गुड फ्राइडे सिनेमा
रेजिना ल्याम्पर्ट फ्रान्सको एक स्की रिसोर्टमा छुट्टी मनाउन गएकी हुन्छिन्। त्यहाँ उनको भेट पिटर जोशुआ नामका एक आकर्षक पुरूषसँग हुन्छ।
त्यो समयमा उनी आफ्ना श्रीमान चार्ल्ससँग सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगिसकेकी हुन्छिन्।
पेरिस फर्किएपछि उनको जीवन अचानक बदलिन्छ।
उनले आफ्ना श्रीमानको हत्या भएको खबर पाउँछिन्।
रेजिनाले यो पनि थाहा पाउँछिन् — उनका श्रीमानले दोस्रो विश्व युद्धको समयमा आफ्ना केही साथीहरूसँग मिलेर अमेरिकी सरकारको ठूलो रकम चोरेका थिए।
त्यो पैसा कहाँ लुकाइएको छ भन्ने रहस्य कसैलाई थाहा हुँदैन।
चार्ल्सका तीन पूर्वसाथीहरू उक्त पैसा खोजिरहेका हुन्छन्। उनीहरू रेजिनालाई त्यसबारे केही जानकारी छ भन्नेमा विश्वस्त हुन्छन्।
त्यसपछि रेजिना उनीहरूको निशानामा पर्छिन्।
यसबीच स्की रिसोर्टमा भेटिएका पिटर जोशुआले उनलाई सहयोग गर्न खोज्छन्। तर पिटरले बारम्बार आफ्नो नाम र परिचय बदलिरहेकाले रेजिना उनलाई विश्वास गर्ने कि नगर्ने दुविधामा हुन्छिन्।
श्रीमानको हत्या, चोरी भएको पैसा, पिटरको वास्तविक पहिचान— रेजिना यो भूमरीबाट कसरी उम्केलिन्? यसबीच के रहस्य खुल्दै जान्छन्?
यसका लागि हेर्नुपर्छ स्ट्यान्ली डोनेनद्वारा निर्देशित, अड्री हेपबर्न र केरी ग्रान्टको मुख्य भूमिका भएको फिल्म 'चारेड'।
सन् १९६३ मा रिलिज चारेड हलिउड इतिहासको मनोरञ्जनात्मक रहस्यप्रधान फिल्ममध्ये एक मानिन्छ। कथामा आउने अप्रत्याशित मोडहरूले दर्शकलाई अन्तिम क्षणसम्म बाँधेर राख्ने क्षमताका कारण फिल्मले समीक्षक र दर्शकहरूबाट विशेष प्रशंसा पाएको थियो।
सुरूमा यसको कथा फिल्म स्टुडियोहरूले अस्वीकार गरेका थिए। पछि यसलाई किताबका रूपमा प्रकाशन गरियो र त्यो लोकप्रिय भयो। अनि भने फिल्म निर्माणको प्रक्रिया अघि बढेको थियो।
चारेड करिब ३० लाख अमेरिकी डलरमा बनेको थियो। कमाइ भने १ करोड ३० लाख डलरभन्दा बढी गर्यो। त्यो समय यो निकै ठूलो व्यावसायिक सफलता हो।
चारेडले विभिन्न प्रतिष्ठित पुरस्कार पनि पाएको थियो।
क्लासिक फिल्म मानिने चारेड दशककै उत्कृष्ट मनोरञ्जनात्मक थ्रिलर फिल्म हो। आज गुड फ्राइडे सिनेमामा हामीले यही फिल्म सिफारिस गरेका छौं।
हेर्नुस् युट्युबमा