कतिपय नेताहरूको विरोधबीच पनि नेपाली कांग्रेसले क्रियाशील सदस्यहरूको विवरण अद्यावधिक गरेको छ।
वैशाख १ देखि जेठ २८ गते मध्यरातसम्म कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गरेको हो।
गत पुस १० गतेसम्म क्रियाशील नवीकरण र नयाँ सदस्यका लागि सिष्टममा प्रविष्ट भएकाहरूलाई योग्य मानेर उनीहरूका थप विवरण लिन अद्यावधिक अभियान नै सञ्चालन भएको थियो।
यस अभियानमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष र नेता शेखर कोइराला पक्ष सहभागी थिएनन्। उनीहरूले १५ औं महाधिवेशन गर्न गत पुसमै नवीकरण गरिएकोले अद्यावधिक गरिराख्नु नपर्ने तर्क गरेका थिए।
यसबीच पनि कांग्रेस संस्थापन पक्षले उत्साहपूर्वक क्रियाशील अद्यावधिक भएको जनाएको छ। अद्यावधिक नगर्ने संख्या एक लाखभन्दा तल रहेको उनीहरूको भनाइ छ।
साथै कांग्रेसले नयाँ क्रियाशीलका लागि आवेदन पनि खुला गरेको छ। अहिले अद्यावधिक भएको संख्यामा नयाँ क्रियाशील थप गरेपछि मात्रै १५ औं महाधिवेशनको प्रक्रिया अघि बढ्छ।
कांग्रेस नेताहरूले छोटो समयमै क्रियाशील अद्यावधिक गरिएको बताएका छन्। यो कसरी सम्भव भयो र अद्यावधिक नगर्ने नेता तथा कार्यकर्ता कांग्रेस रहन्छन् कि रहँदैनन् भन्नेजस्ता विषयमा केन्द्रित रहेर महामन्त्री तथा क्रियाशील सदस्यता व्यवस्थापन समिति संयोजक प्रदीप पौडेलसँग कुराकानी गरेका छौं;
छोटो समयमा क्रियाशील सदस्यको अद्यावधिक गर्न कसरी सम्भव भयो?
हामीले क्रियाशील सदस्यता अद्यावधिक वैशाख १ गतेदेखि सुरू गरेर जेठ २८ गते मध्यरातमा सकेको हो। सुरूका दिनमा कतिपयमा प्रविधि नजानेर वा अभ्यस्त नभएर पनि वा राजनीतिक रूपमा दुविधा रह्यो- अद्यावधिक भनेको नवीकरण नै हो, फेरि किन नवीकरण गर्नुपर्यो भन्ने भ्रम पनि फैलाइयो। नवीकरण र अद्यावधिक फरक फरक हो भनेर बुझाउनै समय लाग्यो।
अर्कोतर्फ हामी क्रियाशील अद्यावधिक गराउन चाहने र कोही गराउन नचाहने भएर समानान्तर गतिविधिजस्तो पनि देखिएको थियो। दुई ढंगबाट तलसम्म सर्कुलर पनि भएको अवस्था थियो। त्यसबाट पनि तलका साथीहरू भ्रममा परेका थिए।
तर पार्टीले जरा अभियानसँगै क्रियाशील अद्यावधिक गराउन विभिन्न कार्यक्रमहरू गर्दै गयो। हामीले प्राविधिक प्रतिनिधिहरू पनि खटायौं, राजनीतिक रूपमा पनि प्रशिक्षित गर्दै लगियो। त्यसपछि विस्तारै अद्यावधिक गर्ने क्रम बढ्यो।
जेठ १४ गतेदेखि संख्यात्मक हिसाबले अद्यावधिक गर्नेहरू बढ्दै गएका थिए। त्यसबेला दिनहुँ १५/२० हजारले अद्यावधिक गरेका थिए भने पछिल्ला दिनमा एकै दिन ९० हजार जनाले पनि अद्यावधिक गरेका थिए।
क्रियाशील अद्यावधिक प्राविधिक विषय थियो तर कतिपय साथीहरूले राजनीतिक रूपमा पनि बुझ्नुभयो। तर साथीहरूले पछिल्ला दिनमा यसले पार्टीलाई बलियो बनाउँछ, यो पार्टीको ठूलो डिजिटल प्लेटफर्म हो र यसले नेता-कार्यकर्ताबीच सञ्चार गर्न पनि सहज हुन्छ भन्ने कुरा बुझ्दै जानुभयो र अवरोधका बीच पनि उल्लेख्य रूपमा क्रियाशील अद्यावधिक गर्ने काम भयो।
जेठ २८ गतेसम्म आइपुग्दा कति जनाले क्रियाशील अद्यावधिक गरे?
हामीलाई सुरू सुरूमा कतिपय साथीहरूले १ लाख जनाले पनि क्रियाशील अद्यावधिक गर्दैनन् भनेर टिप्पणी गरेका थिए। हामीलाई पनि एक ढंगले के हो के हो भन्ने लागेको त थियो नै। तर निरन्तर रूपमा साथीहरूलाई बुझाउँदै जाँदा उत्साहपूर्ण तरिकाले क्रियाशील अद्यावधिक गर्ने स्थिति बनेको थियो।
अहिलेको अद्यावधिकलाई २०७८ सालमा भएको १४ औं महाधिवेशनसँग तुलना गरेर हेरेको पनि पाइयो। त्यसबेला ८ लाख ६६ हजार क्रियाशील थियो अहिले घटेर ६ लाख हाराहारीमा आयो भन्ने टिप्पणी गरेको पनि सुनिएको छ।
अहिले अधिवेशनका लागि अन्तिम चरणको सदस्यता कार्य सम्पन्न गरेको होइन भन्ने बुझ्नुपर्छ। अहिलेका सभापति गगन थापाजी पहिले महामन्त्री र क्रियाशील व्यवस्थापन समिति संयोजक हुँदा उहाँले १५ औं महाधिवेशन तयारी सन्दर्भमा पुस १० गतेसम्म ७ लाख ८२ हजार २०९ सदस्यहरूको नवीकरण भएको र नयाँ सदस्यता प्रविष्ट भएको स्थिति थियो। त्यसबेला सबै वडा र क्षेत्रबाट क्रियाशील नवीकरण भएको अवस्था पनि थिएन। सबैतिर नयाँ सदस्यता वितरण भएको अवस्था पनि थिएन, त्यो हुँदै थियो बीचमा ब्रेक भयो।
अहिले हामीले त्यही पुस १० गतेसम्मको ७ लाख ८२ हजार २०९ सदस्यलाई अद्यावधिक गर्न योग्य मानेर गरेको हो। त्यसबाट अद्यावधिक गर्दा अहिले ५ लाख २८ हजार ६२२ जना, जसले एनसी आइडी प्राप्त गरिसक्नुभएको छ। उहाँहरूले वडाबाट आवेदन भर्नुभयो, वडा सभापतिले स्वीकृति दिनुभयो र एनसी आइडी पनि प्राप्त गरिसक्नुभयो।
अब एक लाख ४९ हजार ३०९ जना एनसी आइडी प्राप्त गर्ने चरणमा हुनुहुन्छ। उहाँहरूले वडाबाट नभई म कांग्रेस सदस्य हुँ, अद्यावधिक गर्नुपर्छ भनेर स्वइच्छाले अद्यावधिक गर्न आउनुभयो। उहाँहरूलाई वडाले स्वीकृति दिएको छैन। उहाँहरूले एनसी आइडी प्राप्त गर्नु भइसकेको पनि छैन। उहाँहरू आफ्नो खुसीले अद्यावधिक गर्न आउनुभएको हो, कारबाहीमा परेका बाहेकलाई अद्यावधिक नगर्ने छुट कांग्रेसको कुनै पनि तहलाई छैन। स्वइच्छाले अद्यावधिक गर्न चाहेका सबैको अद्यावधिक हुन्छ र कोही अनुशासन समिति कारबाहीमा परेको छ भने हुँदैन।
योसहित अद्यावधिक हुने क्रियाशील संख्या ६ लाख ८७ हजार ९३१ पुग्छ। यो संख्या पहिले हामीले अद्यावधिक गर्न योग्य भनेको संख्यासँग घटाउँदा अब जम्मा ९४ हजार ६ सय ८१ जना मात्रै बाँकी रहन्छ।
राजनीतिक प्रभावमा परेका, मृत्यु भएका, अन्य पार्टीमा गएका अथवा जे जे कारणले अद्यावधिक नगरेका कूल संख्या ९४ हजार ६ सय ८१ जना मात्रै हो।
यसमा त निवर्तमान सभापति शेरबहादुर देउवासहित धेरै शीर्ष नेता पर्नुभयो नि!
हामीले नयाँ क्रियाशील सदस्यता वितरणका लागि आवेदन खुला गरिसकेका छौं। यसबीचमा यी ९४ हजार ६ सय ८१ जनामध्ये कसैले क्रियाशील अद्यावधिक गर्न चाहनुभयो र पार्टीमा भन्नुभयो भने अद्यावधिक गरिन्छ। नयाँ क्रियाशील वितरण अवधिभित्र उहाँहरू कसैले क्रियाशील अद्यावधिक गर्न चाहनु भयो भने पार्टीले अद्यावधिक गर्छ। शीर्ष नेता वा निरन्तर पार्टीमा रहेका जो-कोहीलाई हामी क्रियाशील अद्यावधिक गराउन चाहन्छौं, त्यसको वातावरण बनाउन चाहन्छौं तर उहाँहरूले म अद्यावधिक गराउन चाहन्छु भनेर खबर गर्नुपर्यो।
पार्टीले स्वत: क्रियाशील अद्यावधिकचाहिँ गर्दैन?
व्यक्तिको इच्छा छैन भने पार्टीले कसरी अद्यावधिक गर्छ? हामीले अद्यावधिक नै इच्छा भएकाहरूलाई मात्रै पार्टीको सदस्य बनाउनका निम्ति गरेको हो। इच्छा नै छैन भने हामीले जबरजस्ती बनाउने कुरा हुँदैन।
जसले क्रियाशील अद्यावधिक गरेनन् उनीहरू कांग्रेस रहन्छन् कि रहँदैनन् भन्ने पनि छ नि!
कोही कांग्रेस रहने वा नरहने भन्ने कुरा कसैको इच्छाले भन्दा पनि अब पार्टीमा विकसित हुँदै जाने प्रणालीले नै त्यसलाई कांग्रेस रहन दिँदैन। जस्तै, सूचना प्रणाली नै फेरियो, अद्यावधिक नगरेका साथीहरूलाई त सूचना नै जाँदैन। सम्पर्कको माध्यम नै फेरियो, रजिस्ट्रेसनको प्रक्रिया नै फेरियो। अब असोजमा १५ औं महाधिवेशन हुन्छ, डिजिटल रूपमा हुने भयो। एनसी आइडी हुनेले मात्र सहभागी वा मतदान गर्न पाउने भयो। अब विकसित हुने प्रणालीले नै अद्यावधिक नगर्ने व्यक्तिलाई नेपाली कांग्रेसको अधिवेशन वा कुनै पनि गतिविधिमा संलग्न हुनै नमिल्ने स्थिति बनाउँछ।
अद्यावधिक हुनुअघि के-के विवरण पार्टीसँग थियो, अहिले के थपियो?
क्रियाशीलको नवीकरण गर्दा पार्टीसँग हरेक व्यक्तिको नाम मात्रै थियो, केही हजारका संख्यामा फोन नम्बर थिए। अहिले थप विवरणसहित क्रियाशील अद्यावधिक गरेपछि पार्टीसँग हरेक क्रियाशील सदस्यको मोबाइल नम्बर, ८० प्रतिशतभन्दा बढी सदस्यको सामाजिक सञ्जाल आइडी, परिवार संख्यामा मतदाताको संख्या प्राप्त भयो, विदेशमा रहेकाहरूको संख्या प्राप्त भयो। यतिमात्र होइन, नागरिकता नम्बर, राष्ट्रिय परिचय पत्र नम्बर र मतदाता नम्बरमध्ये एउटा प्राप्त भयो। क्रियाशील सदस्यको योग्यता र इच्छा तथा योगदानलगायत विवरण पनि प्राप्त भएका छन्।
क्रियाशीलको यो विवरण पार्टीले के काममा प्रयोग गर्छ?
क्रियाशील सदस्यता अद्यावधिक गरेपछि पार्टीसँग सबै सदस्यहरू जोडिने स्थिति बन्यो। अब पार्टीले आफ्ना सूचना जे दिन चाहेको हो त्यो तत्कालै सबै सदस्यहरूलाई एकै पटक दिन सक्छ। पार्टीले सञ्चालन गरेका अभियानमा सबै सदस्यहरूलाई जोड्न, निर्वाचनमा परिचालन तथा सामाजिक सञ्जालमा पार्टीले कस्तो सन्देश प्रवाह गर्न खोजेको हो सबै सदस्यहरूलाई सक्रिय बनाउन सक्छ। पार्टीले आफ्ना सदस्यहरूलाई सम्पर्क गर्नका लागि अब पेपरको प्रयोग गर्न पर्दैन। प्रविधिबाट चल्ने कांग्रेस तयार हुन्छ।
क्रियाशील अद्यावधिक नगर्ने असन्तुष्ट पक्ष पनि छ, पार्टीले कसरी समेट्छ?
पार्टीलाई व्यवस्थित गर्न, प्रविधिसँग जोड्नका लागि सहयोग पुग्छ भनेर अद्यावधिक गरिएको हो, यो कुनै व्यक्ति वा विशेष नेतालाई बलियो बनाउन गरिएको होइन। यसबाट पार्टीलाई लाभ मात्रै छ हानि छैन। त्यसैले हाम्रो आग्रह सदस्यता अद्यावधिकलाई आन्तरिक विवादको विषय नबनाइदिनुस्, बार्गेनिङको विषय नबनाइदिनुस्, यसलाई सबैको सहमतिको विषय बनाइदिनुस्। यति छोटो समयमा डिजिटल प्लेटफर्म निर्माण गरेकोमा हामीलाई धन्यवाद दिनुस्, प्रेरित र प्रोत्साहित गरिदिनुस्। क्रियाशील सदस्यता अद्यावधिकलाई पूर्णता दिने कुरामा अग्रज नेताहरूले मद्दत गरिदिनुपर्छ, उहाँहरूलाई पनि हामी यसमा समावेश गर्न चाहन्छौं, इच्छामात्रै गरिदिए पुग्छ। कुनै पार्टीको सदस्य भए मात्रै त्यस पार्टीभित्र छलफल गर्न सकिन्छ, पार्टी सदस्य नै नरहे केही गर्नै सकिन्न, यो कुरा बुझ्नुपर्छ।