नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन (वालेन्द्र) शाह सहभागी हुने भएका छन्।
आयोजक नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रधानमन्त्री शाहको उपस्थिति आइतबार अबेर सुनिश्चित भएको हो।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबारदेखि प्रतियोगिता सुरू हुँदैछ।
यस वर्षको एनपिएल अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ भने सबै खेल काठमाडौंमै हुनेछ।
क्यानले यस पटक पुरस्कार राशिमा उल्लेख्य वृद्धि गरेको छ। प्रतियोगिताको विजेताले १ करोड ५० लाख रूपैयाँ प्राप्त गर्नेछ। उपविजेताले ८० लाख रुपैयाँ पाउनेछ भने तेस्रो र चौथो हुने टोलीले क्रमशः ४० लाख र ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्।
शीर्ष चार टोलीका लागि मात्रै कुल ३ करोड रुपैयाँ पुरस्कार छुट्ट्याइएको छ।
तेस्रो संस्करणलाई अघिल्ला संस्करणभन्दा थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउने उद्देश्यसहित केही महत्त्वपूर्ण परिवर्तन गरिएको क्यानले जनाएको छ।
अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलर तथा बंगलादेशका शाकिब अल हसनजस्ता विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिताले प्रतियोगिताप्रति थप उत्साह बढाएको छ।
यस संस्करणमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक मान्यता, डिसिजन रिभ्यु सिस्टम (डिआरएस) को प्रयोग, विदेशी खेलाडी अनुबन्ध प्रक्रियामा थप सहजता तथा कीर्तिपुर मैदानको स्तरोन्नतिलाई प्रमुख विशेषताका रूपमा हेरिएको छ।
क्यानका अनुसार यी सुधारले एनपिएललाई अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक टी–२० प्रतियोगिताको रूपमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।