नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्स (जेबी) को लगानीकर्ता कम्पनी ड्रिम स्पोर्ट्स बेल्जियमको इयू टी-२० लिगमा पनि आबद्ध भएको छ।
ड्रिम स्पोर्ट्सका प्रमुख उत्सव सिग्देलका अनुसार इयू टी-२० को ६ टोलीमध्येको एक जेबी ब्रुजेजको स्वामित्व लिइएको हो।
इयू टी-२० लिग बेल्जियमको पहिलो फ्रेन्चाइज क्रिकेट लिग हो। बेल्जियन क्रिकेट फेडरेसनले डेस्टिनो लिजेन्ड्स स्पोर्ट्स एलएलसीसँग साझेदारी गर्दै आयोजना गर्न लागेको लिग आगामी जुन पहिलो सातादेखि हुने भनिएको छ।
नेपाली खेलाडीलाई प्राथमिकता दिने उद्देश्यले बेल्जियमको लिगमा लगानी गरेको ड्रिम स्पोर्ट्सले पहिलो सिजनमा १० लाख डलरसम्म खर्च हुने अनुमान गरेको छ।
एक वर्षअघि घोषणा गरिएको लिगमा बेल्जियमका प्रमुख शहरहरू प्रतिनिधित्व गर्ने ६ फ्रेन्चाइज टिमहरूले राउन्ड-रोबिन लिग चरण खेल्छन्, त्यसपछि शीर्ष चार टिमहरूले प्लेअफमा प्रतिस्पर्धा गर्छन्।
सहभागी टोलीमा जेबी ब्रुजेजसहित आन्थ्रोप एङकर्स, ब्रसेल्स, हेन्ट, लुभेन र लिइज रेड लायन्स छन्।
प्रत्येक टिममा १८ खेलाडी हुनेछन्। जसमा कम्तीमा ४ खेलाडी बेल्जियन (सुरुवाती-११ कम्तीमा २ जना अनिवार्य), ४ खेलाडी एसोसिएट टोलीका, ४ खेलाडी पूर्ण सदस्य टोलीका सक्रिय खेलाडी र ६ जना ‘भेट्रान’ (अनुभवी पूर्ण सदस्य राष्ट्रका खेलाडी, जसले पछिल्लो २ वर्षमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन्) हुने बताइएको छ।
खेलाडीहरू ड्राफ्ट मार्फत छनोट गरिनेछ। इंग्ल्यान्डका पूर्वकप्तान इयोन मोर्गन ग्लोबल ब्रान्ड एम्बेसडर छन्।
अन्तर्राष्ट्रियस्तरका इंग्ल्यान्डका जेम्स भिन्स र एलेक्स हेल्ससहित श्रीलंकाका एन्जेलो म्याथ्यूज र वानिन्दु हसरंगा जस्ता खेलाडी लिग खेल्ने बताइएको छ।
यस्तै ड्राफ्टमा नेपालका कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछानेसहित १५ बढी खेलाडी दर्ता भएको बताइएको छ।