टी-२० विश्वकप २०२६ विशेष
आइसिसी टी-२० विश्वकप २०२६ आगामी सातादेखि भारत र श्रीलंकामा सुरू हुँदैछ। दशौं संस्करणको यो विश्वकपमा नेपालले तेस्रो पटक प्रतिस्पर्धा गर्दैछ।
विश्वकपमा लागि नेपालको १५ सदस्यीय टोली अहिले भारतमा अन्तिम तयारी गरिरहेको छ। समूह 'सी' मा रहेको नेपालले आफ्नो पहिलो खेल माघ २५ गते इंग्ल्यान्डविरूद्ध मुम्बईको वाङखेडे रंगशालामा खेल्दैछ। दोस्रो खेल माघ २९ मा इटाली, तेस्रो खेल फागुन ३ मा वेस्ट इन्डिज र समूहको अन्तिम खेल माघ ५ मा स्कटल्यान्डसँग हुँदैछ। नेपालका सबै खेल मुम्बईमै हुनेछन्। समूहमा शीर्ष दुईमा परेमा सुपर-८ मा पुग्ने सम्भावना हुनेछ।
विश्वकपमा नेपालको ओपनिङ कुशल भुर्तेलले गर्ने पक्का जस्तै छ। २९ वर्षीय कुशल फिल्डिङ र बलिङका कारण पनि नेपाली टिमका महत्वपूर्ण खेल हुन्। उनको नेपाली क्रिकेट टिममा प्रवेश र उनको क्रिकेट यात्राबारे यहाँ चर्चा गरिएको छ।
पूरा नाम : कुशल भुर्तेल
जन्म : जनवरी २२, १९९७, बुटवल, रूपन्देही
उमेर : २९ वर्ष
ब्याटिङ शैली : दाहिने हाते ब्याटर
बलिङ शैली : लेगब्रेक गुगली
भूमिका : ओपनिङ ब्याटर
टी-२० आई डेब्यू : नेपाल विरुद्ध नेदरल्याण्ड्स, कीर्तिपुर — अप्रिल १७, २०२१
कुशल भुर्तेलका बुवा दीपक भुर्तेल क्रिकेटका ठूला प्रशंसक हुन्। त्यसैले छोरालाई पढाइ र क्रिकेटमध्ये एक रोज्नु पर्दा क्रिकेट रोज्न सल्लाह दिएका थिए उनले।
बुवाकै सल्लाहमा कुशलले कक्षा ११ को परिक्षा छाडेर सन् २०१७ मा धनगढी प्रिमियर लिग खेले।
पढाइलाई त्यागेर क्रिकेटर बनेका कुशलका लागि सुरुवाती दिन सहज थिएनन्। राष्ट्रिय टिममा पर्न उनले निकै संघर्ष गर्न पर्यो। यू-१९ विश्वकप खेलेको पाँच वर्षपछि मात्र उनले टी-२० र एकदिवसीय खेलमा डेब्यू गर्न मौका थिए। जबकी उनीसँगै युवा विश्वकप खेलेका धेरै खेलाडी सिनियर टिममा स्थापित भइसकेका थिए।
हुन त भुर्तेल सन् २०१९ मा बंगालदेशमा भएको एसिसी इमर्जिङ टिम्स कपका लागि राष्ट्रिय टिममा परेका थिए। त्यतिबेला उनले भारतको यू-२३ टिमबिरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यू गरेका थिए। सो खेलमा उनले तत्कालिन कप्तान ज्ञानेन्द्र मल्लसँग ओपनिङ गरेका थिए। ज्ञानेन्द्र शून्यमा आउट भए पनि उनले २८ रन जोडेका थिए। त्यहीँ बेलादेखि उनले घरेलु प्रतियोगितामा पनि ओपनिङ गर्न थालेका थिए। जहाँ उनी सफल भए।
कुशलले सन् २०१२ देखि क्रिकेट खेल्न थालेका हुन्। बुबा दीपक भुर्तेलका अनुसार आठ कक्षा पढ्दा कुशलले स्कुल प्रतियोगितामा उत्कृष्ट खेल देखाएका थिए।
स्कुलस्तरीय प्रतियोगितामा उनका खेल बुवा दीपक हेर्न जान्थे। त्यतिबेलादेखि क्रिकेटर बन्ने इच्छा देखाएपछि सबै किसिमले सुविधा दिने कोसिस बुबा दीपकले गरे।
स्कुल क्रिकेट खेल्न थालेको एक वर्षपछि उनी नेपालको यू-१६ राष्ट्रिय टिममा परे। मलेसियामा आयोजना भएको य-१६ एसिसी एलिट कप खेल्न मलेसिया गए। कतारविरुद्धको पहिलो खेलमा ३५ रन बनाए। मलेसियाविरुद्धको दोस्रो खेलको वार्मअपका दौरान उनी घाइते भए। बाउन्ड्रीमा अल्झिएर लाडेका उनको दाहिने हात भाँच्चियो। जसका कारण प्रतियोगिताका बाँकी खेल गुमाए।
सन् २०१६ मा उनले नेपाली यू-१९ टिमबाट विश्वकप खेले। बंगलादेशमा भएको यू-१९ विश्वकपमा उनको प्रदर्शन सोचे जस्तो हुन सकेन। त्यतिबेला उनी मध्यक्रममा ब्याटिङ गर्थे। त्यहाँ उनी फिट हुन सकेनन्।
बंगलादेशबाट फर्किएपछि उनी नेपाल पुलिस क्लबमा आबद्ध भए। पुलिस क्लबसँगै फ्रेञ्चाइज क्रिकेटका टिमबाट खेले। तर उनको ब्याटिङ पोजिसन एकनासको हुन सकेन। कहिले ओपनिङमा त कहिले मध्यक्रमबाट ब्याटिङ पर्ने जिम्मेवारी पूरा गरे।
तर पनि उनले मिहिनेत गर्न भने कहिल्यै छाडेनन्। फ्रेञ्चाइज क्रिकेटका कतिपय टिममा सँगै खेलेका क्रिकेटर शरद भेषवाकार कुशललाई फिट खेलाडीको संज्ञा दिन्छन्।
'उनी एकदमै फिट र अनुशासित खेलाडी हुन्। हरेक दिन जिम जाने उनको बाँनी छ,' नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा कुशलले उत्कृष्ट खेलेपछि टेलिभिजन कमेन्ट्रीका क्रममा भेषवाकरले भनेका थिए,'उनी टिममा भिज्ने, हाँस्ने र साथीहरूसँग रमाइलो गरिरहन्छन्।'
यू-१९ टिमपछि राष्ट्रिय टिममा पर्न उनलाई निकै संघर्ष गर्नु पर्यो। कडा मिहिनेत र लगाव हुँदा पनि राष्ट्रिय टिममा पर्न असफल कहिलेकाँही निराश बने।
'राष्ट्रिय टिममा नपरेपछि क्रिकेट नै छाड्छु भनेर साथीहरूसँग कुरा गर्दो रहेछ,' उनका बुबा दीपकले सेतोपाटीसँगको कुराकानीमा भनेका थिए,'यो थाहा पाएपछि हिम्मत हार्नु हुन्न भनेर सम्झाएँ। जे कुरा पनि समय आएपछि प्राप्त हुन्छ भनेर बुझाएँ।'
सायद कुशलका लागि सन् २०२१ उत्तम समय थियो, यहिँ वर्ष राष्ट्रिय टिममा जबरजस्त इन्ट्री गर्न सफल भए। सन् २०२१ अप्रिलमा नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालका लागि टी–२० डेब्यू गरे। त्यसयता उनी राष्ट्रिय टिमबाट लगातार खेलेका छन्।
पछिल्लो समय उनी नेपाली टिमका ब्याटर मात्र होइन् उपयोगी लेगस्पिनरको रुपमा स्थगित छन्। सुरुदेखि नै उत्कृष्ट फिल्डिङका कारण टिममा स्थान बनाउने गरेका कुशल बलिङमा पनि जम्न थालेका छन्।
भुर्तेल एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने नेपालका चौथो ब्याटर हुन्। उनी एकदिवसीय खेलमा दुईवटा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्न सक्थे, तर सन् २०२३ को विश्वकप छनोटमा जिम्बावेविरुद्ध उनी ९९ रनमा आउट हुन पुगेका थिए।
सन् २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्दा उनले सुरुका पाँच टी-२० खेलमध्ये ४ वटा अर्धशतक प्रहार गरेर सबैको ध्यान खिँचेका थिए। त्यसको अर्को वर्ष फिलिपिन्स विरुद्ध ६१ बलमा अविजित १०४ रन बनाउँदै उनी टी-२० आईमा शतक प्रहार गर्ने नेपालका तेस्रो खेलाडी बने।
टी-२० डेब्यूको केही महिनापछि उनले ओडिआईमा डेब्यू गरे र आफ्नो तेस्रो खेलमै अमेरिकाविरुद्ध ८४ रनको महत्वपूर्ण इनिङ्स खेल्दै नेपाललाई जित दिलाए।
सन् २०२३ को विश्वकप छनोटमा ६ खेलमा २०० भन्दा बढी रन बनाउँदै उनले टिममा महत्वपूर्ण भूमिका खेले। सन् २०२४ को टी-२० विश्वकपमा ब्याटिङबाट खासै योगदान दिन नसके पनि बलिङमा भने उनले उत्कृष्ट प्रदर्शन गरे। सो विश्वकपमा दक्षिण अफ्रिका विरुद्ध मात्र १९ रन दिएर ४ विकेट लिँदै उनले विपक्षी टिमलाई दबाबमा राखेका थिए।