नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी पछिल्लो समय उत्कृष्ट लयमा छन्।
उनी लयमा भएको कुरा तथ्यांक त देखाउँछ नै, उनी पनि आफू लयमा भएको स्वीकार गर्छन्।
दीपेन्द्रले शुक्रबार आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईविरूद्ध शतक प्रहार गरे। एकदिवीय खेलमा दोस्रो पटक दीपेन्द्रले शतक प्रहार गरेको खेलमा नेपालले ६ रनले जित निकाल्यो।
खेलपछि दीपेन्द्रले टोलीका अरू ब्याटरले संघर्ष गरिरहेको बेलमा आफूले टोलीका लागि योगदान दिएकोमा खुसी व्यक्त गरे।
पछिल्ला दश खेलको (एकदिवसीय र टी-२०) विश्लेषण गर्ने हो भने दीपेन्द्रले एक खेलमा मात्र दोहोरो अंकमा रन प्रहार गर्न सकेका छैनन्। दशमध्ये उनी दुई खेलमा मात्र आउट भएका छन्, अरु बाँकी आठ खेलमा किन उनी अर्धशतक/शतक वा नटआउट रहेका छन्।
पछिल्ला १० खेलको तथ्यांक हेर्दा दीपेन्द्र ५० प्रतिशत खेलमा नटआउट रहेका छन्। १० इनिङ्समध्ये ५ पटक उनी क्रिजमा अविजित रहेका छन्, जसले उनी एक उत्कृष्ट 'फिनिसर' भएको र अन्तिमसम्म टिकेर खेल्न सक्ने क्षमता राख्छन् भन्ने पुष्टि गर्छ।
उनले खेलेका पछिल्ला १० खेलमध्ये ५० प्रतिशत खेलमा (५ खेलमा) ५० भन्दा बढी रन प्रहार गरेका छन् (४ अर्धशतक र १ शतक)। १० खेलको अवधिमा कुनै पनि ब्याट्सम्यानका लागि यो निकै उच्च स्तरको निरन्तरता हो।
१० मध्ये ९ खेलमा उनले दोहोरो अंकमा रन बनाएका छन्। क्यानडा विरुद्धको वार्म-अप खेलमा ९ रनमा नटआउट रहनु बाहेक अन्य सबै खेलमा उनले टिमका लागि उल्लेख्य योगदान दिएका छन्।
यो तथ्यांकले पनि दीपेन्द्र अहिलेसम्मकै उच्च लयमा रहेको देखाउँछ।
अर्कोतर्फ योबीचमा दीपेन्द्रले सामना गरेका सबै प्रतिद्वन्द्व उच्चस्तरका छन्।
गत माघमा भारतमा भएको आइसिसी टी-२० विश्वकपको अभ्यास खेलमा दीपेन्द्रले क्यानडाविरूद्ध नटआउट ९ रन जोडेका थिए। त्यसपछि दीपेन्द्रले विश्वकपमा इंग्ल्यान्डविरूद्ध २९ बलमा ४४ रन, इटालीविरूद्ध १७ रन, वेस्ट इन्डिजविरूद्ध ५८ रन र स्कटल्यान्डविरूद्ध नटआउट ५० रन बनाएका थिए।
विश्वकपमा उनले इटालीबाहेक सबै टोलीसँग उत्कृष्ट ब्याटिङ गरे। उनी विश्वकपमा नेपालका लागि लगातार दुई अर्धशतक बनाउने खेलाडी बन्नुका साथै सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी समेत बनेका थिए।
त्यतिबेला नेपालका प्रशिक्षक स्टुअर्ट लसहित अरू खेलाडीले ब्याटिङ कसरी गर्ने भन्ने कुरा दीपेन्द्रलाई हेरेर सिक्नुपर्ने बताएका थिए। अरु ब्याटरले संघर्ष गरिरहेका बेलमा दीपेन्द्रको ब्याटबाट खुरुखुरू रन बनिरहेको थियो। यसको मुख्य कारण धैर्य गर्न सक्ने गुण र सर्ट सलेक्सन हो। कुन बलमा हान्ने र कुन बलमा नहान्ने दीपेन्द्रले राम्रोसँग बुझेको प्रशिक्षक लको भनाइ थियो।
विश्वकपबाट फर्किएपछि दीपेन्द्र पाकिस्तान सुपर लिगका लागि इस्लामाबाद युनाइटेडमा आबद्ध हुन गएका थिए। त्यहाँ उनले कुनै खेलमा मौका पाउन भने सकेनन्। त्यहाँको टोलीको वातावरण बुझ्ने मौका पाएका दीपेन्द्रले एक खेलमा भने फिल्डिङ गर्ने मौका पाएका थिए।
पाकिस्तान सुपर लिगको बीचैमा फर्किएका दीपेन्द्रले घरेलु मैदानमा सुरूमा युएईसँग टी-२० सिरिज खेले। सो सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई कप्तानको समेत नियुक्त गर्यो। पछिल्लो समय एकदिवसीय र टी-२० को छुट्टाछुट्टै टोली बनाउने रणनीति लिएको क्यानले दीपेन्द्रलाई टी-२० टोलीको कप्तान बनाएर त्यसको सुरुवात गरेको हो।
वर्षाले प्रभावित दुई खेलको टी-२० सिरिजको पहिलो खेलमा दीपेन्द्रले नटआउट ३२ रन बनाएका थिए। दोस्रो खेलमा उनले नटआउट २३ रन जोडे। सिरिजको पहिलो खेल युएईले जित्दा दोस्रो खेलमा नेपाल विजयी भएका थियो।
त्यसपछि सुरु भएको आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको सुरूवाती तीन खेलमा दीपेन्द्रको प्रदर्शन गज्जबको छ। उनले सुरुवाती दुई खेलमा अर्धशतक र तेस्रो खेलमा शतक प्रहार गरे।
युएईविरूद्धको पहिलो खेलमा ७५ रन बनाएका थिए। टोलीका अरू ब्याटर लगातार आउट हुँदा दीपेन्द्रले भने धैर्यपूर्वक ब्याटिङ गरेर टोलीको संकट टारेका थिए। जसका कारण नेपालले २०० रन बनाएको थियो भने उक्त रनकै कारण नेपालले खेल जितेको थियो।
ओमानविरूद्धको दोस्रो खेलमा नेपाल पराजित भए पनि दीपेन्द्र चुकेनन्। उनले ६० रन बनाएका थिए।
शुक्रबार युएईविरूद्ध शतक प्रहार गर्दा उनले पछिल्ला दश खेलमा पहिलो शतक प्रहार गर्न सफल भए।
‘टोलीका अन्य खेलाडीहरूको भन्दा मेरो बढी रन बनिरहेको छ र टोलीका लागि योगदान दिन पाउँदा फाइदा पुगेको जस्तो लाग्छ,’ दीपेन्द्र आफ्नो ब्याटिङ विषयमा भने, ‘ब्याटिङमा कन्सिस्टेन्सी (निरन्तरता) आएको छ। खेलमा निकै फोकस भएकाले राम्रो भइरहेको छ। खेलमा उतारचढाव आइरहन्छ। जति खेलिन्छ त्यो टोलीका लागि हुन्छ।’
दीपेन्द्रका पछिल्ला दश खेल
युएईविरूद्ध – १०० रन - एकदिवसीय- लिग२ सिरिज
ओमानविरूद्ध – ६० रन - एकदिवसीय- लिग२ सिरिज
युएईविरूद्ध – ७५ रन - एकदिवसीय- लिग२ सिरिज
युएईविरूद्ध – २३* रन – टी-२० - टी२० सिरिज
युएईविरूद्ध – ३२* रन – टी-२० - टी२० सिरिज
स्कटल्यान्डविरूद्ध – ५०* रन – टी-२० – टी२० विश्वकप
वेस्ट इन्डिजविरूद्ध - ५८* रन – टी-२० – टी२० विश्वकप
इटालीविरूद्ध - १७ रन – टी-२० – टी२० विश्वकप
इंग्ल्यान्डविरूद्ध - ४४ रन – टी-२० – टी२० विश्वकप
क्यानडाविरूद्ध – ९* रन- टी-२० - टी२० विश्वकप वमअप
दीपेन्द्रको करिअरबारे पढ्नुहोस् :- चितुवाभन्दा फुर्तिला 'टाइगर' दीपेन्द्र