पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुँदैछ।
प्रतियोगिताको तयारीस्वरूप संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले तयारी तीव्र बनाएका छन्।
निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा सम्पन्न भएपछि दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी कर्णाली प्रदेशले पाएको थियो। सोही जिम्मेवारीअनुसार प्रदेश सरकारले वीरेन्द्रनगरमा १० हजार दर्शक क्षमताको सुविधासम्पन्न रंगशाला निर्माण गरेको हो। प्रदेश गौरवको आयोजनाका रूपमा अघि बढाइएको रंगशालाको निर्माण कार्य सम्पन्न भइसकेको छ।
प्रतियोगिताको उद्घाटन तथा समापन समारोह यही रंगशालामा आयोजना हुनेछ। आधुनिक पूर्वाधारसहित निर्माण गरिएको रंगशालाले राष्ट्रिय खेलकुदका विभिन्न प्रतियोगिता सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन्।
प्रतियोगितामा कुल ३२ खेल विधामा प्रतिस्पर्धा हुनेछ।
लामो समयदेखि प्रतीक्षामा रहेको प्रतियोगिता नजिकिँदै गर्दा कर्णाली प्रदेशमा खेलकुदको माहोल बढेको छ। निर्धारित मितिमा प्रतियोगिता सम्पन्न गर्न सम्बन्धित निकायले तयारीलाई तीव्रता दिएका छन्।
तस्बिर : दिपेन श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी













