बुधबार बिहान रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणीसम्म आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गरेको छ। मृतक र सम्पर्कविहीनको संख्या निरन्तर अपडेट भइरहेको छ।
बिहीबार बिहानसम्म उपलब्ध सरकारी विवरण, अमेरिकी भूगर्भ सर्वेक्षण, जल तथा मौसम विज्ञान विभाग, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल विद्युत प्राधिकरण तथा अन्य विश्वसनीय स्रोतका आधारमा यस बाढीबारे जान्नुपर्ने १० मुख्य तथ्य यस्ता छन्।
१. बाढी कसरी आयो? भूकम्पले ठूलो हिमताल फुटाएको हो?
सुरूमा चीनको तिब्बत क्षेत्रस्थित कुनै हिमताल फुटेर यो बाढी आएको अनुमान गरिएको थियो। तर अहिलेसम्मको वैज्ञानिक प्रमाणले त्यसो भन्दैन।
बुधबार बिहान ८:३७ बजे त्यस क्षेत्रमा भूकम्प गएको प्रारम्भिक विवरण आयो। खानी तथा भूगर्भ विभागले ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको जनाएको छ। त्यसै आधारमा परराष्ट्रमन्त्री शिशिर खनालले भूकम्पका कारण हिमपहिरो गएको हुन सक्ने जानकारी संसदमा दिएका थिए।
तर पछि अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले उक्त कम्पन पुनर्विश्लेषण गर्दा त्यहाँ भूकम्प नगएको निष्कर्ष निकालेको छ। सुरूमा ४.४ म्याग्निच्युडको भूकम्प मानिएको उक्त घटना थप अध्ययनपछि हिमनदी र गेग्रानसहितको विशाल पहिरोबाट उत्पन्न कम्पन भएको युएसजिएसले जनाएको छ।
युएसजिएसका अनुसार हिमनदी र चट्टान भत्किँदा उत्पन्न कम्पनको परिमाण करिब ५.२ म्याग्निच्युडको भूकम्प सरह मापन भएको थियो। अर्थात्, भूकम्पले हिमपहिरो ल्याएको भन्नेभन्दा हिम–चट्टान भत्किँदा भूकम्पजस्तो कम्पन उत्पन्न भएको पछिल्लो वैज्ञानिक निष्कर्ष छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्लानेट ल्याबको स्याटलाइट तस्बिर विश्लेषणका आधारमा 'नेपाल-चीन रसुवागढी नाकाबाट २० किलोमिटर उत्तरपूर्वपट्टि हिमपहिरो गएका कारण भोटेकोशीमा भीषण बाढी आएको' निष्कर्ष निकालेको छ।
उक्त हिमपहिरो गएपछि चिनियाँ सिमानाकै ल्हेन्दे खोलामा गेग्रान सहितको बाढी आएको प्राधिकरणले जनाएको छ।
'प्लानेट ल्याबको स्याटलाइट तस्बिर विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययन अनुसार नेपाल-चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल-चीन सिमानामा गएको हिम-चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रान सहितको बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशूली नदीमा प्रवेश गरेको देखिएको छ,' प्राधिकरणले फेसबुकमार्फत दिएको सूचनामा भनिएको छ।
बाढी पूर्वानुमान महाशाखाका हाइड्रोलोजिस्ट सौहार्द जोशीले प्लानेट ल्याबको डेटा अध्ययन गरेर प्राधिकरणले जारी गरेको सूचना नै अहिलेसम्मको सबभन्दा भरपर्दो सूचना भएको बताएका छन्।
यी सबै प्राविधिक तथ्य विश्लेषण गर्दा नेपाल–चीन सीमा क्षेत्रमा ठूलो हिम–चट्टानको पहिरो गएको र त्यसबाट ठूलो परिमाणमा हिउँ, चट्टान र गेग्रान ल्हेन्दे खोलातिर खसेको देखिन्छ। त्यसले नदीको बहाव थुन्यो र पानी जम्मा भएर अस्थायी तालजस्तो बन्यो। पछि त्यो प्राकृतिक अवरोध भत्किएपछि पानी, हिलो, बरफ र चट्टान एकैचोटि तलतिर बगे र भीषण बाढीको रूप लियो।
अर्थात् अहिलेसम्म देखिएको सम्भावित क्रम यस्तो हो— हिम–चट्टान भत्कियो, नदी थुनियो, पानी जम्मा भयो, प्राकृतिक बाँध भत्कियो र भीषण बाढी आयो।
२. हिम–चट्टान कहाँ भत्कियो? रसुवागढीबाट कति टाढा हो? नदीको नाम के हो?
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्याटलाइट तस्बिर अध्ययन गर्दा हिम–चट्टान भत्किएको क्षेत्र रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व देखिएको जनाएको छ।
त्यस क्षेत्रको बाढीसँग प्रत्यक्ष जोडिएको नदीलाई ल्हेन्दे खोला भनिन्छ।
घटना ठ्याक्कै नेपाल वा चीनको कुन भूभागबाट सुरू भयो भन्नेमा प्रारम्भिक विवरणहरू फरक छन्। केही प्रारम्भिक नेपाली विवरणले तिब्बततर्फ संकेत गरेका थिए। इसिमोडका विज्ञहरूले भने हिम–चट्टानको पहिरो नेपाली भूभागतर्फ गएको बताएका छन्।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाले पनि गियरोङ क्षेत्रमा भएको विनाशलाई नेपालतर्फ गएको पहिरोसँग जोडेको छ।
त्यसैले अहिलेका लागि 'नेपाल–चीन सीमा क्षेत्रमा गएको हिम–चट्टानको पहिरो' भन्नु सबभन्दा बढी तथ्यसंगत हुन्छ।
३. तिब्बतबाट आएको बाढी भोटेकोशी हुँदै त्रिशूली र नारायणीमा पुगेको हो?
माथिल्लो सीमाक्षेत्रबाट आएको बाढी भोटेकोशी नदी प्रणालीमा मिसियो। त्यसपछि त्रिशूली हुँदै नुवाकोट र धादिङतिर बढ्यो र मुग्लिनपछि नारायणी नदी प्रणालीमा प्रवेश गर्यो।
जल तथा मौसम विज्ञान विभागको प्राविधिक प्रतिवेदन अनुसार बिहान ९ बजे जिल्ला प्रशासन कार्यालय रसुवा र बेत्रावती जलमापन केन्द्रका कर्मचारीबाट भोटेकोशीमा ठूलो बाढी आएको सूचना बाढी पूर्वानुमान महाशाखाले पाएको थियो।
बाढी बिहान करिब १०:२८ बजे गल्छी पुग्यो। त्यसपछि मलेखु हुँदै दिउँसो करिब १ बजे मुग्लिन र ३:२० बजेतिर देवघाट पुगेको थियो।
देवघाटबाट मात्रै सामान्य बहावभन्दा करिब २ करोड घनमिटर अतिरिक्त पानी बगेको प्रारम्भिक अनुमान गरिएको छ।
बाढीले चारवटा स्वचालित जलमापन केन्द्रसमेत बगाएको छ।
४. अहिलेसम्म कति मानिसको मृत्यु भयो? कति सम्पर्कविहीन छन्?
बिहीबार बिहानसम्म नेपाल प्रहरीको विवरणअनुसार १६२ जनाको शव फेला परेको छ।
सबभन्दा धेरै चितवनमा ६४, धादिङमा २७, पूर्वी नवलपरासीमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९ तथा रसुवा र पश्चिम नवलपरासीमा २/२ शव फेला परेका छन्।
तर कुल कति मानिस बेपत्ता वा सम्पर्कविहीन छन् भन्ने अझै यकिन छैन। विभिन्न निकायले छुट्टाछुट्टै सूची बनाइरहेका छन्।
नेपाल पर्यटन बोर्डले बुधबार रातिसम्म ४०३ पर्यटक तथा यात्रू सम्पर्कविहीन रहेको जनाएको थियो। तीमध्ये ३४१ विदेशी र ६२ नेपाली छन्।
यस अतिरिक्त प्रहरी, सुरक्षा निकाय, जलविद्युत आयोजना, स्थानीय प्रशासन र अन्य संस्थाका छुट्टाछुट्टै सूची छन्। पछिल्ला अन्य संकलनमा योभन्दा ठूलो संख्या पनि आएको छ। तर ती सूचीमा एकै व्यक्ति दोहोरिन सक्ने र सम्पर्कविहीन व्यक्ति पछि सम्पर्कमा आउन सक्ने भएकाले अहिले सबै संख्या जोडेर एउटा कुल बेपत्ता संख्या निकाल्नु उचित हुँदैन।
चीनतर्फ पनि ठूलो मानवीय क्षति भएको छ। बिहीबार बिहान ८ बजेसम्मको चिनियाँ सरकारी विवरण अनुसार ३ जनाको मृत्यु भएको छ भने ५५८ जना सम्पर्कविहीन छन्। तीमध्ये २६० जना विदेशी रहेको चिनियाँ अधिकारीलाई उदृत गर्दै चाइना न्युज सर्भिसले जनाएको छ।
नेपालमा फेला परेका शवमध्ये कति नेपाली र कति विदेशी हुन् भन्ने पूर्ण विवरण अझै सार्वजनिक भएको छैन।
त्यस्तै, नेपाली सेनाले अहिले १२३ जनाको उद्धार गरेको छ। प्रधानमन्त्री बालेन शाहको प्रेस टिमले जनाए अनुसार सेनाले हेलिकोप्टरमार्फत १२३ जनाको उद्धार गरेको हो। तीमध्ये रसुवाको टिमुरे क्षेत्रबाट मात्रै ९५ जनाको सकुशल उद्धार गरिएको हो, जसमध्ये आठ जना विदेशी रहेको नेपाली सेनाले जनाएको छ।
५. कुन-कुन बस्तीमा सबैभन्दा धेरै क्षति भयो? कति घर बगे?
सबभन्दा ठूलो क्षति रसुवागढी, टिमुरे र स्याफ्रूबेसी क्षेत्रमा भएको देखिन्छ।
त्यसपछि बाढीले मैलुङ, बेत्रावती, सोले, शान्तिबजार, ढुंगे, त्रिशूली बजार, बट्टार र देवीघाट लगायत तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
रसुवागढी–टिमुरे क्षेत्रमा भन्सार तथा सीमा प्रशासन, बजार, सुरक्षा निकायका भवन, सडक र सवारी साधनमा ठूलो क्षति पुगेको छ।
नुवाकोटको त्रिशूली बजार, तल्लो ढुंगे, बेत्रावती लगायतका तटीय क्षेत्रमा मात्रै करिब ४०० घरमा क्षति पुगेको विदुर नगरपालिका-१ का वडाध्यक्ष लेनिन रञ्जितले बताएका छन्।
तर बाढीले समग्रमा कति घर पूर्ण रूपमा बगायो वा क्षति पुर्यायो भन्ने एकीकृत र प्रमाणित संख्या अझै आएको छैन।
६. जलविद्युत र विद्युत प्रणालीमा कति क्षति भयो?
यो बाढी जलविद्युत क्षेत्रमा ठूलो क्षति पुगेको छ।
ऊर्जा मन्त्रालय तथा नेपाल विद्युत प्राधिकरणको पछिल्लो प्रारम्भिक विवरणअनुसार ४३१.१ मेगावाट क्षमताका १२ विद्युत उत्पादन केन्द्र बन्द भएर राष्ट्रिय प्रणालीबाट बाहिरिएका छन्। यो नेपालको कुल विद्युत उत्पादन क्षमताको करिब १० प्रतिशत हो।
तर ती सबै उत्पादन केन्द्रमा बाढीले प्रत्यक्ष भौतिक क्षति गरेको होइन।
प्राधिकरणको पछिल्लो विवरण अनुसार ६ जलविद्युत आयोजना र एउटा सौर्य आयोजना गरी सात उत्पादन केन्द्रमा प्रत्यक्ष असर परेको छ। बाँकी आयोजना प्रसारण प्रणालीमा भएको क्षतिका कारण बन्द भएका हुन्।
यससँगै निर्माणाधीन १५ जलविद्युत आयोजना, कुल करिब ४७० मेगावाट, मा पनि भौतिक क्षति पुगेको प्रारम्भिक सरकारी विवरण छ।
त्रिशूली–३ बी हबको २२० केभी सबस्टेसन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। २२०, १३२ र ६६ केभीका प्रसारण लाइन तथा टावरमा पनि क्षति पुगेको छ।
रसुवामा विद्युत आपूर्ति पूर्ण रूपमा अवरूद्ध भएको सरकारी विवरण छ। नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा पनि आंशिक असर परेको छ।
विद्युत आयोजना तथा संरचनामा कार्यरत १९६ जनाभन्दा बढी कर्मचारी तथा मजदुरसमेत सम्पर्कविहीन रहेको ऊर्जा मन्त्रालयको प्रारम्भिक विवरण छ।
७. कति पुल र सडक बगे?
सडक विभागको बिहीबार बिहानसम्मको विवरण अनुसार ३२ वटा सडक पुल पूर्ण रूपमा बगेका छन्।
थप ३ पुलमा आंशिक क्षति पुगेको छ भने ६ वटा पुल उच्च जोखिममा छन्। रसुवामा मात्रै १३ वटा साना–ठूला पुल बगेको सडक विभागको विवरण छ।
अर्कोतर्फ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक विवरणमा पक्की र झोलुंगे पुलसमेत गरी ८० पुल प्रभावित भएको उल्लेख छ।
यी दुई संख्या सिधै तुलना गर्न मिल्दैन। सडक विभागको गणना सडक प्रणालीका पुलमा केन्द्रित छ भने प्राधिकरणको विवरणमा झोलुंगे पुल लगायत व्यापक संरचना पनि समेटिएका छन्।
सडक विभागका विभिन्न प्रारम्भिक विवरण अनुसार बेत्रावतीदेखि रसुवागढीसम्मको करिब ४०–४२ किलोमिटर सडक खण्डमा ठूलो क्षति पुगेको छ।
बेत्रावती–रसुवागढीको ४२ किलोमिटर सडक क्षतिग्रस्त भएको विभागले जनाएको छ। यसले रसुवागढी हुँदै चीन जोड्ने प्रमुख सडक सम्पर्क गम्भीर रूपमा अवरूद्ध भएको छ।
पुलहरू भत्किँदा धेरै ठाउँका बजारहरूको मुख्य राजमार्गसँग सम्पर्क टुटेको छ। खासगरी त्रिशूली बजार जोड्ने दुईवटा पुल नै बगाएकाले अहिले त्रिशूली बजारको नदीपारि क्षेत्र जाने बाटो बन्द भएको छ। पारिका मान्छे पारि नै अड्किएका छन्।
८. फेरि ठूलो बाढी आउने खतरा छ?
यो खतरा पूर्ण रूपमा टरेको छैन।
माथिल्लो क्षेत्रमा नदी अवरूद्ध भएको केही भाग बाँकी रहेको भन्दै अधिकारी र विज्ञहरूले सम्भावित दोस्रो बाढीप्रति सतर्क रहन चेतावनी दिएका छन्।
यसको अर्थ फेरि उस्तै ठूलो बाढी निश्चित रूपमा आउँछ भन्ने होइन।
तर माथिल्लो क्षेत्रमा रहेको अवरोध एकैचोटि खुल्यो वा थप हिम–चट्टान खस्यो भने पानीको बहाव अचानक बढ्न सक्ने जोखिमलाई पूर्ण रूपमा नकारिएको छैन।
त्यसैले भोटेकोशी, त्रिशूली र नारायणी नदी किनारका बासिन्दालाई सतर्क रहन र नदीको किनारमा नजान आग्रह गरिएको छ।
९. यति ठूलो बाढी आउँदा पहिले नै चेतावनी किन दिन सकिएन?
यो भोटेकोशी-त्रिशूली बाढीपछि उठेको सबभन्दा महत्त्वपूर्ण प्रश्नमध्ये एक हो।
जल तथा मौसम विज्ञान विभागका अनुसार स्याफ्रूबेसीको स्वचालित जलमापन केन्द्रले बिहान करिब ८:५० बजेदेखि तथ्यांक पठाउन छाडेको थियो। त्यसको केही बेरमै माथिल्लो क्षेत्रमा बाढीले ठूलो विनाश गरिसकेको थियो।
केन्द्रले दिएको विवरण अनुसार ८:५० बजे भोटेकोशी स्याफ्रूबेसी जलमापन केन्द्रबाट डेटा प्राप्त हुने बन्द भएको थियो। अन्तिम तथ्यांक नै ८:४० बजेको रहेको केन्द्रले जनाएको छ।
बाढीले सीमाक्षेत्रको टावर नै भत्काएकाले डेटा प्राप्त हुन छाडेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। यही कारणले रसुवागढी, टिमुरे र स्याफ्रूबेसीजस्ता माथिल्ला बस्तीले पर्याप्त पूर्वसूचना पाएनन्। त्यहाँका बासिन्दा खाना खाँदा खाँदै वा घरायसी काममै रहँदा अचानक बाढी आएकाले ठूलो क्षति हुन पुग्यो।
बाढी तलतिर बढ्दै गएपछि मात्र बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रमा चेतावनीको सूचना पठाउन थालेको थियो।
सरकारी प्राविधिक प्रतिवेदन अनुसार नेपाल टेलिकम र एनसेलमार्फत ६ लाख ७९ हजार २९५ वटा चेतावनी एसएमएस पठाइएका थिए।
जल तथा मौसम विज्ञान विभागले समयमै दिइएको चेतावनीले तल्लो तटीय क्षेत्रमा मानिसहरूलाई सुरक्षित स्थानमा जान मद्दत गरेको जनाएको छ।
यस घटनाले अर्को ठूलो प्रश्न पनि उठाएको छ — गत वर्ष पनि यही सीमाक्षेत्रमा ठूलो बाढी आएपछि नेपाल र चीनबीच माथिल्लो जलाधारको रियल टाइम पूर्वसूचना प्रणाली किन अझ बलियो बनाउन सकिएन?
१०. नेपाललाई अन्तर्राष्ट्रिय समुदायबाट कस्तो सहायता आइरहेको छ?
बाढीपछि विभिन्न देश र अन्तर्राष्ट्रिय संस्थाले सहायता उपलब्ध गराउन थालेका छन्।
भारतले भारतीय वायुसेनाको जहाजमार्फत करिब १० टन राहत सामग्री र औषधि नेपाल पठाएको छ। त्यसमा अस्थायी आवास सामग्री, कम्बल, सरसफाइ सामग्री, सोलार बत्ती र औषधि छन्।
अमेरिकाले ५ लाख अमेरिकी डलर आपत्कालीन सहायता घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले विपद प्रतिकार्य सल्लाहकारसमेत परिचालन गरेको छ।
अन्तर्राष्ट्रिय रेडक्रस महासंघले नेपाल रेडक्रसको राहत कार्यका लागि करिब १० लाख स्विस फ्र्याङ्क आपतकालीन कोष उपलब्ध गराएको छ।
विश्व स्वास्थ्य संगठनले औषधि, आपत्कालीन स्वास्थ्य सामग्री र बहुउद्देश्यीय टेन्ट पठाएको छ।
चीनले नेपाललाई तत्काल नगद सहायता उपलब्ध गराउने जनाएको छ। तर कति रकम दिने भन्ने अहिलेसम्म सार्वजनिक भएको छैन।
बंगलादेशले पनि नेपाललाई राहत तथा उद्धारमा आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको छ।
संयुक्त राष्ट्रसंघले आफ्ना टोली र साझेदार संस्थाहरूले नेपालमा सहायता सामग्री र जनशक्ति परिचालन गरिरहेको जनाएको छ।
विश्व बैंकले विभिन्न स्रोतबाट १७ करोड डलर (२५ अर्ब बढी) परिचालन गर्न सकिने जनाएको छ।
कति रकम परिचालन हुने, त्यो अनुदान हो कि ऋण हो, चालु परियोजनाको रकम पुनः विनियोजन हो वा अन्य वित्तीय व्यवस्था हो भन्ने अझै टुंगिएको छैन। अहिलेको अन्तर्राष्ट्रिय सहयोग मुख्यतः खोज तथा उद्धार, अस्थायी आवास, स्वास्थ्य, खानेपानी र तत्काल राहतमा केन्द्रित छ।
तर दर्जनौं पुल, लामो सडकखण्ड, विद्युत आयोजना, प्रसारण संरचना र सीमा पूर्वाधारमा भएको क्षतिका कारण पुनर्निर्माणको आवश्यकता र लागत निकै ठूलो हुने देखिन्छ।
***