आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ।
खेल ओमानको अलअमरात क्रिकेट मैदानमा आज बिहान ११ः१५ बजे सुरु हुनेछ।
नेपालका लागि यो खेल महत्वपूर्ण छ। ओमानलाई पराजित गर्नसके नेपालले लिग–२ को शीर्ष छ स्थान सुरक्षित गर्दै सोझै एकदिवसीय अन्तरराष्ट्रिय मान्यता जोगाउन सफल हुनेछ। अन्यथा नेपालले एकदिवसीय मान्यता जोगाउन विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ।
शृङ्खलाको पछिल्लो खेलमा क्यानडाविरुद्ध २४ रनले पराजित भएपछि नेपाल तालिकाको सातौँ स्थानमा झरेको थियो।
छैटौँ स्थानमा रहेको क्यानडाभन्दा नेपालको नेट रनरेट राम्रो रहेकाले खेल रद्द भएर एक अङ्क पाए पनि नेपाल शीर्ष ६ मा पुग्ने सम्भावना छ। तर, ओमानमा वर्षाको सम्भावना न्यून रहेकाले नेपाल जितकै लक्ष्यमा मैदान उत्रनेछ।
नेपालले यसअघि शृङ्खलाको दोस्रो खेलमा ओमानलाई ११३ रनले पराजित गरेको थियो। अब नेपाली टोली सोमबार पनि उत्कृष्ट प्रदर्शन गरेर ओमानविरुद्ध जित दोहोर्याउन चाहन्छ।
एकदिवसीय अन्तरराष्ट्रियमा नेपाल र ओमानबीच हालसम्म १२ खेल भएका छन्। जसमा दुवैले समान ६–६ खेल जितेका छन्। पछिल्ला तीन भेटमा भने नेपालले ओमानलाई पराजित गरेको छ।