'तिमी बुढो भएछौ दिवाकर'
'तन कि मन ?' उसका गम्भीर आँखा उसैगरी 'म' मा मात्र अडिए जसरी वर्षौं पहिले भिडहरू माझमा पनि केवल मेरै उपस्थितिमा केन्द्रित रहन्थे यी आँखा।
मैले ध्यानपूर्वक हेरें उसका आँखाको गाम्भीर्यता झन् बढेछ, उसै त स्थिर समुन्द्रका विशाल ज्वारभाट जस्ता प्रभावशाली थिए उसका प्रत्यक हेराई।
म मौन रहेपछि ऊ बोल्यो 'मेरो प्रश्न त्यति असजिलो थिएन र पनि तिमीलाई अल्मल्यायो अतितले।'
फिस्स हाँस्यो ऊ 'अतितको धर्म नै अलमलाहट हो।'
'तिमीजस्तै परिपक्क बनेछन् दिवाकर तिम्रा कपाल र दाह्रीका रंग पनि। मन त पहिले नै बुढो थियो, निधारका गाढा रेखाहरूको सुरक्षार्थ सिमानामा तैनाथ सिपाइ जस्ता देखिने यी सेता रौंहरू हेर्दा यस्तो लाग्छ मान्छे बुढ्यौली लाग्दा जाँदा श्वेत ऊर्जागामी लक्षण पो देखिने हो कि मानौं फुलेका कपाल उज्याला ऊर्जाको संकेत गर्छ।'
मेरो मनोवाद बुझ्यो या नबुझी बोल्यो ऊ, 'याद छ तिमीलाई मैले आजभन्दा ९ वर्ष पहिले सुरूको भिडिओ कलमा छुट्नै लाग्दा ढोकानेर उभिएर भनेको थिएँ 'मसँग सबैथोक छ सरिता जी मलाई तपाईं मात्र भए पुग्छ।'
सुनेर मेरो कल्पना पहिलो संवादको अवस्थामा फर्कियो जसले गर्दा उसको अहिलेको कुरामा ध्यान पुगेनछ मेरो। कुटिल मुस्कान फ्याँक्दै दार्शनिक अदामा प्रस्तुत भयो ऊ, 'भनेथें नि स्पष्ट नहुँदासम्म अतित अलमलाहट हो।'
'तिमी कति सजिलै बुझ्छौं दिवाकर मलाई। म जस्तो बेढंगी बतासलाई आकार दिन सजिलो काम त होइन, कमसेमक म आफूलाई यति जान्दछु,' मैले चियाको लामो चुस्कीमा अधरको सरल स्वाद मिसाएर बोलें।
'मेरो त नामै दिवाकर घामजस्तो छु, घामलाई धर्ती बुझ्न कठिन होला?' उसले मुस्कुराउँदै चियाको कप उठायो र पुरानै तरिकाले परैबाट चियर्स गर्यो। पहिलो र अन्तिम घुड्को चियाका लागि कप उठाउँदा सांकेतिक चियर्स गर्ने उसको कलात्मकता पनि लोभलाग्दो बन्छ, यस्तो बेला ऊ यौवनको मध्यविन्दुमा उभिएको सुन्दर कलाकार जस्तो लाग्छ मलाई।
मैले मनमनै सोचें 'दिवाकर जति नै भाग्न खोजे पनि तिमीसम्म नै आएर जोडिन्छ मेरो यात्रा। जस्तो कि जीवनरूपी खोला जताबाट जहाँ बगे पनि लक्ष्यगत अन्तिम बिसौनी परमशान्ति सागर बनिदिन्छ।'
आज पनि मैले धेरै कुरा व्यक्त गर्न सकिरहेको छैन, अहिलेको जमानामा यो लभ स्टोरी 'छेउ न टुप्पो माझमा झुप्पो' अवस्थामा गुज्रिँदै आएको छ, तै पनि फेरि रोचक भने छ यो कथा थाहा पाउने, नपाउने दुवैका लागि।
'जहाँ रहस्य त्यहीँ रोचकता' मेरो मनोवादको सार ओठबाट निस्कियो, उसले मतिर नहेरी सानो स्वरमा भन्यो 'ठिक भनेउ' र अनायास गुनगुनायो गुल्जारको सुपरहिट गाना 'मेरा कुछ सामान तुम्हारे पास पडा है.....'
'उफ् यो समय कसरी समान्य देखिउँ म? एक पटक अंगालोमा बाँधिएर रोऊँ या सानो बच्चाको प्रफुल्लित हृदय बोकेर एक सफेद गहिरो चुम्बन दिउँ?' जसमा कामुमताविहीन बेहिसाव प्रेम होस्। तर हातसम्म मिलाउन नसकिएको यो प्रेम कपोलकल्पित कहानी जस्तो थियो। आफैदेखि रिस उठ्छ 'हैट यत्तिसम्म पनि नहोस् प्रेममा सम्मान।
'मैले भनेको थिएँ नि सरू' टेबलमा दायाँ हात अडाएर केही झुकेका र केही उठेका नजरका तीर ममा प्रहार गर्दै ऊ केहीबेर अडियो र थप्यो, 'तिमीलाई मैले बाहेक कोही कसैले त्यसरी बुझ्नै सक्दैन जसरी तिमी आफूलाई बुझ्दछेउ र खासमा तिमी जो हौ। तिमी यस्तै बेपरबाह, लापरवाह र सन्की रहेकाले नै मेरो सर्वप्रिय छौ। तिमीलाई छुनुअघि धेरै पटक किन सोच्नु पर्यो मैले थाहा छ?
मैले अन्जान लयमा टाउको हल्लाएँ, ऊ बोलिरह्यो 'तिमी कोमल फूल जस्ती छौ जसलाई छुनु अघि आफ्ना लागि हो या मन्दिरका लागि मैले बढो गम्भीरतापूर्वक सोच्नुपर्ने हुन्छ।'
'हो दिवाकर तिमीसँग हुँदा मैले, मलाई बुझ्नुपर्ने झमेला समेत रहन्न तिमी यसरी बुझिदिन्छौ जस्तो कि आमासँग रहँदा बच्चा बिचारहरूबाट स्वतन्त्र रहन्छ।'
'त्यसैले तिमी यो नसोच कि हाम्रो कथाको अन्त्य हुनेछ हाम्रो सम्बन्ध सुरू मात्र हुन्छ अन्त्य हुँदैन। जस्तो कि तिम्रो बेपर्वाह अदा, सुरू त भैरहन्छ तर अन्त्य तिमी चाहन्नौ।'
उसले यो पटक मुस्कुराउँदै मेरो स्वभावगत शैलीप्रति लाक्षणिक व्यङ्ग्यको झटारो समेत हान्न भ्यायो।
'म यति लापरबाह अदागिरीको छु र त तिमी स्वतन्त्र छौ यो प्रेममा। नत्र त तिमीलाई पनि डर छ समाज र आफ्नै मान्यताहरूको। कहिलेकाहीँ मेरा अति कल्पनाको बेहोसीपनसँग पनि। ' मैले जानीजानी उसको चित्त दुखाएँ यो पटक।
निकैबेर उसका आँखा जमिनतिर झुके र कठोर भावको प्रश्न आयो 'सरू तिमीलाई आफ्नो ताल देखेर अचम्म लाग्दैन?' उसले अचानक निस्केको कडा लवजले मलाई स्तव्ध बनायो अहो! यतिका वर्षपछि भेटिँदा नि मनको अवस्था त उस्तै रहेछ हाम्रो। ऊ त्यही प्रेमी बनेर झोक्कियो, मैले उसको ठूलो स्वरले मुस्किलले रोकें आँसु।
देखेर उसको आक्रोश एकाएक मथ्थर भयो र मैले बुझ्ने तारिकाले नै बुझायो, 'तिमी बादल जस्ती छौ सरू शितल पनि चन्चल पनि। आज भेटिँदा पनि तिमी उस्तै पवित्र भावमा मसँग छौ जस्तो कि हामीबीच केही भएकै छैन। प्रेमी भएर सोच्दा कहीँकतै त दुख्छ मन। रिस उठ्छ तिमीले आफ्नो निर्मल मनको कस्तो इज्जत नगरेको होला सोचेर। तर म यो पनि जान्दछु तिमी सधैं आफूलाई भन्दा मन परेका आफ्नाहरूलाई शीर्ष देख्न खोज्छेउ, यही विशाल हृदयका कारण तिमी आज पनि मलाई आफूभन्दा उँचो रहेको देख्न चाहन्छेउ। तिमिलाई त सम्झिए मात्र पनि मन खुसी हुन्छ। तर तिम्रो ठाउँमा म भएर हेर्दा त यो सब भनेर के काम जब तिमीलाई मेरो आवश्यकता महसुस हुन्छ त्यो समय म कहिल्यै उपस्थित हुन सक्दिनँ भने' उसले गहिरो सुस्केरा छोड्यो।
'तिमीलाई बेकार सोचहरूको बेकाम धारणाले अर्थ नराखेको देख्दा भने मलाई खुब मज्जा लाग्छ। कुनै बेला मेरै प्रेममा पनि शंका उत्पन्न गर्छ तिम्रा काल्पनिक सोचहरूले, तर तिमीलाई यी आफ्नै कुराको मलाई जत्ति पनि हेक्का छैन। बढो गज्जब मान्छे हौ तिमी।'
सुनेर मन र आत्मा दुवै तृप्त भए झैं लाग्यो खुसी हुँदै बोलें 'तिमि भएसम्म म ढुक्क छु आफ्नो तौरतरिकामा, जो बदल्नु पर्दैन आवश्यकता अनुसार स्वयं बदलिन तयार छ, जस्तो कि तिम्रा खातिर म..'मेरो मुस्कान संभवत थप मायालु थियो यो पटक।
त्यसैले उसले हाँसेरै जबाफ दियो 'प्रेमी नै भएर प्रश्न गर्ने हो भने त तिम्रो यो ताल देख्दा एक थप्पड लगाइदिऊँ जस्तो हुन्छ। मान्छे हुँ म पनि, फुर्सद छैन मलाई बन्द किताबको रहस्यमयी कथा उजागर गर्ने चक्करमा आफ्नो समय बर्बाद गरिबस्न।'
'तिमी फेरि त्यस्तै एकोहोरो नरिसाउन दिवाकर। यस्तै हो म, ल भन म यस्तो नभए तिमी सक्छौ सहन यो वियोगको पीडा? म भित्रका सबै प्रेम पोख्न थालें भने तिमी सक्छौं थेग्न आफूलाई? तिमी जान्दछौ यो कथाको सार। हामी भागेर पनि भाग्न नसकेका मान्छे हौं र मेटाउन नसकिने सत्य। म तिम्रो सर्वप्रिय स्त्री रहेर पनि तिम्रो हुन मिल्दैन। यही हो यस लोकको वर्तमान नियम।
हेर्नै थियो दिवाकर हामीले नमिठो वियोगको दृश्य र नदुखे जसरी देखिनु थियो सामान्य। हाम्रो गहिरो प्रेम कथामा पनि विछोडको प्रसंग त लेखिनै थियो', म बोल्दा बोल्दै रोक्किएँ र जबाफ दिन नसकेर म गुनगुनाएँ 'हामी नदीका दुई किनारा हाम्रो संगम असम्भव छ....'
'फेरि यहाँनेर तिमी गलत देखियौ सरू मलाई रोक्दै ऊ बोल्यो- तिमीले गरेको गल्ती नै यही हो तिमीले हामीलाई एकै नदीका दुई किनारा सोचेऊ, जबकि हामी त सदा समाहित बेगमय एक नदी थियौं। तिमीले के सोचेर यो गीत गायौ म जान्दछु तर सरू तिमी र म त आज पनि सँगै बगिरहेछौं। मिठो आक्रोस मिसाएर टुंग्यायो उसले आफ्नो झोंक, 'यस्ता नि कवि रे आफ्नै भावको सही अन्दाज छैन अर्कालाई के बुझ्नू! फर्किंदा पन्छी अर्कै गगनमा विचरण गरिसकेको भए पनि मेरो तर्फबाट मायामा कहीँकतै कमी हुन भएन गज्जब छ है तरिका?' उसले मायालु मुस्कान सहित जिस्कायो।
अरूलाई भए जबाफ थियो मसँग तर उसँग हार्नुमा पनि मज्जा लाग्छ किनकि उसले जताएको अधिकारमा मैले आफ्नो स्थान पर्याप्त भेट्दछु।
'तिमीले चुरोट पिउन छोडेऊ दिवाकर?' मलाई झट्ट याद आयो खुसी र रोदनको असन्तुलनमा लगातार सल्कने उसका हातका चुरोटहरू?
'छैन छोडेको ऊ तिमीभन्दा बफादार छ मेरो लागि।'
'म जति बफादार त नहोला। मेरो वाक्य पूरा नहुँदै उसले बीचमै रोक्यो, 'सुन सरू तिमीले हाम्रो मिलन नहुनुको एक दोष मेरो गृहस्थ जीवनलाई पनि दिएकी छौ। तर तिमी यो पनि जान्दछेउ म विवाहित हुनु र तिमी अविवाहित रहनु लेखान्तर थियो, यति सानो कुराले तिम्रो विशाल ह्रदयलाई फरक पर्दैन, तै पनि जातै त्यस्तै हो कि केटी मान्छेको अलिकति अधिकार दियो भने आफैलाई हानी हुने अनावश्यक अधिकारको चाहत राख्ने।
जति नै सिद्धान्तको कुरा गरे पनि तिमी पनि केटी जो परेउ, गुण दोष जसरी तिमीलाई पनि मेट्नै नमिल्ने सत्यताले नराम्रोसँग बिझाउँछ बेला बखत र आफैलाई आघात पुग्ने निर्णय गरिदिन्छेऊ। बेखबर हराउने तिम्रो आदत मेरो चुरोट पिउने आदतभन्दा हानिकारक छ,' यति भन्दै उसले चुरोट सल्कायो।
मानौं कुनै चलचित्रको छायांकन भैरहेछ, हिरोले हिरोइनलाई दमदार डाइलग बोलेर सानका साथ चुरोट सल्कायो।
'तिमी त पत्रकार नभएर कलाकार हुनुपर्ने दिवाकर,' मैले प्रसंग मोड्न खोज्दा उसको प्रश्न आयो हप्काए जसरी मलाई खुसी कुन कुराले लाग्छ? म बोलिनँ तर मेरा उत्सुकता सूचक आँखाले जान्न चाहे।
'जति भिडमा रहे पनि, जति अवस्थासँग ठोक्किए पनि, जति वर्षपछि जहाँ भेटिए पनि आत्मिक रूपमा अति पवित्र र शुद्ध मात्र पाएँ मैले तिमीलाई। कसैको रंग नसरेकी तिमी कस्ती छौ थाहा छ?'
'कस्ती?,' मैले छोटो प्रश्न गरेँ।
'बुझ्न सके गहिरो आदत, बुझ्न नसके समय बर्वाद।' उसले अर्को चुरोट सल्कायो। म स्वकार भावमा उसका आँखा छलेर मुस्कुराएँ।
'अति भिन्न छौ सरू तिमी, तिम्रै नाम जस्ती, सरिता जसको तीव्रता र स्थिरता दुवै कुशल छ, तर ताल बच्चा जस्तो। यदि गल्ती गर्दा पनि उसको आशय पटक्कै गलत हुँदैन भने त्यो सानो बालक हो, तिमी मलाई त्यस्तै लाग्छ। र त म जति नै टाढा बस्न खोजे पनि हरेक भेटमा तिमीसँगको थरीथरी प्रेममा पर्दछु।
'घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन' गीत याद आयो झट्ट तर यो पटक गाइनँ मैले। किनकी जबाफ छल्न गीत गाउने मेरो स्वभाव जानेको ऊ थप रिसाउने सम्भावना थियो, 'म स्पष्ट जबाफ चाहन्छु गीत गाएर टार्न नखोज सरू।'
साँझ ढल्दै थियो, अचानक यो क्याफेमा भेट हुनु हाम्रो योजना थिएन तर समान थिए हाम्रा रोझाइ र प्रकृतिले साथ दियो जसरी आजसम्म सबैको आँखा छलेरै पनि हामीलाई नजिक बनाउन सहायक बन्दै आएको छ भगवान।
प्रेमको गहिरो चाहत सायद प्रकृतिलाई मञ्जुर थियो र त आफ्नो मान्छे आफ्नै पारामा भेटियो अचानक। समाजका लागि त यो प्रेम सधैं 'अनैतिक' नै ठहरिने छ र यो सत्य पनि नकार्न मिल्दैन दिवाकार बाहेक म अरूको हुँ यो दिवाकर पनि चाहन्न र, म पनि।
उसको स्थान अरू कसैलाई दिऊँ भनेर दिन नमिल्ने विषय हो र पनि यही सन्दर्भ अर्को बखेडा बन्न सक्छ धारणाहरूको भिडमा।
हाम्रो प्रेम समाजलाई स्वीकार थिएन। जसले गर्दा यो प्रेमको सबभन्दा नजिकको साक्षी हाम्रा गहिरा संवाद र प्रकृति मात्र थियो। अहो, पृथ्वीलोकमा समाजको कति ठूलो महत्व रहेछ जहाँ भगवानलाई मञ्जुर भएको सम्बन्ध समेत मान्छेलाई स्वीकार हुँदैन।
'आफैलाई असजिलो हुने गरी धेरै नसोच सरू।' उसै पनि तिमीले व्यक्त गर्नैपर्ने भाव कहिल्यै व्यक्त गरिनौ र नदेखाउनु पर्ने कमजोरी अघि सारेर बाहिरिदियौ। पुरूष मात्र भएको भए तिम्रो तरिकालाई जसरी पनि बुझ्न मिल्छ तर यहाँ शिर्ष पौरस्यताको सवाल छ, साँच्चै भनूँ त यति लामो उमेरमा तिमी जस्ती स्त्री मैले देखेको छैन।'
'प्रेम पत्र जस्ता संवाद क्षमता राख्ने पुरूषकी प्रेमिका हुन पाउनु नि ठूलै कुरा हो,' मैले जिस्कँदै भनें, 'धेरै तारिफ नगर आज चर्तुदर्शी हो, भोलिका लागि पूर्ण कान्ति सहित उत्रने तयारीमा रहेकी चन्द्रमाको प्रभाव समय हो स्त्रीत्वका लागि। कतै म कल्पना नगरूँ कि तिम्रो नामको चुरा, पोते र सिन्दुर आदि इत्यादिको..।'
सुनेर दिवाकर शान्त भयो, छुन सकिनँ तर लाग्यो चिसो भएको छ उसको शरीर समेत मन जस्तै। मैले ऊ थप गहिराइमा नपुगोस् र मेरा आँखा नरसाऊन् भन्ने हेक्काले सतही बन्न खोजेँ तर उसलाई बिझायो मेरो सिन्दुर शब्दले।
अब पालो मेरो थियो सम्झाउने 'दिवाकर हामी नारी जातको स्वभाव हो, जिते जस्तै गरी हारिदिने, पिरहरूलाई रहस्यको गर्भमा राखेर स्वाभाविक देखिनुपर्ने, आफैलाई नोक्सान हुने गरी माया गरिदिन सक्ने हाम्रा सबै सपना अरूका निम्ति जन्मन्छ, खिलखिलाउँछन् र मर्छन् पनि र त पुरूष ऊर्जामय बन्दछ स्त्री प्रकृतिसँग रहँदा। उसको त कठोरता पनि भावुक हुन्छ। र त झगडा पनि रूँदै गर्छन् नारीहरू।
'स्त्री ऊर्जालाई सही दिशा निर्देश गर्न आकर्षण बाहिरको प्रेम दिन सक्नु पर्दछ, उसलाई बुझ्न उसको प्रकृति जान्न सक्नु पर्दछ। ऋतु हो स्त्री, ऊ हरेक याममा नविन देखिन सक्छे। यहीँ हामीलाई हेर न दिवाकर, तिमी आक्रोशमा पनि 'तँ मेरो मात्र होस् भन्न सकिरहेछौ' म मायामा पनि तिमी मेरो मात्र हौ भन्न सकिरहेको छैन। फरक छ नि तिमी रिसाएऊ, मलाई रून मन लाग्यो, तिमीले फकाएयौ फेरि पनि रसाए आँखा। करूणाको नदी हो दिवाकर स्त्री, उसको प्रेम पुरूषको अन्दाज बाहिर हुन्छ।'
म बोलिरहेँ ऊ सुनिरह्यो।
'स्त्री चन्द्रमा हो दिवाकर ऊ एक मासमा दुई भाव बाँच्दछे, पूर्णिमाकालमा उनी सौर्य ऊर्जासँग सिधा प्रश्न र निजी प्रस्ताव राख्न सक्छे। औंसीको रातमा ऊ रहस्यमयी बन्छे र चाहन्छे यो रहस्यलाई प्रकाश पार्न सकोस् उसको सूर्यले। सत्य जे होस् लोक त यो पृथ्वीलोक हो, यहाँ मिलनको अर्थ तनमय छ र त माया दृश्यमा भेटिन्छ। दिवाकर र मेरो बेनाम कहानीलाई नाम दिने कल्पना मात्र गर्दा पनि ठूलो बदनामीको खतरा रहन्छ।'
गफै गफमा हामीले तेस्रो कप चिया थपेछौं, चिया थपेर पिउने हाम्रो स्वभाव फेरि पनि दोहोरियो, एकै सहरमा रहेर पनि फरक ब्रम्हाण्डमा रहेजस्तो भौतिक दुरी कायम गर्नुपर्ने बाध्यतालाई उदासिनता भन्दा प्रयोगका रूपमा हेर्ने हाम्रो समझदारीले सँगै हुनु र नहुनुको आभाष पनि पार गरिसकेछ सायद।
सत्यतालाई स्वीकार्नु जत्तिको कठिन र योग्य कुरा अर्को छैन हामी यसै सोच्दछौं। ऊ दाइका रूपमा रहन पनि सक्थ्यो या त मेरा अन्य पुरूष मित्रहरूको स्थानमा तर आवेग कि उच्छवास भन्ने सवाल पनि रहन्छ मानव जीवनमा।
'सर" हामीबीच मनको सम्बन्ध भएको भए मित्रता जन्मँदो हो, तनको सम्बन्ध हुँदो हो त तडप र आशक्ति तर आत्माको सम्बन्ध यति आत्मिक हुन्छ कि जसलाई अलग गराउन भगवानको स्वीकृति समेत कमजोर बनिदिन सक्छ। प्रेम निराकार सत्य हो जो देखिँदैन तर झल्किन्छ।'
'साँझपखको अचानकको भेट, यो समय यहीँ स्थिर भैदिए पनि हुने हो तर समयले पनि आफ्नो धर्म निभाउनु छ ऊ रोक्किन मिल्दैन हामी जस्तै। समय हामी जस्तो होला कि हामी समय जस्तो दिवाकर?' निस्कने तरखरमा रहेका हामीसँग हाँस्यौं थप शिलशिला रोक्नु जो थियो, आ आफ्ना घर फर्कनु थियो, छुट्नु थियो अनिश्चित साथ, दुख्नु थियो बरोबरी दिल।
बिल बुझाएर निस्कनै लाग्दा चर्चामा रहेको गीत गुञ्जियो 'आज कि रात मजा हुस्नका आँखों से लिजिए'.....
'राम्रो छ है यो गीतको शब्द र मेलोडी?'
मैले हाँसेर जबाफ दिएँ 'उम्म, मेहेफिल र माहौल दुवैमा फिट हुन सक्छ, जस्तो कि हामी छौं संयोग र वियोग दुवैमा दुरूस्त।'
हाम्रो मौनता चिर्दै मलाई लिन पठाओ बाइक आइपुग्यो, उसको बाइक चढ्नु पूर्व मैले अर्की स्त्रीको भरोसा र आँसुको ख्याल राख्नुपर्ने हुँदा ऊ मलाई छोड्दिन्छु भन्न सक्दैन ऊ र म कर नगर्नुमा नै सजिलो देख्छु।
बिनासर्त र स्वार्थको यो पटकको बिदाईमा पनि हामीले एक अंगालो आफ्नोपन साट्न सकेनौं। धेरैका लागि सामान्य बनेको 'एक हग' हाम्रो भागको हक बन्नै सकेन, सोच्दा नमिठै कुरा पनि हो। ३ वर्षपछिको भेटमा पनि कहाँ बस्छौ, के काम गर्छौ, नम्बर फेरेर्यौ उही छ? आदि प्रश्नै भएन, जहाँ छुटेका हुन्छौं यो कथा त्यहीँबाट सुरू भैदिन्छ र त्यो पनि सधैंलाई मीठो सम्झना रहने गरी। यसरी पृथ्वीमा अनैतिक ठहर सम्बन्धहरूको नैतिकताको हिसाब कुन कुन लोकमा कसरी राखिएला? दिवाकर सधैं आग्रह गर्छ प्रेम नै गर्नु छ भने परलोकसम्म नछुट्ने प्रेम गरौं न सरू जाबो यही लोकमा सक्किने पनि के प्रेम? म उसलाई भेटेरे फकिएपछि सधैंझैं आज पनि सोचिरहेछु कहाँ होला त्यो लोक? जहाँ दिवाकर सगर्व मलाई लिएर जान चाहन्छ!