आइसिसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गत अमेरिका विरूद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
त्रिवि मैदान कीर्तिपुरमा टस जितेर अमेरिकाले पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो।
काठमाडौंमा बिहानैदेखि वर्षाका कारण मैदान भिजेपछि खेल सुरू हुन भने ढिलाइ भएको छ।
बिहान साढे ९ बजेदेखि सुरू हुने तय भएको खेल भर्खरै सुरू भएको छ।
अमेरिका विरूद्धको नेपालको टोलीमा कुनै परिवर्तन भएको छैन।
जारी सिरिजमा नेपालले तीन खेल खेलिसक्दा एक खेल मात्रै हारेको छ।
वर्षा बाधक भएपछि डिएलएसबाट खेलको नतिजा तय हुँदा नेपाल स्कटल्याण्डसँग २ रनले पराजित भएको थियो।
स्कटल्याण्डलाई दोस्रो खेलमा भने नेपालले ६ विकेटले पराजित गरेको थियो।
नेपालले पहिलो खेलमा अमेरिकालाई ९ विकेटले हराएको थियो।
अमेरिका र स्कटल्याण्ड लिग-२ अंक तालिकाको पहिलो र दोस्रो स्थानमा छ।
जारी सिरिजबाट नेपाल तालिकामा दुई स्थान माथि उक्लिएको छ। यसअघि सातौं स्थानमा थियो। स्कटल्याण्डविरूद्ध जितसँगै क्यानडा र नामिबियालाई उछिन्दै नेपाल पाँचौं स्थानमा उक्लिएको छ।
नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष ६ मा रहिरहनुपर्छ।