नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानलाई १० रनले पराजित गरेको छ।
सोमबार ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्रै बनाउन सक्यो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर २८० रन बनाएको थियो।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८० रन बनाए। उनले ८१ बलमा दुई चौका र दुई छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले ६२ बलमा ६९ रन जोडे। उनले तीन चौका र चार छक्का प्रहार गरे।
रोहित र दीपेन्द्रले चौथो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए। यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उक्त विकेटका लागि नेपालको कीर्तिमानी साझेदारी हो।
त्यस्तै देव खनालले ५७ र इशान पाण्डेले २९ रन बनाए। ओमानका शाह फैसलले पाँच विकेट लिए भने जय ओडेड्राले तीन विकेट हात पारे।
ओमानका जतिन्दर सिंहले सर्वाधिक ८९ रन बनाए। उनले सात चौका र एक छक्का प्रहार गरे। त्यस्तै अर्का हम्माद मिर्जाले ८७ रन बनाए। उनले पाँच चौका र तीन छक्का प्रहार गरे।
हसनैन शाहले नटआउट रही ४० रन बनाए।
नेपालले लिग–२ को आफ्नो अन्तिम खेलमा महत्त्वपूर्ण जित निकालेको हो। योसँगै नेपाल लि-२ मा ३६ वटा खेल खेलेर ३० अंकसहित छैटौंस्थानमा छ। नेपालले लिगमा १४ खेल जित्दा २० खेल पराजित भएको छ।