अन्तर्राष्ट्रिय प्रतियोगिताका खेल सुरू हुनुअघि सम्बन्धित देशको राष्ट्रिय गान बजाउनु सामान्य नियम हो।
खेल सुरू हुनुअघि बज्ने राष्ट्रिय गानले मैदानमा रहेका खेलाडी र मैदान बाहिर रहेका समर्थकलाई भावुक बनाउने गर्छ। कतिपय खेलाडी त राष्ट्रिय गान बज्दै गर्दा भावुक हुँदै आँशुसमेत झार्छन्।
खासगरी विभिन्न खेलका विश्वकप र क्षेत्रीय प्रतियोगिता सुरू हुनुअघि राष्ट्रिय गान बजाइन्छ। अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक लगाएपछि खेलाडी र देशको सम्मानमा राष्ट्रिय गानसँगै राष्ट्रिय झन्डा उठाउने प्रचलन पनि छ।
यसरी हरेक देशको गौरवसँग जोडिएको राष्ट्रिय गान गलत बज्यो भने के होला? राष्ट्रिय भावनाले ओतप्रोत भएर मैदानमा ओर्लिने खेलाडी र सम्बन्धित देशका दर्शकले त्यसलाई पचाउन सक्लान्?
काठमाडौंमा जारी नेपाल र युएईको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको सोमबार पहिलो खेलमा यस्तै स्थिति उत्पन्न भयो।
सोमबार साँझ ५ बजे कीर्तिपुरको त्रिवि मैदानमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो। ब्याटिङ सुरू हुनुअघि आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव रामचरित्र मेहतालाई दुवै टोलीका खेलाडीसँग परिचय गराउँदै औपचारिक रूपमा प्रतियोगिता सुरू गरेको थियो।
त्यति बेला क्यान अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कासहित अम्पायर, दुवै टोलीका खेलाडी लहरै लाइनमा उभिएका थिए।
त्यसपछि नेपालको राष्ट्रिय गान बजाइयो।
नेपालको राष्ट्रिय गानपछि युएईको राष्ट्रिय गान बजाउने पालो भएको घोषणा गरियो। तर एक मिनेटसम्म युएईको राष्ट्रिय गान बजेन।
जब गीत बज्न थाल्यो, युएईका खेलाडीमध्ये सबभन्दा पहिलो नम्बरमा रहेका कप्तान मोहम्मद वसीम निकै असन्तुष्ट देखिए। उनको अनुहारमा राष्ट्रिय गानको कुनै गौरव थिएन।
उनी छट्पटिन थाले। आफूलाई रोक्न सकेनन्। अनि, लाइनमा सँगै रहेका क्यानका उपाध्यक्ष रोशन सिंहलाई गलत राष्ट्रिय गान बजेको भन्दै इसारा गरे।
सिंहले सँगै रहेका अध्यक्ष चन्द र सचिव खड्कालाई त्यसको जानकारी गराए।
त्यसपछि उक्त गीत बीचैमा रोकियो।
फेरि अर्को एक मिनेटसम्म कुनै गीत बजेन।
जब दोस्रो पटक गीत बज्यो, त्यो पनि गलत भएको भन्दै वसीमले असन्तुष्टि व्यक्त गरे।
त्यसपछि उद्घोषण गरिरहेका कमेन्टेटर एन्ड्रियु लियोनर्डले गलत राष्ट्रिय गीत बजेको भन्दै माफी मागे।
लगातार दुई–दुई पटक गलत राष्ट्रिय गीत बजेपछि तेस्रो पटक बजाउने प्रयास गरिएको थियो। तर वसीमले 'अब पर्दैन' भन्ने संकेत गर्दै आफ्ना टोलीका खेलाडीलाई लाइनबाट हिँड्न भनेका थिए।
प्रतियोगिता सुरू हुनुअघि नेपाल र युएईको राष्ट्रिय गान बजाउनुपर्छ भन्ने पहिल्यै थाहा नभएको होइन। पहिल्यै थाहा भएको यस्तो अभ्यासमा पनि नेपालले दुई–दुई पटक गलत गीत बजाउने 'ब्लन्डर' कसरी गर्यो? यस्तो गल्ती कसरी भयो?
हामीले यसबारे क्यानका प्रवक्ता छुम्बी लामासँग कुरा गरेका छौं।
लामाले व्यवस्थापन पक्षबाट गल्ती भएको स्वीकार गरे। उनले यस विषयमा क्यानमा कुराकानी भइरहेको पनि जानकारी दिए।
लामाका अनुसार विश्वकप लगायतका प्रतियोगितामा सम्बन्धित देशसँग राष्ट्रिय झन्डा र राष्ट्रिय गान पहिल्यै माग गरिन्छ। नेपाल र युएईबीचको टी–२० शृंखलामा भने राष्ट्रिय गान बजाउनुपर्ने अवस्था नभए पनि प्रतियोगिताको औपचारिकताका लागि बजाइएको उनको भनाइ छ।
यसरी औपचारिकताका लागि राष्ट्रिय गान बजाइए पनि क्यानले सही गीत माग गर्न कुनै तयारी गरेको थिएन। क्यानले खेलअघि नै युएईका सम्बन्धित अधिकारीसँग राष्ट्रिय गानको विषयमा कुराकानी नगर्दा यस्तो समस्या भएको देखिन्छ।
यही अपरिपक्वताका कारण युएईको राष्ट्रिय गान बजाउने पालोमा 'साउन्ड सिस्टम' मा बसेका व्यक्तिले युट्युबमा खोजेर उक्त गीत बजाएको बुझिएको छ। यसरी सम्बन्धित अधिकारीसँग पक्का नगरी युट्युबमा खोजेर बजाउँदा गलत गीत बजेको हो।
'राष्ट्रिय गीत विश्वकपमा बजाउने गरिन्छ। आयोजकले पहिले नै झन्डाको आकार, साइज र राष्ट्रिय गान माग्छ। तर यस्तो खेलमा कहिले बज्छ, कहिले बज्दैन। बजाए राम्रो हुन्छ भनेर बजाउने ट्रेन्ड छ। तर बजाउनैपर्छ भन्ने म्यान्डेट चाहिँ हुँदैन,' क्यानका प्रवक्ता छुम्बी लामाले सेतोपाटीसँग भने।
औपचारिक रूपमा बजाउन नपर्ने भएपछि तयारी नपुगेको उनले स्वीकार गरे।
'गलत राष्ट्रिय गान बज्नु राम्रो कुरा होइन। यसरी कुनै पनि देशको राष्ट्रिय गानको अपमान हुनु राम्रो हुँदै होइन। व्यवस्थापनमा समस्या नभइकन यस्तो भएको होइन,' उनले भने।