नेपाली अम्पायरले खेलका दौरान लिने निर्णयको विषयमा राष्ट्रिय खेलाडीले पटक पटक आलोचना गर्ने गरेका छन्।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा अम्पायरको निर्णयलाई लिएर राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले सार्वजनिक रूपमै प्रश्न उठाएका थिए। त्यसमा कतिपय विदेशी खेलाडी समेत समर्थन जनाएका थिए।
अम्पायरको निर्णयको विषयमा राष्ट्रिय प्रतियोगितामा पनि प्रश्न उठिरहेका छन्। जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अम्पायरको निर्णयमा असन्तुष्टि जनाएका खेलाडीले त कारबाही समेत भोगिसकेका छन्।
लुम्बिनी प्रदेशका कप्तान देव खनालले मधेसविरूद्धको खेलमा आफूलाई गलत तरिकाले आउट दिएको भन्दै अम्पायरसँग असन्तुष्टि जनाएर विवाद गरेका थिए। यही कारणले म्याच रेफ्रीले कारबाहीका लागि सिफारिस गरेपछि दुई डिमेरिट अंक दिँदै कारबाही गरिएको थियो।
अम्पायरको विषयमा गत शुक्रबार बागमती प्रदेशका कप्तान सन्दीप लामिछानेले पनि असन्तुष्टि जनाए। मधेसविरूद्धको खेलमा एलबिडब्लु अपिलपछि अम्पायरले सुनुवाइ नगर्दा विवाद भएको थियो। सन्दीपले असन्तुष्टि जनाउँदै अम्पायरसँग केही मिनेट विवाद गर्दा उनको हाउभाउ आक्रोशपूर्ण रहेको टेलिभिजनमा देखिएको थियो। विवाद हुँदा सन्दीपलाई बागमतीका अरू खेलाडीले रोक्न खोजेका थिए।
वीरगन्जमा भएको उक्त खेल अम्पायरद्वय बासु कर्ण र कमलेश ठाकुरले सञ्चालन गरेका थिए भने म्याच रेफ्री मोहमद सफिक थिए।
सन्दीपले अम्पायरसँग असन्तुष्टि व्यक्त गरेको विषय सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसमध्ये ट्रोल क्रिकेट नेपाल नामक सामाजिक सञ्जालको पेजमा नेपाल पुलिस क्लबका तीव्र गतिका बलर करण केसीले गरेको टिप्पणीपछि क्रिकेट वृत्त तरगिंत बन्यो।
चार पटक सम्पादन गर्दै करणले कमेन्ट गरेका थिए, 'यदि कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिट्यो भने, आइ मिन मिस्टेक… कति म्याच ब्यान हो? जस्ट फर क्वाइरी? पी. एस – फर प्लेयर्स नलेज र एन्ड सेप्टी'
-1775974823.jpg)
खासगरी ट्रोल क्रिकेटले कतिपय आफ्ना सामग्री रमाइलो तरिकाले लेख्ने गरेको छ। जसमा करणले पनि रमाइलो तरिकाले नै कमेन्ट गरेको देखिन्छ। तर विषय संवेदनशील भएकाले करणको उक्त कमेन्टलाई लिएर कतिपयले प्रश्न उठाए।
पूर्व राष्ट्रिय खेलाडी हासिम अन्सारीले करणको कमेन्टको विषयमा सामाजिक सञ्जालमै लेखे।
'नेपाल क्रिकेट संघको सम्झौतामा रहेका एक जना सिनियर खेलाडीले प्रधानमन्त्री कप चलिरहेको समयमा सामाजिक सञ्जालमा कुनै खेलाडीले अम्पायरलाई भौतिक कारबाही गरे कति म्याच ब्यान लाग्छ भनेर जिज्ञासा राख्नु कहाँसम्म उचित हो। नेपालका पूर्वखेलाडीको हैसियतले म यस खालको टिप्पणीको घोर भर्त्सना गर्दछु। यो अभिव्यक्ति क्रिकेट खेलको भावना विपरीत मात्र होइन, बरू सम्पूर्ण नेपाली क्रिकेट अम्पायरको निम्ति अपमानजनक हो भन्ने मलाई लाग्छ।'
लामो पोस्ट लेखेका अन्सारीले अम्पायरिङ सुधार गर्नुपर्ने उल्लेख गर्दै क्यानको ध्यानाकर्षण गराएका थिए। तर उनले उक्त पोस्ट गरेको केही बेरमै हटाएका थिए।

करण केसीको टिप्पणीपछि नेपाल अम्पायर्स तथा स्कोरर्स संघले विज्ञप्ति नै निकाल्यो।
'यस्तो अभिव्यक्ति हाम्रो पेसागत सुरक्षा र आत्मसम्मानप्रति आघात गरेको हाम्रो ठहर छ,' संघका अध्यक्ष मोहमद सफिकले निकालेको विज्ञप्तिमा भनिएको छ, 'यस्तो कार्य निरूत्साहित गर्न नेपाल क्रिकेट संघसँग कडा कारबाहीको माग गर्दछौं।'

आफ्नो अभिव्यक्तिलाई लिएर अम्पायर्स संघले आपत्ति जनाएपछि करण केसीले राति अर्को पोस्ट लेखेर क्षमायचना गरेका छन्।
'यदि खेलाडी र अम्पायरबीच हातपात हुँदा के हुन्छ होला? भनेर मजाकका रूपमा लिएको एउटा जिज्ञासा व्यक्त गरेको थिएँ। क्रिकेटमा अम्पायर, कोच र खेलाडी सबै एउटै परिवारजस्तो हुने भएकाले उक्त मजाक गरेर लेखिएको अभिव्यक्तिले कसैलाई ठेस पुगेको भए क्षमायाचना गर्दछु,' करणको भनाइ छ।

करणले माफी मागेको भोलिपल्ट नेपाल क्रिकेट संघले भने कारबाही गरेको छ। अम्पयारको विषयमा सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा खेल भावना विपरीत भएको भन्दै प्रतिबन्ध गर्नुका साथै खेलको शतप्रतिशत म्याच शूल्क जरिवाना गर्ने निर्णय क्यानले गरेको हो।
'नेपाल पुलिस क्लबका खेलाडी करण केसीले अम्पायरप्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाल क्रिकेट संघको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त अभिव्यक्ति खेल भावना अनुरूप नभएको ठहर गर्दै सम्बन्धित सबै सरोकारवालासँग समन्वय गरी क्रिकेटर करण केसीलाई प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको एक खेलका लागि प्रतिबन्ध लगाउनुका साथै १००% म्याच शुल्क जरिवाना गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराइन्छ,' क्यानका प्रवक्ता छुम्बी लामाको भनाइ छ।

यो संस्करणको प्रधानमन्त्री कपमा म्याच रेफ्रीको रिपोर्टको आधारमा लुम्बिनीका कप्तान देव खनालले दुई डिमेरिट अंक पाएका थिए। देवको २४ महिनाभित्र ५ डिमेरिट अंक भएपछि उनी एक खेलका लागि निलम्बनमा समेत परेका थिए।
आचारसंहिता विपरीत सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले गत वर्ष सन्दीपलाई कारबाही गरेको थियो।
क्यानको आचारसंहिताविरूद्ध फेसबुक लगायत सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले सन्दीपलाई तीन डिमेरिट अंक दिने निर्णय गरेको थियो। त्यो निर्णयसँगै उनले क्यानले आयोजना गर्ने खेलमा प्रतिबन्ध भोगेका थिए।
सन्दीपले अघिल्लो संस्करणको जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा लेखेका थिए। विकेट लिएको पनि अंक जोडिने हुँदा आफ्नो विकेट गुमेपछि दिनको खेल समाप्ति घोषणा गर्दा उनले असन्तुष्टि पोखेका थिए भने मैदानमा अम्पायरहरूसँग वादविवाद गरेका थिए।
खेलको भोलिपल्ट उनले नेपालमा अम्पायरको स्तर सुधार हुन नसकेको, अम्पायरको विषयमा कदम नचालिए गलत निर्णय हुने र खेलाडीहरू पीडित बन्ने भनेर लेखेका थिए।