गायक रामकृष्ण ढकालको निर्माण रहेको फिल्म 'मालती मंगले' को प्रदर्शन मिति घोषणा भएको छ।
निर्माण पक्षले शनिबार पोस्टर ल्याउँदै प्रदर्शन मिति घोषणा गरेको हो।
फिल्म आगामी बैशाख २५ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ। सार्वजनिक पोस्टरले फिल्मको मुख्य मर्म र पात्रहरूको रसायनलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ।
पोस्टरमा फिल्मका मुख्य कलाकार विजय बराल र वर्षा राउतलाई निकै आत्मीय र प्रेमिल मुद्रामा देखाइएको छ।
पोस्टरमा विजयले वर्षाको काखमा आरामदायी भावमा टाउको राखेका छन् भने रातो रंगको ग्रामीण पहिरनमा सजिएकी वर्षाले विजयको टाउकोमा आफ्नो टाउको अड्याउँदै मुस्कुराइरहेकी छिन्।
विजय बस्यालले डिजाइन गरेको पोस्टरको पृष्ठभूमि र पात्रहरूको हुलियाले फिल्मले एउटा अग्र्यानिक र माटोको सुगन्ध बोकेको ग्रामीण प्रेमकथा वा सामाजिक परिवेशलाई उठान गरेको आभास दिन्छ।
निर्देशक प्रकु पाण्डेयले फिल्मलाई एक विशुद्ध नेपाली पारिवारिक प्रेमकथाको रूपमा व्याख्या गरेका छन्। उनले भने, 'यो परिवारको सबै उमेर समूहका सबै जना एकसाथ बसेर हेर्न सकिने फिल्म हो। यसले हाम्रो समाजको एउटा बलियो पाटोलाई उजागर गर्ने प्रयास गरेको छ।'
फिल्मको कथा पनि निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्।
फिल्म रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो। यसको कार्यकारी निर्मातामा सागर ज्ञवाली रहेका छन् भने सह–निर्माताहरूमा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरूङ र स्वीकृति बस्नेत छन्।
फिल्ममा विजय र वर्षासहित मेक्सम गौडेल मुख्य भूमिकामा देखिएका छन्। साथमा प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरूङ र सागर भट्टराईलगायत कलाकारहरूको पनि अभिनय छ। छायांकार महेश पौडेल हुन् भने सम्पादन रोमी मोजेजको, रंग संयोजन कृष्ण भण्डारीको, ध्वनि मिश्रण डिकेश खड्गीको छ।
फिल्मको डिजिटल वितरक ओएसआर डिजिटलले गर्नेछ भने थिएटर वितरक आरआर फिल्म्स मार्फत हुनेछ।
