आइसिसी विश्वकप लिग-२ अन्तर्गत वैशाख २९ हुने नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपालले राष्ट्रिय टोली घोषणा गरेको छ।
१५ सदस्यीय टोलीमा अधिकांस खेलाडी ओमान र युएईविरूद्धको सिरिजका छन्। तर बसिर अहमदको स्थानमा ईशान पाण्डेले टोलीमा परेका छन्।
पाण्डेले नेपालको राष्ट्रिय टोलीबाट टी-२० खेल खेलिसकेका छन्। सन् २०१९ मा उनले जिम्बावेविरूद्ध खेलेका थिए। पाण्डेले नेपालको एकदिवसीय टोलीबाट भने डेब्यू गर्न बाँकी छ।
पाण्डेले राष्ट्रिय टोलीबाट चार वटा टी-२० खेल खेलेका छन्। उनी राष्ट्रिय टोलीमा परेको पहिलो टुरबाट फेरि बाहिरिन पुगेका थिए। पछिल्लो समय उनले घरेलु क्रिकेटका साथै नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सका लागि राम्रो प्रदर्शन गर्न सफल भएका थिए।
उनलाई प्रधानमन्त्री कप र ए टोलीमा गरेको प्रदर्शनको आधारमा राष्ट्रिय टोलीमा स्थान दिइएको हो।
लिग-२ को अंक तालिकामा अमेरिका २४ खेलबाट ३६ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको स्कटल्यान्डको २८ खेलबाट ३४ अंक छ। नेपाल भने अंक तालिकाको पुछारबाट दोस्रो अर्थात सातौं स्थानमा छ। नेपालले २४ खेलबाट १८ अंक जोडेको छ।
सिरिजमा तीनै टोलीले एकआपासमा दुई दुई पटक खेल्नेछन्। पहिलो खेल मंगलबार नेपाल र स्कटल्यान्डबीच हुनेछ।
नेपाली टोली
१ रोहित पौडेल (कप्तान)
२ दीपेन्द्र सिंह ऐरि (उपकप्तान)
३ कुशल भुर्तेल
४ आसिफ सेख
५ भीम सार्की
६ आरिफ सेख
७ ईशान पाण्डे
८ गुलशन झा
९ सोमपाल कामी
१० सन्दीप लामिछाने
११ ललित राजवंशी
१२ विनोद भण्डारी
१३ नन्दन यादव
१४ अर्जुन कुमाल
१५ करण के सी