शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सीमा हटियानजिकै गैरीगाउँ क्षेत्रमा एउटा गाडी जमिनमुनि दबिएर बेपत्ता भयो। गाडी धसिन थालेपछि चालक र सहचालक ओर्लिएर भाग्न भ्याएका थिए।
जसै चालक, सहचालक गाडीबाट निस्किए, ठूलो भ्वाङ परेर गाडी जमिनमुनि नै अलप भयो। सोमबार बिहानसम्म गाडीको नामोनिशान भेटिएको छैन।
जमिनको सतहमा यस्ता परिघटना हुने गरेका छन्।
सिमसार र विशेषतः धाप क्षेत्र जहाँ खेती गर्दा किसानहरू गाडिएको घटना हामीले सुनेका हौं। जोत्दाजोत्दैको गोरू दबिएर अलप भएको दन्त्य कथाझैं लाग्ने घटना अझै पनि गाउँघरतिर सुनिन्छ।
तर बढ्दो सहरीकरण र जग्गाको खण्डीकरणले यस्ता सिमसारहरू अहिले भेटिन दुरूह छ। वैज्ञानिकहरू त यस्ता सिमसार क्षेत्रलाई प्रकृतिको मिर्गौलाको उपमा पनि दिने गर्छन्। पारिस्थितिक प्रणाली जीवित राख्ने यस्ता सिमसार क्षेत्रले ठूलो भूमिका खेलेको हुन्छ।
नागमतीको शिर क्षेत्र, धाप यस्तै दलदले ठाउँ हो। जहाँ अहिले बाँध बाँधिएको छ। बाँध खोलेर बेलाबेला बागमती नदीको बहाव बढाइन्छ।
ललितपुर महानगरपालिका वडा नम्बर ४ को मलपोखरी क्षेत्र पनि यस्तै धापयुक्त जमिन हो। त्यहाँको धापमाथि उम्रिएको झारमा उफ्रिँदै रमाइलो गरिरहेको फोटो, भिडियो टिकटकमा देखिन थालेपछि स्थानीय प्रहरीले त्यहाँ प्रवेश नै रोक लगाएको छ। त्यस्ता धापयुक्त ठाउँमा जमिनको भित्री सतहसम्मको माटो बढी हिलो हुने भएकाले दबिने जोखिम हुन्छ।
तर गुड्दा गुड्दैको गाडी धसिएको घटना भने बिरलै सुनिएको थियो।
हेटौंडाको उक्त गैरीगाउँ क्षेत्र पनि डेढ–दुई दशकअघिसम्म धाप नै भएको १६ नम्बर वडाका अध्यक्ष रामकृष्ण कोइरालाले जानकारी दिए। उनले पनि त्यस क्षेत्रमा ६–७ हल गोरू दबिएको घटना वयोवृद्धहरूको मुखबाट सुनेको बताएका छन्।
उनी वडा नम्बर १६ को दुई कार्यकाल अध्यक्ष भइसकेका छन्। वडाध्यक्ष निर्वाचित हुनुअघि आफू पनि खेती–किसानी नै गर्ने गरेको उनले बताए।
आफू हटिया आसपास मेलापात जाने गरेको र त्यसक्रममा अहिले गाडी दबिएकै ठाउँ आसपास जोत्दा जोत्दैको गोरू गाडिएर अलप भएको आफूले प्रत्यक्ष देखेको उनले बताए।
‘त्यस्तै दुई दशकअघि हुनुपर्छ, त्यही ठाउँमा जोत्दाजोत्दैको एउटा गोरू गाडिन पुग्यो। निस्कनै सकेन र त्यहीँ दबिएर बेपत्ता भयो,’ उनले सेतोपाटीसँग भने।
तर पछिल्लो समय त्यहाँको धाप नासिएको थियो। जमिनको बाह्य सतह सुख्खा भएकाले खेतको बीचबाट सडक बनाइएको थियो।
आसपासमा खेतीकमाइ गरिँदै आएको छ भने सडकको दायाँतर्फ माछा पोखरी पनि बनाइएको छ। त्यो माछा पोखरी झन्डै एक दशकदेखि नै सञ्चालनमा रहेको वडाध्यक्ष कोइरालाले बताए।
शुक्रबार दबिएको गाडी त्यही पोखरीको माछा बोक्ने गाडी हो। सधैँ आउजाउ गर्दा दबिने सुइँको नपाएका उनीहरूले त्यस दिन पनि निर्धक्क गाडी गुडाएका थिए।
‘दुई मिटरजस्तो खाडल बन्यो। झन्डैझन्डै सुरूङजस्तै बन्यो। सीधै गाडी दबिन थाल्यो। मैले गाडीभित्रैबाट हेरेकै छु,’ गाडी चालक भन्छन्,‘ पहिले त सानो खाडल परेको थियो। पछि पड्किएको आवाज आउँदै ठूलो खाडल पर्दै गयो र गाडी गायब बन्यो।’
अहिले त्यहाँ ठूलो आकारको खाडल परेको छ। र, खाडलभरि पानी भरिएको छ।
यसरी जमिनको सतहमुनि किन ठुल्ठूला भ्वाङ पर्छ भनेर भूगर्भविद् श्रीकमल द्विवेदीलाई सोध्यौं।
द्विवेदीले कास्कीको अर्मला क्षेत्रको अध्ययन गरेका थिए। कास्कीको अर्मला क्षेत्रमा पनि बेलाबखत जमिनको सतहमा ठुल्ठूला भ्वाङ पर्ने गरेका छन्। अर्मला क्षेत्रमा मात्र नभई सेतीनदी आसपास अन्यत्र पनि यस्ता भ्वाङ र खाडल देखापर्ने गर्छन्।
अर्मलाको भ्वाङ परेको क्षेत्रमुनि जमिनको भित्री भागमा कमेरो माटो रहेको र त्यो पानीसँग घुलनशील भएर बाहिर निस्कँदा ठूला आकारका खाडल पर्न गएको उनले निष्कर्ष निकालेका थिए।
त्यसो त पोखरा सहरका केही ठाउँमा जमिनको सतहमुनि ढाँड देखिनुको अर्को कारण रहेको पनि विज्ञहरूले बताएका छन्। ८०० वर्षअघि अन्नपूर्ण चौथो हिमाल टुक्रिएर आएको विशाल बाढीले पोखरा उपत्यका ढाकेको र अहिले बसेको पोखरा सहर त्यही बाढी माथि भएको उनीहरूको निष्कर्ष छ। जसका कारण पनि पोखरा क्षेत्रमा त्यस्ता असंख्य ढाँड, छिद्र रहेको हुनसक्ने विज्ञहरूको बुझाइ छ।
द्विवेदीले पनि पोखराको जमिनको सतहको भित्री भागको माटो पानीसँग छिटो घुल्नसक्ने प्रकृतिको रहेको र भित्रभित्रै दबिएको सेती नदीमा त्यही लेदोसहितको पानी मिसिने भएकाले ठूला आकारको भ्वाङ पर्ने गरेको निचोड निकालेका थिए।
अहिले हेटौंडाको हटिया क्षेत्रमा भने दुई कारणले त्यस्तो घटना भएको हुनसक्ने उनको बुझाइ छ।
पहिलो त्यस क्षेत्र वरपर धाप रहेको स्थानीयले बताइरहेका छन्। हलगोरू दबिएको स्थानीयले बताइरहेकाले त्यस क्षेत्रमा धाप पुरेर बाटो बनाइएको हुनसक्ने पनि उनले बताए।
दोस्रो त्यस क्षेत्र वरपर बोरिङ गरेर ठूलो मात्रा पानी निकालिएको हुनसक्ने उनको बुझाइ छ। जसका कारण ठूलो परिमाणमा लेदोसहितको पानी बाहिर आयो र जमिनको सतहभित्रको केही भाग खाली हुन पुग्यो। त्यसरी बोरिङ गरेर पानी निकालिएको क्षेत्र वरपर भारवहन राम्रो हुने गरी नपुरिएकाले पनि उक्त घटना भएको हुनेसक्ने उनले औंल्याए। यसतर्फ अध्ययन आवश्यक रहेको उनको निचोड छ।
यस्तो आशंका त्यहाँका स्थानीय पनि गरेका छन्। गाडी बेपत्ता भएको स्थाननजिकै बोरिङ पनि गरिएको छ। माछा पालनलगायतलाई आवश्यक पर्ने पानी भूमिगत स्रोतबाटै निकाल्दा जमिनको भित्री भागमा ठाउँठाउँमा खाडल परेको हुनसक्ने उनीहरूको पनि अनुमान छ।
त्यसो त २०७२ वैशाखको भूकम्प गएका बेला अहिले खाडल परेर गाडी गायब भएको ठाउँ आसपास बालुवा माटो निस्किएको स्थानीयले बताएका छन्।
यद्यपि यसबारे अध्ययन भने हुनै बाँकी छ। हेटौंडा उपमहानगरपालिकाले अध्ययनका लागि खानी तथा भूगर्भ विभागको सहयोग मागेको छ।
‘जमिनमा बोरिङ गर्दैजाँदा जमिनको भित्री सतहको माटो फ्याँकिन्छ। त्यसो गर्दै जाँदा भित्र कतिपय ठाउँ खोक्रो पनि भएर बसेको हुनसक्छ। कतिपय ठाउँमा सिल्ट (लेदो बग्ने प्रकृतिको माटो) पनि हुन्छ,’ भूगर्भविद् श्रीकमल द्विवेदीले भने, ‘जुन सजिलै बग्छ। पम्प गर्दा माथि तानिन्छ। त्यो माथि आइसकेपछि बनेको खोक्रो भागमा पानी भरियो। सुख्खा बेलामा माथिको सतहको भारवहन क्षमता अलि धेरै थियो। मान्छे हिँड्दा, सवारी साधन आवतजावत गर्दा पनि केही भएन। अहिलेको अवस्थामा अलिक पानी परेर जमिनको बाह्य सतहको माटो पनि गलेर भवितव्य निम्तिएको हो कि जस्तो देखिएको छ।’
भिडिओः