उच्च अदालत सुर्खेतले आर्थिक वर्ष २०८०/०८१ मा दर्ता भएकामध्ये ७८.८४ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ। यो वर्षको वैशाख ३० गतेसम्म कुल ५१८ वटा मुद्दा फर्छ्यौट गरिएको अदालतले जनाएको छ।
उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराईका अनुसार वैशाख ३० गतेसम्म अदालतमा ८४९ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये १६० वटा मुद्दा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका हुन्।
उनका अनुसार यस आर्थिक वर्षमा उच्च अदालत सुर्खेतमा ७४४ मुद्दा दर्ता हुने अनुमान गरिएको थियो। यस्तै ६५७ वटा मुद्दा फर्छ्यौट गर्ने अनुमान गरिएको छ।
यस वर्ष फर्छ्यौट भएका मुद्दाहरुमध्ये जिम्मेवारी सरेर आएका १३७ र नयाँ दर्ता भएका ३८१ वटा रहेका छन्।
अदालतले कैफियत प्रतिवेदन (जिल्लाको आदेशमा चित्त नबुझेर आएका निवेदन) तर्फ ७६ मध्ये ६९ वटा फर गरेको छ।
यो वर्ष परेका ८५ रिट निवेदनमध्ये ५२ वटा फर्छ्यौट भएका छन्। यस्तै ८५ वटा निवेदन परेको सबै फर्छ्यौट भएको अदालतले जनाएको छ।
उच्च अदालतमा रहेको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८०/८१ को वैशाख ३० गतेसम्म जबर्जस्ती करणी सम्बन्धि मुद्दा १६४, कर्तव्य ज्यान, सवारी ज्यान, ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दा ११३ वटा, लागुऔषध सम्बन्धि ५१ वटा, बहुविवाह तथा बालविवाह सम्बन्धि मुद्दा ४७ वटा र सम्बन्धविच्छेदका मुद्दा १६ वटा दर्ता भएका छन्।