नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले बाढी पीडित तेक्वान्दोका साग पदक विजेता रेजिन रिमाललाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी पूर्व सदस्य नन्दा बस्याल, नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशका अध्यक्ष केशव पुरी र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले रेजिनलाई २ लाख १ हजार रुपैयाँ हस्तान्तरण गरे । कागेश्वरी मनोहरा नगरपालिकाको डाँछीस्थित एनटीएको हलमै आयोजित कार्यक्रममा रकम हस्तान्तरण गरिएको हो ।
एनटीएका अध्यक्ष तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले रेजिनलाई सहयोग गर्न पहल गरेका थिए । अध्यक्ष खड्काले तेक्वान्दोकर्मी, शुभचिन्तकलगायतबाट १ लाख ५० हजार सहयोग संकलन भएको जानकारी दिए । संकलित सहयोगमा अध्यक्ष खड्का र गणेशबहादुर खड्काले ५१ हजार रुपैयाँ थपेर रेजिनलाई २ लाख १ हजार सहयोग प्रदान गरिएको हो । कार्यक्रममा अध्यक्ष खड्काले सहयोगकर्ताको नाम र सहयोग रकम समेत सार्वजनिक गरेका थिए ।
-1792136521.jpeg)
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रेजिनको नुवाकोट जिल्लाको विदूर नगरपालिका ७ स्थित त्रिशूलीमा रहेको नयाँ र पुरानो गरी २ वटा घर बगाएको थिए । नयाँ घर बनाउन बैंक र विभिन्न संस्थाबाट करिब ४५ लाख ऋण लिएको रेजिनले बताए ।
अध्यक्ष खड्का खेल क्षेत्रसंगै सामाजिक सेवामा निरन्तर सक्रिय छन् । २०७२ सालको विनाशकारी भूकम्प, कोभिड महामारी, आर्थिक कारणले समस्यामा परेकालाई विभिन्न समयमा अशोकले सक्दो सहयोग गर्दै आएका छन् ।
अध्यक्ष खड्काले सहयोगी सबैलाई धन्यवाद दिदै मर्कामा परेका खेलाडीलाई आफ्नोतर्फबाट सानो प्रयास भएको बताए।