काठमाडौं महानगरले महानगरभित्रका डुबान जोखिम क्षेत्र पहिचान गरेको छ।
महानगरले गठन गरेको योजना तर्जुमा कार्यदलले महानगरभित्रका १२८ ठाउँ डुबान जोखिम क्षेत्रका रूपमा पहिचान गरेको हो।
यसबाट करिब ८ हजार ३१५ परिवार प्रभावित हुन सक्ने अनुमान छ।
महानगरको विपद व्यवस्थापन विभागका प्रमुख एवं समितिका सदस्य सचिव अनिरुद्र नेपालका अनुसार बागमती, विष्णुमतीको दोभानबाट तल्लो भेगमा पर्ने वडा नं. १४ सबैभन्दा बढी जोखिममा देखिएको छ।
'वडा १४ सँगै वडा नं. १३, १५, २९, १०, १६,२६, ३२, १२ बढी जोखिममा देखिन्छन्। डुबान हुने ठाउँका आधारमा वडा नं ३० मा २१ ठाउँ, वडा नं. ४ र वडा नं. ३२ मा १०–१० ठाउँमा डुवानको जोखिम देखिन्छ,’ उनले भने।
प्रभावका दृष्टिले वडा नं १६ सबैभन्दा धेरै प्रभावित देखिन्छ।
सामाखुशी, विष्णुमती र अन्य खहरे खोलाहरुले यस वडामा करिब १ हजार ६ सय परिवार प्रभावित हुने अनुमान छ।
वडा नं. २६ मा १ हजार २५५ घरधुरी, ६ ठाउँमा डुवान हुने स्थान पहिचान गरिएको वडा नं. ३ मा ९५० परिवार प्रभावित, १० ठाउँ डुवानमा पर्ने वडा नं. ४ मा ९५५ घरधुरी प्रभावित हुने देखिएको महानगरले जनाएको छ।
कार्यदलले विपद पूर्वतयारी एवम् प्रतिकार्य योजना पनि ल्याएको छ।
कार्ययोजनामा वडास्तरीय विपद व्यवस्थापन समिति, जनप्रतिनिधि, सुरक्षा निकाय, दमकल, एम्बुलेन्स, स्वास्थ्य सेवा लगायत आकस्मिक सेवा लिनु पर्ने क्षेत्र र अधिकारीका टेलिफोन नम्बरहरु राखिएका छन् । स्रोत र उपकरणहरुको विवरण उल्लेख गरिएको छ ।
जोखिम घटाउन, घटना भए उद्धार, राहत, व्यवस्थापन तथा पुनर्लाभका लागि महानगरपालिकाका ११ वटा विभागका जिम्मेवारी कार्ययोजनामा तोकिएका छन् ।
विपदका समयमा प्रयोग गर्न सकिने ५१ वटा पार्क, २८ वटा खुला क्षेत्र र ८७ वटा विद्यालय पहिचान गरिएका छन् ।
कार्यवाहक मेयर सुनिता डंगोलले सम्भावित डुवानको जोखिम घटाउन पूर्वाधार, सरसफाइ जस्ता तयारी नियमित सञ्चालन गर्न, समन्वय र सहकार्यको प्रणाली कार्यान्वयन योग्य बनाउन, विपदका समयमा ठेगाना प्रणालीका कारण अलमल नहुने अवस्था निर्माण गर्न विपद् व्यवस्थापन विभागलाई निर्देशन दिएकी छन्।
'स्वीकृत कार्ययोजना कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित विभाग र जिम्मेवार तोकिएका अधिकारीहरुको तदरुकता अवको आवश्यकता हो। वैठकमा समितिका संयोजक डंगोलले भनिन्, ‘राम्रो कार्ययोजना कार्यान्वयन गर्न निरन्तर अभ्यास, स्पष्ट कार्य विभाजन, तोकिएका स्थानमा तोकिएका सामानको उपलब्धता, ती सामानमा सम्बन्धित अधिकारी वा समुदायको पहुँच सुनिश्चित गर्नु।'
गत वर्षहरुको अविरल बर्षाका कारण सहरी जीवनमा उत्पन्न भएको बाढी र डुवानजन्य जोखिम फेरि नदोहोरियोस् भन्नेमा सचेत भएर महानगरपालिकाले जोखिम न्यूनीकरणका लागि नदी सरसफाइ, डुवान समाधान जस्ता कार्यक्रम सञ्चालन गरिरहेको महानगरले जनाएको छ।
नदी तथा नदी किनारा, ढल प्रणाली, सतह ढल प्रणाली, सडक किनारामा भएका स्ल्याब, ह्युम पाइप, क्याचपिट र मेल होल खोलेर त्यहाँ जम्मा भएको फोहर निकाल्ने कामका लागि दैनिक ३० जना जनशक्तिले काम गरिरहेको पनि बैठकमा बताइएको छ। ढलको जल प्रवाहमा अवरोध हटेपछि सम्भावित डुवान र वाढीको जोखिम कम हुने बताइन्छ।