लागुऔषध ब्राउनसुगर कारोबारमा संलग्न एक भारतीयलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।
पकराउ पर्नेमा भारत जिल्ला चम्फावत भजनपुर ग्रामका २१ वर्षीय अमन चन्द छन्।
उनलाई दोधारा-चाँदनी नगरपालिका-१ पक्कीपुलबाट शनिबार अपराह्न पक्राउ गरिएको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।
युके०६एई ९७५८ नम्बरको मोटरसाइकलमा सवार चन्दको साथबाट ११.८७ ग्राम ब्राउनसुगर बरामद भएको चतुर्वेदीले बताएका छन्।
यस्तै, कञ्चनपुर प्रहरीले दोधारा-चाँदनी नगरपालिका-६ का १८ वर्षीय आदिम मगर र सार्थक शर्मालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ६० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ।
यस्तै, कञ्चनपुरबाटै २३ वर्षीय मनोज सुनार र २३ वर्षीय तेज विकलाई पक्राउ गरिएको चतुर्वेदीले बताए। दुबैको साथबाट नाइट्राभेट, स्पास्मो बोक्प्लस ट्याबलेट बरामद भएको छ। पक्राउ परेका सबैलाई लागुऔषध ओसारपसार तथा नियन्त्रण ऐन अन्तर्गत कारबाही थालिएको प्रहरीले जनाएको छ।