सन् २०२६ को फिफा विश्वकप आज रातिबाट सुरू हुँदैछ।
क्यानडा, मेक्सिको र अमेरिकामा हुन लागेको विश्वकपको पहिलो खेल आज राति पौने एक बजे मेक्सिको र दक्षिण अफ्रिकाबीच हुँदैछ। यसपटकको विश्वकपमा सबभन्दा बढी ४८ टोली प्रतिस्पर्धा गर्दै छन्।
यसपालि फ्रान्स र स्पेनलाई मुख्य दाबेदार मानिएको छ भने त्यसबाहेक इङ्ल्यान्ड, अर्जेन्टिना र ब्राजिल पनि दाबेदार हुन्। नेदरल्यान्ड्स, जर्मनी र पोर्चुगल पनि उपाधि जित्न सक्ने टोलीमा पर्छन्।
केलियन एमबाप्पे र उस्मान डेम्बेले जस्ता स्टार खेलाडीहरूले फ्रान्सलाई बलियो बनाएका छन्। स्पेनका १८ वर्षीय युवा प्रतिभा लमिन यामलको जादु हेर्न पनि सबै आतुर छन्।
लगातार दुई पटक युरो कपको फाइनल पुगेको इङ्ल्यान्ड र पाँच पटकका कीर्तिमानी विजेता ब्राजिल पनि बलिया प्रतिद्वन्द्वी हुन्। ब्राजिल सन् २००२ पछि पहिलो पटक छैटौं उपाधि जित्ने दाउमा छ।
त्यस्तै अर्जेन्टिना पनि लगातार दुई पटक विश्वकप जित्ने लक्ष्यमा छ। मुख्य खेलाडी लिओनल मेसीको जादू फेरि हेर्न विश्व फुटबल आतुर छ।
लिओनल मेस्सी (३९ वर्ष) र क्रिस्टियानो रोनाल्डो (४१ वर्ष) को यो सम्भवतः अन्तिम विश्वकप हुनेछ। साथै, नेइमार, भिनिसियस जुनियर, जुड बेलिङ्घम, इर्लिङ हालान्ड र दक्षिण कोरियाका सन ह्युङ-मिन जस्ता खेलाडीहरूको खेल निकै रोमाञ्चक हुने अपेक्षा छ।
हेर्नुहोस भिडिओ —