पोर्चुगल फुटबल महासंघ (एफपिएफ) ले राष्ट्रिय टोलीको क्याम्प छाडेको भन्दै क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको लागि निलम्बन र २५५ युरो (करिब २१५ पाउन्ड) जरिवाना गरेको छ।
४१ वर्षीय कप्तान रोनाल्डोले गत सेप्टेम्बरमा पोर्चुगलको नेसन्स लिग टोली छाडेका थिए। नर्वेविरूद्धको खेलमा बेन्चमै बसेका उनले अक्टोबर १ मा डेनमार्कविरूद्धको खेलमा पनि सुरूआती ११ मा नपर्ने थाहा पाएपछि टोली छाडेका थिए।
रोनाल्डोले लामो वक्तव्य जारी गर्दै पोर्चुगलका प्रशिक्षक जर्ज जेससले दुई पटक आफ्नो वाचा तोडेको र आफूले उनीप्रतिको विश्वास पूर्ण रूपमा गुमाएको बताएका थिए।
डेनमार्कविरूद्धको खेल भएकै दिनदेखि निलम्बन लागू हुने भएकाले रोनाल्डोले निलम्बनको १९ दिन यसअघि नै भुक्तान गरिसकेका छन्। त्यसैले उनले पोर्चुगलका आगामी कुनै पनि खेल गुमाउनुपर्ने छैन।
पोर्चुगलले नोभेम्बर १४ मा नेसन्स लिगअन्तर्गत डेनमार्कसँग पुनः खेल्नेछ भने त्यसको तीन दिनपछि वेल्ससँग खेल्न जानेछ।
एफपिएफको अनुशासन समितिले रोनाल्डोले आफ्नो वक्तव्यमा देखाएको पश्चात्ताप तथा फुटबलमा पुर्याएको योगदान र खेलकुद उपलब्धिका लागि प्राप्त सम्मानलाई सजाय निर्धारण गर्दा ध्यानमा राखेको जनाएको छ।
समितिका अनुसार रोनाल्डोले आफ्नो बचाउका क्रममा व्यक्तिगत विवरण, पुरस्कार र उपलब्धिहरू समेटिएको बायोडाटा पनि पेस गरेका थिए। उनले यसअघि जारी गरेको वक्तव्यमा आफ्नो गल्तीको जिम्मेवारी लिँदै टोलीका साथी र समर्थकसँग माफी मागेका थिए। साथै, आफूले सजाय पाउनुपर्ने पनि स्वीकार गरेका थिए।
पोर्चुगलका प्रशिक्षक जेससले भने रोनाल्डोसँग कुनै सहमति नगरेको बताएका छन्। यद्यपि, उनले रोनाल्डोका लागि राष्ट्रिय टोलीमा फर्किने ढोका खुला रहेको संकेत गरेका छन्।
पोर्चुगल फुटबल महासंघका अध्यक्ष पेड्रो प्रोएन्साले पोर्चुगिज सञ्चारमाध्यम ‘रेकर्ड’सँग कुरा गर्दै विवाद समाधान भएपछि रोनाल्डोलाई राष्ट्रिय टोलीमा फर्काउने बलियो चाहना रहेको बताएका छन्।
पाँच पटक बालोन डी’ओर जितेका रोनाल्डोले पोर्चुगलका लागि २३४ खेलमा १४६ गोल गरेका छन्। पुरूष अन्तर्राष्ट्रिय फुटबलमा खेल संख्या र गोल दुवैमा उनको कीर्तिमान छ। उनको योगदानमा पोर्चुगलले सन् २०१६ को युरोकप र नेसन्स लिगका दुई उपाधि जितेको थियो।
रोनाल्डो सन् २०२२ को डिसेम्बरमा साउदी अरबको क्लब अल नासरमा आबद्ध भएका थिए। त्यतिबेला उनको वार्षिक पारिश्रमिक १७ करोड ७० लाख पाउन्ड रहेको बताइएको थियो। उनले गत वर्ष क्लबसँग सम्झौता नवीकरण गरेका थिए।