मध्य प्रशान्त महासागरको पानी र हावा सामान्यभन्दा तात्ने 'एल निनो' भनिने मौसमी अवस्था यो वर्ष झनै प्रखर हुने र त्यसले भारत, चीन लगायतका एसियाली देशमा विपद निम्त्याउन सक्ने चेतावनी संयुक्त राष्ट्र संघले दिइसकेको छ।
राष्ट्र संघीय विश्व मौसम संगठन डब्लुएमओका अनुसार अहिले बिस्तारै बढ्ने क्रममा एल निनो भनिने शक्तिशाली प्राकृतिक मौसमी अवस्था सेप्टेम्बरसम्म पूरै विकसित भइसक्ने सम्भावना ८० प्रतिशत छ। नभए पनि एल निनो नोभेम्बरसम्म पूरै विकसित भइसक्ने सम्भावना ९० प्रतिशत छ।
नेपालको मौसम विज्ञान विभागका अनुसार यहाँ पनि लगातार विगत तीन महिनादेखि तापक्रम सामान्यभन्दा ०.५ डिग्री सेल्सियसले बढ्ने क्रममा छ। त्यसरी तातो बढ्ने क्रम अझै अर्को दुई महिना जारी रहे त्यसलाई मौसमविदहरू एल निनोको असर मान्छन्।
विज्ञहरूको पूर्वानुमान अनुसार सरदरभन्दा कम वर्षासँगै गर्मी तथा खडेरी र अचानक घना वर्षा यो मनसुनका नौला विशेषता हुने छन्।
मानव सिर्जित जलवायु परिवर्तनका कारण एल निनोको असर यो वर्ष झनै विकराल बन्न सक्ने वैज्ञानिकहरूको चेतावनीबीच विश्वमा चरम मौसमी अवस्था उत्पन्न हुने चिन्ता ह्वात्तै बढेको छ।
सँगसँगै चर्को गर्मी र लामो खडेरी वा घना वर्षाजस्ता विपदले धेरैलाई इतिहासमा विभिन्न कालखण्डमा एल निनोकै कारण भएका ठानिएका भयंकर त्रासदीपूर्ण भोकमरी, महामारी र राजनीतिक कायापलटका घटना स्मरण गराइदिएको छ।
त्यस्तो पूर्वानुमानबीच लामो खडेरी वा अधिक वर्षाको चपेटामा पर्न सक्ने नेपाल, भारत र चीन लगायत एसियाका कैयौं देशहरूले आवश्यक सतर्कता र सावधानी अपनाउनुपर्नेमा विज्ञहरूले जोड दिइरहेका छन्।
पृथ्वी तात्ने क्रम बढ्दै गर्दा देखिएको जलवायु संकटका कारण यो वर्ष एल निनोको असर के कस्तो हुने हो, त्यसबारे वैज्ञानिक अध्ययन र लेखाजोखा जारी छ।
एल निनो के हो र किन हुन्छ?

वायुमण्डलमा हुने हावाको प्राकृतिक बहाव यताउता हुँदा कुनै वर्ष मध्य प्रशान्त महासागरको पानी र हावा सामान्यभन्दा तात्ने अवस्था उत्पन्न हुन्छ। यसलाई एल निनो भनिन्छ।
एल निनो शब्दको पहिलो प्रयोगको इतिहास पेरूबाट सुरू भएको थियो जहाँ क्रिसमसको जाडोका बेला प्रशान्त महासागरका माछा किनारामा देखिन्थे। त्यसलाई पेरूभियनहरूले 'एल निनो' अर्थात् क्राइस्टको बालक भन्न थाले।
मध्य प्रशान्त महासागर तात्ने त्यही अवस्थाबारे सोधखोज गरेका क्यालिफोर्निया विश्वविद्यालयका मौसमविद जेकब ब्जेक्नेसले सन् १९६० अध्ययनको नयाँ क्षेत्र फेला पारिदिए। त्यो थियो — मध्य प्रशान्त महासागरको पानी र हावाको तापक्रम जसको प्रभाव पूरै विश्वको मौसम प्रणालीमा पर्थ्यो र परिरहेको छ।
त्यसैले मध्य प्रशान्त महासागरको विशाल चतुर्भुजीय क्षेत्रमा अध्ययनहरू जारी छन्।
एल निनोसँग जोडिएको भयंकर इतिहास

पहिले पहिले एल निनोबारे धेरै ज्ञान उपलब्ध थिएन। अहिले विश्वव्यापी मौसममा हलचल ल्याइदिने गरेको एल निनो मौसमी अवस्थाको इतिहास कोट्याउँदा एउटा तथ्य स्पष्ट पाइन्छ — एल निनो भएका वर्षहरूमा विश्वमा लामो खडेरी, भोकमरी र महामारी भएका कारण आर्थिक–सामाजिकसँगै राजनीतिक उथलपुथल समेत भएको इतिहास छ।
चाहे त्यो प्राचीन इजिप्टमा भएका राजनीतिक र आर्थिक संकट हुन्, वा करिब १००० वर्षअघि अहिलेको पेरूमा जमेको मोचे सभ्यताको पतन होस् — एल निनोकै कारण ती संकट आएको निष्कर्ष केही अध्येताहरूले निकालेका छन्।
सन् १७०० को अन्त्यतिर फ्रान्सको राजसत्ता नै ढाल्ने गरी भएको फ्रान्सेली क्रान्ति (१७८८–१७९३) समेत एल निनोको सम्भाव्य उपज भएको हुनसक्ने इतिहासविदहरू बताउँछन्।
कारण — त्यति बेला विश्वभर देखिएको घातक 'ग्रेट एल निनो' ले युरोपभरि बालीनाली बिफल मात्रै तुल्याइदिएन, खाद्य अभावबीच अकासिँदो मूल्यवृद्धिका कारण हैरान भएका मानिस क्रुद्ध तथा आन्दोलित भएका थिए।
खराब मौसम खडेरीका साथै अन्य राजनैतिक कारणले उग्र बनेको फ्रान्सेली क्रान्ति उत्कर्षमा पुग्दा सन् १७९३ मा फ्रान्सका तत्कालीन राजा लुई १६ औं मारिएका थिए।
एल निनोले सबैभन्दा विकराल संकट चाहिँ सन् १८७७–१८७८ मा ल्याइदेखिएको थियो। त्यो बेला अत्यधिक गर्मी हुने दक्षिण भारत र दक्षिण चीन लगायत देशहरूमा दसौं लाख मानिसको ज्यान गएको थियो। एक अध्ययन अनुसार त्यही परिघटनापछि संसार समृद्ध 'पहिलो विश्व' र विपन्न 'तेस्रो विश्व' का रूपमा विभाजित हुन थालेको हो।
नयाँ चेतावनी
२०८१ असोजमा बाढीले बढारेको खण्डहर रोशी कलाती। तस्बिरः विनोद न्यौपाने
गत जुन २ मा डब्लुएमओले मध्य प्रशान्त महासागरको पानी अत्यधिक तातो हुने क्रम जारी रहेसँगै एल निनोको जोखिम बढिरहेको बतायो।
एक प्रेस रिलिजमार्फत उसले त्यस्तो मौसमी अवस्थाका कारण विश्वभरि नै गर्मी बढ्ने र वर्षा हुने तौरतरिका बदलिएर आउने महिनाको मौसम अति खराब हुन सक्ने जोखिम औंल्यायो।
फलस्वरूप जुन र जुलाइको तापक्रम सामान्यभन्दा बढी हुने चेतावनी दिइएको छ। तर प्रभावकारी पूर्वानुमान तथा पूर्वतयारीले जीवन तथा जीविका बचाउन सकिने उल्लेख गरेको छ।
त्यसका लागि सुझबुझमा आधारित निर्णय गरेर सही योजना बनाउन आह्वान गरिएको छ।
सामान्य किसिमको एल निनो हुँदा १ डिग्री सेल्सियस तापक्रम बढ्छ। तर विगत ५० वर्षमा, जस्तै— सन् १९८२, १९८७ र २०१५ मा देखिएका एल निनोका बेला त्यो २ डिग्री सम्मले बढेको पाइएको छ। जस कारण विश्वले जनधन तथा आर्थिक क्षति बेहोरेको थियो।
नेपालमा भने सन् २०१६ र सन् २०२३ मा तापक्रम झन्डै १ डिग्रीले बढेको मौसम विज्ञान विभागको तथ्यांकले देखाउँछ।
कतिपय पूर्वानुमान अनुसार यो वर्ष एल निनो यही क्रमले विकसित भइरहे ३ डिग्री सेल्सियससम्म तापक्रम बढ्न सक्छ। जुन निकै चिन्ताजनक अवस्था हो किनभने सन् १८७७ को एल निनोको बेला समेत तापक्रम त्यति धेरै बढेको थिएन।
कतिपय वैज्ञानिकहरूले यस पटकको एल निनोले नयाँ कीर्तिमान कायम गर्ने चिन्ता व्यक्त गरेका छन्। तर पनि उनीहरू आशावादी छन्, एल निनोको हाल देखिएको विकासक्रम कुनै कारणवश कम हुन गएमा त्यस्तो डरलाग्दो स्थिति आउने छैन।
नेपालमा सावधानी
बाँकी विश्वले जस्तै नेपालमा पनि सन् १९८० यता मात्रै नौ पटक एल निनोको असर भोगिसकेको छ। त्यस्तो असर सन् १९८२, १९८७, १९९१, १९९७, २०००, २००४, २००९, २०१५ र २०२३ मा नेपालले भोगिसकेको छ। कुनै कुनै एल निनोको असर त अघिल्लो वर्ष समेत तन्किएर चरम मौसमी अवस्था उत्पन्न हुन पुगेको मौसमविदहरू सम्झिन्छन्।
यस पटक त्यसले कस्तो असर गर्ला? नेपाल र भारत सहितका दक्षिण एसियाली देशहरूमा एल निनोका कारण अहिले सुरू हुन लागेको मनसुन सकिने बेलामा कमजोर हुने र लामो खडेरी वा अधिक वर्षाजस्ता चरम अवस्था आउन सक्ने चेतावनी विज्ञहरूले दिइसकेका छन्।
'हो एल निनोका कारण लामो खडेरी हुन सक्ने र बीचमा फेरि एकैचोटि घना वर्षा हुनसक्ने हाम्रो पूर्वानुमान छ, तर हामी कहाँ पर्याप्त अध्ययन हुन सकेको छैन,' जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता एवं वरिष्ठ मौसमविद विभूती पोखरेलले भनिन्, 'सम्भाव्य विपदबारे सावधान रहेर पूर्वतयारी अपनाउन हामीले सरोकारवाला निकायलाई जानकारी गराइसकेका छौं।'
उनका अनुसार लामो खडेरी हुने अवस्थाबाट बच्न पिउने पानी र सिँचाइका लागि सरकारी तथा सामुदायिकस्तरमा पानी संकलन र भण्डारणका उपाय अपनाउन सकिन्छ। साथै पछिल्लो समयमा बारम्बार हुन थालेका एकैचोटि हुने भारी वर्षाबाट बच्ने उपायबारे समेत सबैपक्षले गम्भीर भएर सोच्ने बेला आइसकेको छ।
अत्यधिक गर्मी र तापक्रम वृद्धिका कारण हुन थालेका चरम मौसमी घटनाका कारण हालैका वर्षहरूमा हिमाली क्षेत्रमा हिमताल विस्फोटन हुने क्रम समेत बढेको पाइन्छ।
यस पटक पनि त्यस्तो जोखिम कायमै रहेको भए पनि त्यसको पूर्वानुमान गर्न मौसमविदहरू अझै पूरै सक्षम भइसकेका छैनन्।
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal