नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।
प्रतियोगिता सुरू हुन केहि दिन बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनका काम लगभग सकिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक विगतका संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी कमजोरी सुधार गर्दै दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनालाई सहज वातावरण उपलब्ध गराउने तयारी गरेको छ।
प्रतियोगिताको प्रत्येक संस्करण थप व्यवस्थित र बृहत् बन्दै गएकाले यसपटक दर्शकको अनुभवलाई विशेष प्राथमिकता दिइएको क्यानले जनाएको छ।
एनपिएलका खेलमा दर्शकको चाप अत्यधिक हुने भएकाले उपलब्ध स्थानको अधिकतम उपयोग गर्दै दर्शक क्षमता बढाउने प्रयास भइरहेको छ। टिकट काटेर मैदान पुग्ने दर्शकलाई प्रवेशदेखि खेल अवलोकन गरेर फर्किंदासम्म सहज वातावरण उपलब्ध गराउने गरी व्यवस्थापनमा ध्यान दिइएको छ।
गत संस्करणमा दर्शकले शौचालयको अपर्याप्त सुविधा तथा आवतजावतका क्रममा धुलोको समस्या भोग्नुपरेको थियो। यसपटक त्यस्ता समस्या दोहोरिन नदिन आवश्यक सुधारका काम अघि बढाइएको छ। साथै, मैदानमा केही नयाँ संरचना थपेर समग्र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी गरिएको छ।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी












