रसुवाको भोटेकोशी र त्रिशुलीमा बुधबार बिहान गएको बाढीले धेरै जनधनमा क्षति पुगेको छ।
रसुवामा रहेको भन्सार नाका, करिब १३ वटा निर्माणाधीन र निर्माण सम्पन्न आयोजना, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूमा क्षति पुगेको छ।
सर्वसाधारणसहित यी संस्थाका कतिपय कर्मचारीहरू सम्पर्कमा आइसकेका छैनन्।
घट्दो सेयर बजारलाई बाढीको सम्भावित असरको त्रासले थप घटाएको छ। यही कारण सेयर बजार परिसूचक बुधबार नेप्से ३५.९२ अंकसम्म घट्यो।
बाढीको प्रत्यक्ष असर सूचीकृत केही जलविद्युत (हाइड्रोपावर) कम्पनी र क्षतिको भार पर्न सक्ने निर्जीवन बीमा र पुनर्बीमा कम्पनीहरूमा पर्ने देखिएको छ। यही कारण बुधबार बजारमा सबभन्दा धेरै घट्नेमा जलविद्युत र निर्जीवन बीमा समूह नै भए।
जलविद्युत समूहगत परिसूचक १०४ अंक (२.८४ प्रतिशत) र निर्जीवन बीमा ४०४ अंक (३.९० प्रतिशत) घटेको छ।
बीमा प्राधिकरणका अनुसार बुधबार साँझसम्म बाढीले करिब १३ वटा जलविद्युत आयोजनामा क्षति पुगेको जानकारी आएको छ। क्षति पुगेका ३५४ मेगावाट बिजुली उत्पादन गरिरहेका र निर्माणाधीन ३९४ मेगावाट क्षमता गरी कुल ७४८ मेगावाट क्षमताका आयोजनामा क्षति पुगेको हो।
रसुवा जिल्लामा रहेका माथिल्लो त्रिशूली १, रसुवागढी जलविद्युत आयोजना, रसुवा भोटेकोशी, माथिल्लो मैलुङ ए, सान्जेन खोला, लाङटाङ खोला र चिलिमे जलविद्युत आयोजनामा क्षति पुगेको हो।
चिलिमे, रसुवागढी, सान्जेन, माथिल्लो मैलुङ, मैलुङ लगायतका आयोजना सेयर बजारमा सूचीकृत छन्। यी आयोजनामा क्षतिको पूर्ण विवरण आइसकेको छैन।
क्षति पुगे पनि आयोजनाहरूको बीमा गरिएकाले यसको भार निर्जीवन बीमा कम्पनीहरूमा देखिने भएको हो। यही कारण निर्जीवन बीमा कम्पनीहरूको सेयर मूल्य थप घटेको छ।
गत आर्थिक वर्ष २०८२–८३ मै प्रभुबाहेक सबै निर्जीवन बीमा कम्पनीको नाफा घटेको थियो। यही कारण यो समूहमा सुधार हुन सकेको थिएन। अहिलेको बाढीको त्रासले यी कम्पनीहरूको मूल्य थप घटेको हो।
बाढीबाट पर्ने बीमा दाबी रकमको सबै भार यी कम्पनीलाई नपर्ने भए पनि कम्तीमा ३० देखि ५० प्रतिशतसम्म भार पर्न सक्ने देखिन्छ।
बीमा प्राधिकरणका अनुसार अहिले निर्माणाधीन जलविद्युत आयोजनाहरूको बीमा इन्जिनियरिङ बीमा अन्तर्गत र सञ्चालनमा रहेकाहरूको सम्पत्ति बीमा अन्तर्गत बीमा गरिएको हुन्छ।
निर्माणाधीन जलविद्युत आयोजनाको लागत बराबरकै बीमा भएको भने हुँदैन। जति निर्माण सम्पन्न हुँदै गएको हुन्छ, त्यति नै बीमांक रकम बढ्दै जाने प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बताए।
निर्माणाधीन आयोजनामा कतिपयले भने बैंकबाट कर्जा लिएको रकम बराबरको मात्रै बीमा गरेको पाइन्छ। निर्माण सम्पन्न भइसकेकाहरूको भने पूरै आयोजनाको सम्पत्ति बीमा भएको हुन्छ।
निर्जीवन बीमा कम्पनीहरूले यस्तो बीमाको भार सबै आफै राखेका हुँदैनन्। केही भार यहाँका पुनर्बीमा कम्पनीमा र केही बाह्य पुनर्बीमा कम्पनीमा सारेका हुन्छन्।
निर्माणाधीन आयोजनाको बीमा रकमको करिब ७० देखि ८० प्रतिशत पुनर्बीमा कम्पनीहरूमा भार सारिएको हुन्छ। सम्पत्ति बीमामा भने कतिपय कम्पनीले आफै ५० प्रतिशतसम्म भार लिएर बाँकी पुनर्बीमा कम्पनीमा सार्छन्।
यसरी सम्पत्ति बीमा अन्तर्गत पुनर्बीमा कम्पनीमा सारिने रकममध्ये ३० प्रतिशत रकम यहीँको पुनर्बीमा कम्पनीमा अनिवार्य सार्नैपर्ने व्यवस्था छ।
उदाहरणका लागि, यदि एक करोड रूपैयाँको सम्पत्ति बीमा गरिएको छ भने ५० लाख निर्जीवन कम्पनी आफैले तिर्ने गरेर भार लिएको हुन सक्छ। बाँकी ५० लाख रकम पुनर्बीमा गरिएको हुन सक्छ। यो बाँकी ५० लाख रकमको ३० प्रतिशत अर्थात् १५ लाख बराबरको बीमा दायित्व यहीँका पुनर्बीमा कम्पनीमा सारिएको हुन्छ।
अहिले हामीकहाँ नेपाल पुनर्बीमा र हिमालयन रि इन्सुरेन्स गरेर दुइटा पुनर्बीमा कम्पनी छन्। यी कम्पनीले कति भार आफै लिएका हुन्छन् त कति अन्य विदेशी पुनर्बीमा कम्पनीहरूमा सारेका हुन्छन्।
रसुवामा आएको बाढीले जाँचपासका लागि यार्डमा राखिएका ठूलो परिमाणका सवारी साधन पनि बगाएको छ। यस्ता सवारी साधनको पनि बीमा गरिएको हुन्छ। यस्तो सवारी साधनको पूरै मूल्य बराबरको बीमा गरिएको हुन्छ। यसको लागत उच्च आउने अनुमान छ। यस्तो बीमाको पनि पुनर्बीमा भने गरिएको हुन्छ।
कम्पनीहरूले कति भार आफै राखेर कति भार पुनर्बीमा कम्पनीहरूमा सारेका छन्, त्यसको विस्तृत विवरण आउन बाँकी छ। केही न केही प्रभाव पर्ने भए पनि आत्तिएर सेयर बेचिहाल्न नहुने पनि बजार स्रोतहरूको भनाइ छ।