इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ।
मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा मुटुको उपचारक्रममा मंगलबार मध्यान्ह सवा १२ बजे उनको निधन भएको हो।
युवा इतिहासकार यादव देवकोटाले उनको निधनले नेपाली इतिहासमा अपूरणीय क्षति भएको बताए। नेपालले गरेका काम आजको पुस्तालाई महत्त्वपूर्ण र सम्झनलायक रहेको उनी बताउँछन्।
'उहाँले ‘नेपाल निरूपण’ र ‘नेपाल निरूक्त’ किताबमार्फत् शब्दको उत्पत्ति र मूल जरो के रहेछ भन्नेबारे गम्भीर अध्ययन र व्याख्या गर्नुभएको छ। नेपाल–भोट सम्बन्धको विषयमा गर्नुभएको अध्ययन आजको दिनमा पनि मास्टरपिस हो। उहाँले नेपालका पुराना सामग्री अनि लिपीबारे पनि अध्ययन गर्नुभएको छ,' देवकोटाले भने।
इतिहासकार नेपालले ‘नेपाल निरूपण’, ‘नेपाल निरूक्त’ बाहेक नेपाल-भोटचीन सम्बन्धका केही सांस्कृतिक पक्ष, नेपालको पूर्वमध्यकालको इतिहास, नेपालको माध्यमिक कालको इतिहास, अतीतका स्मृति र अनुभूतिः विश्वेश्वरदेखि वीरेन्द्रसम्म, मेरो गुरुकुलीय शिक्षा र सहपाठी लगायत किताब लेखेका छन्।
गुरुकुल शिक्षा प्रणालीबाट आएका नेपाल नयराज पन्तका विद्यार्थी हुन्। उनी संशोधन-मण्डलका पूर्व सदस्य पनि थिए।