चट्याङको आवाजले झस्किइरहन्छन् श्यामबहादुर विक। चट्याङको आवाजसँगै हो उनले उठिबास गुमाएको पनि। भूकम्पको धूलो टक्टक्याएर तंग्रिँदै गर्दा त्यही चट्याङसँगै तीन पुस्ताको कमाइ पहिरोमा मिल्यो।
सिन्धुपाल्चोक, बाह्रबिसे–७ घुम्थाङ, नागपुजेका हुन् श्यामबहादुर। उनलाई आज पनि त्यो रातको झट्काले झस्काइरहन्छ।
२०७७ भदौ २७ को राति। अविरल परेको झरीले घुम्थाङ थरर काँपेको थियो। पारि मान्द्रा, गाती र सखुवातिर पहिरो चलेजस्तो गड्याङगुडुङ आवाजले ठूलै विपत्तिको संकेत गरिरहेको थियो।
पिसाब फेर्न निस्किएका श्यामबहादुरलाई झरीको रौद्र रूपले निदाउन दिएन।
'पहिलोपटक उठ्दा सिमसिम पानी परिरहेको रहेछ। दोस्रोपटक उठेर हेर्छु त माथि घुम्थाङ, भीरखर्क, नागपुजे पूरै बगाउलाजसरी पानी ओइरिराखेको छ,' उनले तीन वर्षअघिको त्रासदी सुनाउँदै भने, 'आएर ओछ्यानमा सिरानीमाथि हत्केला अड्याएर पल्टिएको मात्रै थिएँ, ठूलो गर्जनसहित चट्याङ बज्रियो।'
चट्याङ प्रलयको निम्तो थियो।
मिलिक्क बिजुली के चम्किएको थियो, चट्याङको आवाजसँगै ठूलो हलचल पैदा भयो। सिंगै धरती भूकम्पको भुंग्रालोमा परेजस्तो भयो। उनले पनि भुइँचालाकै लख काटे।
घर भत्किने भयले उनी भाग्न खोजे। एक महिनाअघि खुट्टामा फलामे किला गाडिएकाले डम्डम्ती भएर सुन्निएको थियो। उनी छिटोछिटो भाग्न सकेनन्। छोरा, छोरी र श्रीमती कुन सड्का बाहिर निस्किएछन्, उनले पत्तो पाएनन्।
'चट्याङपछि बिजुली गइहाल्यो। चारैतिर अन्धमुष्टि छ। जहाँ टेक्छु, उतै खुट्टा गाडिन्छ। दलदलबाट उम्किएर अलि पर पुगेको थिएँ, झल्याँस्स भएँ। घरमा बुढी, केटाकेटी र ससुरा पनि थिए नि!,' उनको मथिंगलमा त्यो त्रासदी अझै फेरो मारिरहन्छ।
विपत्ति उनको घरतिर पनि सोझिएको थियो। त्यही भुल्कोमा परेका उनका ससुरा भाग्न सकेनछन्। उनको पातामा काठ बज्रिन पुग्यो। तैपनि जसोतसो छलिएर उनले पनि ज्यान जोगाए।
यसरी उनको परिवार विपत्तिमा निलिनबाट बाँच्यो।
श्यामबहादुरलाई उज्यालो हुँदासम्म निधो भएको थिएन, गाउँ कुन विपत्तिको निशानामा पर्यो। राति भीरखर्क, नागपुजेलाई के विपत्ति आइलाग्यो? त्राहिमाम हुँदै कति मानिसहरूबीच भागदौड चल्यो! हाहाकार मच्चियो!
'स्कुल छेउका एक जना दाइ ठूलो पहिरो गयो, म त जसोतसो बाँचे भन्दै आत्तिँदै आउनुभएको थियो। हामीचाहिँ पारि गाती, मार्मिङतिर पहिरो चल्यो होला भन्दै बसिरह्यौं,' उनले सुनाए।
उज्यालो भएपछि पो थाहा भयो, भीरखर्कको वारिपारि र पर तामाङ गाउँको सिरानबाट चलेको पहिरोले बस्तीलाई भोटेकोसीमा मिलाएको थियो। कति पहिरोमा परे, कति उम्किएर भागे, टुंगो थिएन।
![FB_IMG_1600735889106-1701222643.jpg](https://img.setoparty.com/uploads/posts/FB_IMG_1600735889106-1701222643.jpg?timestamp=1701222645219)
'पहिरोले तीस जनालाई चुँडेर लगेछ,' उनले मलिन अनुहार पार्दै भने, 'हामी त जसोतसो बाँच्यौं। घर पहिरोले क्षतविक्षत बनाएकाले कहाँ बस्ने, के खाने केही टुंगो थिएन।'
त्यसपछि उनको परिवार डाँडाटोलको त्रिपालमुनि आइपुग्यो। सुरूमा त स्थानीय सरकार, संघ–संस्थाहरूले पनि राम्रै भरथेग गरे। खाद्यान्न, भाँडावर्तन दिए। जीवनले जसोतसो लय समात्यो।
२३ घरलाई सरकारले सजिलै पुनर्वास गराउला भन्ने उनीहरूलाई लागेको थियो। हिउँदसम्म घर पाइसक्ने आशामा पीडितहरू थिए।
'तर त्यही डाँडामा दुई वर्ष त्रिपालमुनि बस्यौं। घर त के, घर बनाउने जग्गासमेत टुंगो लागेन,' उनले पीडा पोखे।
सघैंभरि अरूकै जग्गामा त्रिपाल टाँगेर बस्न सम्भव थिएन। सरकारले पुनर्वासको सुरसार नदेखाएपछि पीडितहरू लाखापाखा लाग्न थालेको उनले सुनाए।
'चार–पाँच घरको चाहिँ आफ्नै जग्गा थियो। उनीहरूले घर बनाए। हामी केही नहुनेहरू भने विचल्लीमा पर्यौं,' उनले भने।
यसबीच पालिकाले समन्वय गर्ने, केन्द्र सरकारले कार्यविधि बनाएर छिट्टै घर उभ्याइदिने आश्वासन पाए उनले।
यही आशामा परेका श्यामबहादुरले तीन लाख रूपैयाँ ऋण गरेर बच्छलादेवी माध्यमिक विद्यालयनजिकै ६ आना जग्गा किने। पचास हजार रूपैयाँ प्रति आनामा।
त्यही जग्गाको छेउमा पुस्तौंपुस्तादेखि जीविकाको माध्यम बनेको आरन थापे। बीचमा मुन्टो लुकाउन हुने त्रिपालको ओत बनाए।
'घर बनाऔं भने पैसा थिएन। राखनधरानका लागि जस्ता बेरबार पारेर टहरा त हालेँ, त्यसमा सुत्ने ठाउँ पुगेन। फेरि त्रिपालमै आइपुगेँ,' उनले पीडा सुनाए।
तीन वर्षपछि निस्कियो नाम
पहिरोपछि नागपुजेको रूप बदलिएको छ। भीरखर्कबाट सुरू भएको पहिरो भोटेकोसीमा जोडिएको थियो। अहिले पहिरो चलेको ठाउँ उत्तिसका रूखले छोपिएको छ। सडक बाटो पूर्ववत् रूपमा जोडिएको छ। पहिरोले क्षतविक्षत बनेको भीरखर्कमुनिको फाँट यथाहालतमा उभिइसकेको छ।
![40dd63e7-3eec-494f-ae84-bc6693c35188-1701222689.jpg](https://img.setoparty.com/uploads/posts/40dd63e7-3eec-494f-ae84-bc6693c35188-1701222689.jpg?timestamp=1701222691315)
![144e073a-9f52-498f-b24d-6981f4b7e987-1701222720.jpg](https://img.setoparty.com/uploads/posts/144e073a-9f52-498f-b24d-6981f4b7e987-1701222720.jpg?timestamp=1701222722623)
तर श्यामबहादुरको अवस्था झन् झन् नाजुक बन्दै छ।
'एउटा टेन्टमुनि म, श्रीमती र छोरा अटाउनुपर्ने अवस्था छ। कात्तिकदेखि नै शित चुहिन थालिसकेको छ। जाडो कसरी कटाउने भन्ने पिर छ। वर्षामा पनि पानी ओतिँदैन,' उनले अवस्था सुनाए।
थातथलो गुमाएको तीन वर्षपछि नागपुजे पहिरो प्रभावितका रूपमा उनको श्रीमतीको नाम निस्किएको छ। जग्गा किन्ने र घर बनाउने पैसा कहिले निकाशा हुन्छ, उनलाई केही थाहा छैन।
'गएको वर्षामा यहीँ पनि पहिरो चल्यो। राति टेन्टसमेत पुर्ने गरी पहिरो चल्यो। पाल सारेर परिवार जोगाएँ। जग्गा अन्तै खोज्नुपर्ने छ। सरकारी राहतको भर पर्नुबाहेक अरू विकल्प छैन,' उनले निरूपाय हुँदै भने।
श्यामबहादुर लगायत पीडितहरूको घर नबनेको बारे हामीले बाह्रबिसे–७ का वडाध्यक्ष निमा लामा (सोनाम) लाई पनि सोध्यौं।
उनले पनि रकम निकाशाबारे बताउन सकेनन्।
'पहिरो प्रभावितहरूलाई जग्गा किन्न र घर बनाउन १५ प्रतिशत पैसा जम्मा गर्नुपर्ने विषयका कारण सम्झौता हुन ढिलाइ भएको हो। अहिले १२ घरधुरीको सम्झौताको प्रक्रिया अघि बढिरहेको छ। छिट्टै घर बनाउने प्रक्रिया अघि बढ्छ,' उनले भने।
नागपुजे पहिरो प्रभावितहरूलाई प्रतिबद्ध परियोजनाले कागजपत्रहरू तयार पार्न सहायता गरिरहेको छ। स्थानीय सरकारले पनि सिफारिस प्रक्रिया अघि बढाइसकेकाले पहिरो प्रभावित सबैले छिट्टै बसोबास पाउने वडाध्यक्ष लामाले जानकारी दिए।
तर श्यामबहादुरले स्थानीय सरकारको बोलीप्रति भरोसा गर्न छाडिसकेका छन्।
भने, 'भूकम्पपछि बरू फटाफट काम भएको थियो। अहिले त नाम निस्कनै तीन वर्ष लाग्यो। पैसा पाउन कति वर्ष लाग्ने हो?'