रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि ६४४ जना पर्यटक तथा यात्रु सम्पर्कविहीन भएका छन्।
नेपाल पर्यटन बोर्डले बिहीबार दिउँसो १२ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बेपत्ता हुनेमा १२७ नेपाली र ५१७ जना विदेशी नागरिक छन्।
बेपत्ता विदेशी नागरिकमध्ये सबैभन्दा धेरै भारतीय छन्।
बोर्डको प्रारम्भिक विवरणअनुसार भारतका १७८ जना नागरिक सम्पर्कविहीन छन्। त्यसपछि अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना छन्।
बोर्डको विवरणअनुसार अस्ट्रेलियाका ३५, बेलारुसका १, बेल्जियमका ३, बुल्गेरियाका १, क्यानडाका २५, फिनल्यान्डका १, फ्रान्सका ४, जर्मनीका ८, हंगेरीका १, भारतका १७८, इटालीका २, आयरल्यान्डका २, इजरायलका १, जापानका ५, कजाखस्तानका २, लाटभियाका ६, लिथुआनियाका १, मलेसियाका ५१, नेदरल्यान्ड्सका २, न्युजिल्यान्डका ५, फिलिपिन्सका १, पोर्चुगलका २, रुसका ८, सर्बियाका १, सिंगापुरका ९, दक्षिण अफ्रिकाका ६, स्पेनका ३, स्विडेनका १, स्विट्जरल्यान्डका १, युक्रेनका ५३, बेलायतका ३३ र अमेरिकाका ६५ जना छन्।
बोर्डका अनुसार यो ट्रेकिङ तथा ट्राभल कम्पनीहरूबाट प्राप्त प्रारम्भिक विवरण हो।
बेपत्ता भनिएका व्यक्तिहरूको अवस्था र उनीहरू कहाँ छन् भन्नेबारे ट्राभल एजेन्सी, गाइड, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी विवरण प्रमाणीकरण भइरहेको छ।
यसैबीच, भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट नदी किनारका बस्ती तथा संरचनामा ठूलो क्षति पुगेको छ।
पर्यटन बोर्डले बाढी प्रभावित क्षेत्रमा रहेका तथा ती क्षेत्र हुँदै यात्रा गरिरहेका पर्यटक र यात्रुको अवस्था पत्ता लगाउने तथा घाइते र अलपत्र परेकालाई उद्धार गर्ने काम भइरहेको जनाएको छ।
बाढीबाट रसुवासहित आसपासका जिल्लामा सडक, पुल तथा अन्य पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म १६५ जनाको शव फेला परिसकेको छ भने उद्धार तथा खोजी कार्य जारी छ।