार लिएका केटाले पनि भित्र एक दर्जन भन्दा बढी राक्षस पाल्दा रहेछन्। भावनामा बगाऊ, उनीहरू मर्छन्, भावनामा बग आफू मर्नुपर्छ, फेरि कोही कोही त मर्ने होइन, मार्ने खालका हुन्छन् भनी मैले राम्ररी बुझेकी थिएँ। सायद उतिबेला मैले आफूलाई नसम्हालेको भए, मेरो यो अस्तित्व यो डेरामा हुन्थेन। दुईपटक पासो लगाएर पनि पासोबाट जिउँदै खसेपछि म आज यहाँ छु। सायद मेरो सपनाले डोरीको गाँठो खुकुलो बनायो या मेरी आमाको आँसुले मेरो डोरी चुँडाल्यो। जे होस्, म बाँच्न चाहिँ बाँचेँ।
आमाले त्यो बेला भन्नुभएको 'आत्महत्या चाहिँ नगरेस् है कान्छी' को शक्तिले मलाई बचायो।
अनि पोखरामा देखेका सारा सपना बिसाएर, सपनालाई यो ठूलो खाल्टोमा सारेँ। यसकारण केटाहरूलाई मेरो कोठामा प्रवेश भए पनि प्रेम निषेध थियो। बर्जित प्रेमको नियमलाई उल्लंघन गर्ने केटाहरूलाई एउटै जबाफ दिन्थेँ – 'नाइँ, मलाई यो चक्कर मन पर्दैन।'
यसपछि नियम उल्लंघन गर्ने केटाहरूलाई मेरो व्यवहार रूखो हुन्थ्यो।
घरकी कान्छी छोरी भएर हो कि, मेरो व्यवहार पहिलादेखि नै अलि रूखो थियो। म मनपर्ने मान्छेलाई औधि प्रेम गर्ने र मन नपर्ने मान्छेलाई छेउ नै पर्न नदिने स्वभावकी थिएँ। आफूलाई कुनै कुरामा चित्त दुख्यो भने म सराप दिने गर्थें। यसैले घरमा सराप पाउने डरले सबैले मलाई सधैं खुसी नै बनाउने कोसिस गर्दथे। एक हिसाबमा भन्ने हो भने मेरो परिवारमा मेरो छुच्याइँ मेरो हतियार थियो।
म एक्लै बस्ने भएर हो कि धेरै केटाहरूलाई चिढ्याएर हो त्यो डेरा घरमा मेरो बारेमा नराम्रो हल्ला चलाएको रहेछ। डेराभित्र अनेक केटाहरू भोगिन्छ। त्यही समयमा एउटा अचम्मको केटा भोगेँ। उसको नाम विनय हो। ऊ जम्मा एक महिना भएको थियो, यो घरमा कोठा सरेको। डेरा सरेको पहिलो दिनमै, ममाथि चलाएको अफवाह सुनेर हो कि, आगमनको पहिलो दिनदेखि नै मेरो छातीमा सिवाय उसको नजर अन्त थिएन। छातीमा नजर खोपेर मात्र नपुगी, के के बहानामा बोल्न आउन थाल्यो। एकदिन आफू 'काठमाडौंकै एक ठूलो पुस्तकालयको कर्मचारी भएकोले तिम्रो लागि भनेको पुस्तक ल्याइदिन सक्छु' भनी धाक लगायो।
बोल्नुसम्मलाई स्वाभाविक रूपमा लिएको थिएँ। कुरै कुरामा एकदिन 'तिमीलाई म एउटा उपन्यास उपहार दिन्छु' भन्यो। पुस्तक उपहारसम्मको कुरालाई मैले सहर्ष रूपमा लिएँ। एउटा पुस्तक उपहारको रूपमा त दियो, पढ्नको लागि खोल्दा उपन्यासभित्रबाट एउटी नायिकाको नांगो तस्वीर भुइँमा खस्यो। तस्वीरमा ठूलो ठूलो अक्षरले लेखिएको थियो – आइ लभ यू। त्यो खसाइसँगै त्यो केटो पनि मेरो नजरबाट सधैंको लागि खस्यो। त्यो किताब उपहार दिएको भोलिपल्ट त्यो केटोले मेरो कोठामा प्रवेश गरी मसित सिधै यौन प्रस्ताव राख्यो। सायद जीवनमा पहिलोपटक होला, संसारभरिको शक्ति थुपारेर हत्केलामा, उसको गालामा थप्पड जडेकी थिएँ। त्यो केटोको गाला पूरै रातो भएको थियो।
'तैंले सुनेकी जस्तो म केटी होइन, आइन्दा यस्तो प्रस्ताव गरिस् भने कानुनी उपचार खोज्ने' भन्दा त्यो केटो हच्क्यो। त्यसपछि त्यो केटो मेरो कोठाको छेउ पनि परेन। त्यो घटनालाई मैले पनि गोप्य नै राखेँ। त्यसको केही दिनपछि त्यो केटोको कोठामा एउटी युवतीको आउजाउ हुने गरेको देखेँ। त्यो केटी देख्दा मलाई असाध्यै माया लाग्थ्यो, किनकी त्यो केटाले त्यो केटीलाई कतिसम्मको उपयोग गरेर फाल्नेछ भनेर मैले अनुमान लगाइसकेको थिएँ। त्यो केटाको कोठामा आउँदा एउटा बान्कीको कपाल, जाँदा अर्कै बान्कीमा जाने भएकीले त्यो केटीलाई बजारिया केटीको नजरले हेर्दथेँ। अरूको नग्नतामा आफ्नो प्रेम पोख्नेहरूले नग्न प्रेमसिवाय अरू कस्तो प्रदर्शित गर्ला भनेर मेरो मनले ठान्दथ्यो।
मेरो रूखो बोलीले गर्दा हो कि 'हामी प्रेममा परौँ न' भनेर प्रस्ताव गरेका आधा जति केटाहरू, यो 'केटीबाट केही पार लाग्दैन' भन्ने खालको चेतना विकासले मेरो कोठामा आउनै छोडिसकेका थिए। उनीहरूले मेरो हरेक क्रियाकलापलाई वास्तै गर्न छोडिसकेका थिए। म बार्दलीको गमलामा पानी दिँदा पनि उनीहरूले आँखा तर्ने गर्थे। अझ मलाई चिढ्याउने हेतुले बाहिरबाट अनेकथरिका केटीहरू ल्याएर म झ्यालमा उभिरहेको बेला आफ्नो झ्यालको पर्दा खोल्थे र चुरोट साझेदारी गर्दै जिस्किरहन्थे। भाडामा ल्याएका हुन् कि आफ्नै प्रेमिका हुन् मलाई पनि कुनै मतलब थिएन। म प्रतिक्रियाविहीन भएर आफ्नो झ्यालको पर्दा तान्थेँ। त्यसपछि कोठाहरूबाट केटाकेटीको अपार सन्तुष्टिको हाँसोमय कोलाहल सुनिन्थे।
अनेक केटाहरूको उस्ताउस्तै देखिने बानीब्यहोरा हेर्दै आएकी भए पनि त्यो घरभरि एउटा केटाको व्यवहार भने अनौठो थियो। यत्रो भैसक्यो म यो घरको कोठामा बसेकी। उसले मसित बोल्नु त के, यसो आँखा जुध्ने गरी हेरेको पनि याद थिएन। बरू म उसलाई हेर्ने कोसिस गर्थेँ, तर उसलाई मेरो हेराइको कुनै मतलब थिएन। म आफै अचम्मित थिएँ, कस्तो खालको केटा हो यो। बस्थ्यो एक्लै, खान्थ्यो एक्लै, हिँड्थ्यो एक्लै। अरू सबै केटाहरूको बारेमा मलाई राम्ररी थाहा थियो, उसको बारेमा मलाई केही अत्तोपत्तो थिएन। सायद यही रहस्यले हो कि मलाई उसको रहस्य खोतल्न औधि मन लाग्थ्यो। कागतालीमा कहिलेकाहीँ भेट हुँदा मेरो ओठ सवाललाई छुँला छुँला जस्तो गरी कम्पित हुन्थ्यो। ऊ एकक्षणमा अलप भैहाल्थ्यो। सायद ऊ नै संसारको पहिलो ब्यक्ति होला, जसको नजर मेरो उचालिएको छातीमा टेकेन। उसको नाम नै मैले 'सोझो केटो' राखेकी थिएँ।
एकदिन भारत र पाकिस्तानको क्रिकेट खेल भैरहेको हुनाले डेराभरिका केटाकेटीहरू आआफ्नै कोठामा झुमिरहेका थिए। संयोगवश, त्यो सोझो केटोसित मेरो भेट पानी आउने धारामा भयो। संयोगले त्यो दिन पानी भर्ने हामी दुई जना सिवाय कोही थिएन।
नसोधुँ भन्दा पनि मेरो मुखबाट प्रश्न चिप्लिहाल्यो, 'तिम्रो नाम के हो ?'
'आकास।'
'मैले त तिम्रो नाम मनमनै के राखेको थिएँ, थाहा छ?'
'के ?' उस्ले प्रश्न गर्यो।
'सोझो केटो!'
अब भने ऊ हाँस्यो मरी मरी।
ऊ दिल खोलेर हाँसेको पहिलोपटक देखेकी थिएँ। ऊ हाँस्दा गालामा सृजित भएका डिम्पलहरूमा मेरो दिल खस्यो। त्यो बेलाको अपार आकर्षणले हो कि केको प्रभावले, 'मेरो नाम अनिता है' भन्दै उसलाई कहिलेकाहीँ मेरो कोठामा आउन निम्तो गरेँ। एक हिसाबमा भन्ने हो भने म त्यो सोझो केटोसित उसके पहिलो हाँसोमै भित्रैदेखि आकर्षित भएँ। यसैकारण उसले नसोधे पनि मैले आफूलाई अनितामा चिनाएँ।
यसरी बोलेको भोलिपल्टबाट ऊ मेरो कोठामा कुनै न कुनै बहानामा आउन थाल्यो। बहाना लिएर आए पनि, नलिए आए पनि उसको आगमनले मेरो कोठा सुगन्धित हुन्थ्यो। उसको सामिप्यतालाई अन्तरमनबाट रूचाउन थालेकी थिएँ। हुँदाहुँदा हामी दुबै निकै खुलिसकेका थियौं। प्रेम प्रस्ताव नगरिकनै हामी एकअर्कोको प्रेममा परिसकेका थियौँ। सपना तन्किएर, सपना रंगिएर, सिन्दुरसम्म पुगिसकेको थियो। कहिलेकाहीँ म उसको कोठामा सुत्न जान्थेँ भने ऊ मेरो कोठामा सुत्न आउँथ्यो। हामी राति सँगै सुत्ने गरेको हल्ला डेराघरभरि चल्यो। मेरो यही कमजोरीलाई लिएर, उतिबेला मैले भाउ नदिएर पन्छाएका केटाहरूले मेरो चरित्रहत्या गर्न थाले। एकदिन घरबेटी बालाई मैले स्पष्टीकरण नै दिनुपर्ने अवस्था आयो र मैले स्पष्टीकरणमा यो बोलेँ, 'हाम्रो नाजायज सम्बन्ध होइन, बा। हाम्रो सम्बन्ध पतिपत्नीकै हो। हामीले विवाह नै गरिसकेका छौँ। अब चाँडै तपाईंको एउटा कोठा हामी तपाईंलाई सुम्पिँदैछौँ।'
घरबेटी बाले भन्नुभयो, 'उसो भए सिन्दुर लगाएर बस न।'
मैले भनेँ, 'चाँडै लगाउँछु बा।'
घरबेटी बाले नै स्वीकारेपछि डेराभरिका केटाकेटीहरू चुप लागे। आखिर त्यो घरको डेरामा बस्ने सबै केटीहरू सिन्दुर बिनाकी दुलही न हुन्।
समय बित्दै गयो। सोझो केटोसितको मेरो प्रेम बढ्दै गएको थियो। केही समयमा नै अब एउटा कोठा घरबेटी बालाई नै सुम्पेर, एउटै कोठा साझेदारी गर्ने निर्णय गर्यौं। त्यो सुम्पिनुअघि अग्निलाई साक्षी राखेर एकाकार हुने पनि निर्णय गर्यौं।
त्यो निर्णय गरेको केही समयपछि त्यो सोझो केटो मेरो कोठामा आउन कम हुन थाल्यो। ऊ मलाई अलि बेवास्ता गरेको जस्तो व्यवहार गथ्र्यो। दिनमा एकपटक मात्र मेरो कोठामा आउँथ्यो र 'म मेरो बिबिएसको परीक्षा भैराखेकोले मलाई एक महिना जति डिस्टर्ब नगर है' भनेर जान्थ्यो।
उसको परीक्षा होला भनेर मैले पनि खासै डिस्टर्ब गरिनँ। सायद एक महिना जति हामी एउटै डेराघरमा बसेर पनि टाढिएका थियौँ। दश, बाह्र दिनको अवधिमा कहिलेकाहीँ मेरो कोठामा सुत्न चाहिँ आउँथ्यो। सोझो मान्छे भएर होला, ऊप्रति कुनै शंका र उपशंका राखेकी थिइनँ।
एक साँझको कुरा हो, मेरो कोठामा ढकढकको आवाज आयो। मैले त्यही सोझो केटो होला भनेर ढोका खोलेँ। एक नवजोडी बिदाइ लिन आएको रहेछ। म छक्क परेँ, त्यो नवजोडीमा दुलहा विनय थियो भने दुलहीमा त्यही युवती, जो उसको कोठामा बारम्बार आउँथी, जुन केटीलाई म चुरोटमा मात्र देख्थेँ। तर, आज आफैले गिराएकी युवतीलाई चुरोटको ठुटामा होइन कि, लामो सिन्दुरको धर्कोमा देखेँ।
विनयले भन्यो, 'हामी विवाह गरेर आज गाउँ फर्किंदै छौं सदाको लागि। पर्सि हामी विदेश जान लाग्या, मलाई डिभी परिरा थियो। आज गाउँ जाने र पर्सि अमेरिकाको लागि उड्ने साइत जुर्यो।' विनयलाई देख्नेबित्तिकै नायिकाको नांगो फोटोको याद आए पनि, कता कता आज आएर 'नांगिनेलाई नंग्याए पनि प्रेमलाई ढाक्न जानेको रैछ यो केटो' ले जस्तो लाग्यो।
त्यो साँझ पनि आकास मेरो कोठामा आएन र म पनि थाकेर भुसुक्क निदाएँ। भोलि बिहान उठ्दा पनि आकास मेरो कोठामा आएन। दश दिन जति भैसकेकोले आकास मेरो कोठामा आउला कि आउलाको आसमा बसिरहेँ। आज दिनभरि आकास आउँदै आएन। आकासको दिनभरिको अनुपस्थितिमा मैले उसको कोठासँगै जोडिएको कोठाको नयाँ भाइलाई सोधेँ, 'भाइ त्यो आकास कहाँ गयो? दिनभरि पर्दा नै खुलेन उसको कोठाको।'
'को आकास ?'
'त्यही क्या, तपाईंको कोठासित जोडिएको कोठामा बस्ने।'
'ए, त्यो, लँ दिदीलाई थाहा छैन र, त्यो केटा त कोरियामा नाम निकालेर आज बिहान आठ बजे नै निस्क्यो नि।आज ४ बजे फ्लाइट छ भन्दै थियो उसको।'
शंका र उपशंकाले पसिना खलखली भएँ।
मोबाइल निकालेर मेसेन्जरमा हेरेँ, ब्लक गरिसकेको थियो। फेसबुकमा कतै भेटिएन। अब मलाई लाग्यो, सामाजिक सञ्जालको कुनै पनि कुनामा त्यो डेरामा बस्ने केटो भेटिँदैन। मलाई धोका दिएर ऊ परदेश उडिसकेको रहेछ।
यसो घडी हेरे, चार बजेर पन्ध्र मिनेट गएको रहेछ। मन नै चर्केर आयो। आफूलाई उभिन पनि कसैको सहारा चाहिए जस्तो भयो। महिनावारी रोकिएको थियो। भित्रैदेखि डर लागेर आयो। आकासमा हुनुनु हवाईजहाजको आवाज आयो। पर्दा तानेर यसो हेरेँ। सायद त्यो विमान उसलाई नै बोकेर उडिरहेको हुनुपथ्र्यो र जहाज कुनै डाँडातिर बतासिएर गइरहेको थियो। मनभित्र एउटा आवाज गुन्जायमान भयो, त्यो विमान त्यही डाँडामा ठोकियोस् र चकनाचुर होस्। आफैप्रति धिक्कार लाग्यो, लामो सुस्केरा फेर्दै सोचेँ, कैयन 'प्लेबोय' हरूलाई मैले जीवनमा छलेँ, आज त्यो 'सोझो केटो' ले मलाई छल्यो।
मनमा नानाभाँतिका कुराहरू खेलिरहेको थियो। मनभित्रको हल्लालाई चिर्दै बाहिर अर्को हल्ला फैलिन थाल्यो। हामी बस्ने घरका प्रत्येक झ्यालहरू खुलेर पल्लो घरमा हेर्न थाले, जहाँ मान्छेहरू भेला भएका थिए। त्यो भिडलाई चिरेर हेर्ने हो भने एउटा ठूलै दुर्घटना पत्ता लाग्ने कुरामा सहजै अनुमान गरेँ। सँगै कोठामा बस्ने भाइ घटनालाई बुझेर आइरहेको रहेछ। मलाई नि कौतुहल भयो।
मैले सोधिहालेँ, 'भाइ, त्यो पल्लो घरमा के भएको रहेछ?'
उसले जबाफ दियो, 'लौ, तपाईंलाई थाहा छैन र, त्यो घरमा डेरामा बस्ने एउटी केटी झुन्डिएर मरेकी रैछ।'
'किन?'
'विचरी, प्रेममा धोका पाएकी रैछे।'
'कसले दियो र धोका?'
'त्यही घरमा डेरामा बस्ने केटाले। हेर्दा सोझो छ त्यो केटो, धोका देला भनेर मैले सोचेको पनि थिइनँ। केटीको भावनासँग त मजाले खेलेर गएको रहेछ।' पल्लो कोठाको भाइ गयो।
म अवाक् भएँ।
मैले आफ्नो मन दह्रो बनाएँ, 'म झुन्डिनँ, म झुन्डिनँ, म झुन्डिनँ।' त्यति नै बेला घरबाट आमाको फोन आयो। आमाको फोन उठाएँ। हेलो भन्नेबितिकै उताबाट आमाले बोल्नुभयो, 'ल तेरो विवाहको कुरा छिन्न लागेका छौँ। केटो सोझो छ, तँ के भन्छेस्?'
मैले जबाफ दिएँ, 'आमा, म सोझो केटोसित विवाह गर्दिनँ।'
'किन र?' आमाले प्रश्न गर्नुभयो।
'केटाहरू कोही सोझा हुन्नन् आमा। सबै त्यस्तै हुन्। सोझा थाल्नु त हाम्रो भ्रम हो। सलाइका काँटी जस्ता हेर्दा सुन्दर, आगोको रूपमा हेर्नुपर्छ, जंगल नै बालिदिन सक्छन्।'
आमाले भन्नुभयो, 'फेरि धोका पाइस् है।'
मैले यति मात्र बोलेँ 'अँ, यो पटक त महिनावारी पनि रोकिएको छ।'
'केटो कहाँ छ त धोका दिएर जाने?'
'कोरिया'
'आत्महत्या चाहिँ नगरेस् है कान्छी। केही हुन्न। म अहिले आउँदै छु त्यहाँ। बच्चा त तुहाउन मिलिहाल्छ नि।'
आमाले सान्त्वनाको लागि यति बोल्नु भएको थियो। त्यसपछि आमाको हिक्कहिक्क आवाज मात्र सुनिरहेँ। काठमाडौं सहरको एक अनकण्टार डेराभित्र बसेर अहिले म आमाको हिक्क हिक्कमा आफ्नो हिक्क हिक्क पनि मिसाउँदै छु। मनले बाटो देखायो, मर्ने। आमाले बाटो देखाउनुभयो, मार्ने। मैले यो समयमा निर्णय नै गर्न सकिरहेकी छैन, फूल झार्ने कि कोपिला? आमा, काठमाडौंको यो गल्लीसम्म आइपुग्न अझै २४ घण्टा बाँकी छ।