फिल्म 'पाँच पाण्डव' को यतिबेला पूर्वी नेपालको झापामा धमाधम छायांकन भइरहेको छ। ठूलो लगानी र नाम चलेका कलाकारहरूको उपस्थितिका कारण यो फिल्म निर्माण घोषणादेखि चर्चामा छ।
यसैबीच छायांकन सुरू भएको दुई सातापछि फिल्ममा दुई कलाकारहरू जोडिएका छन्। फिल्ममा भर्सटायल अभिनेता प्रशान्त ताम्राकार र चर्चित कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरीको प्रवेश भएको हो।
छायांकनको १४ औं दिनमा उनीहरू सेटमा जोडिएसँगै फिल्मको क्यानभास अझ फराकिलो बनेको निर्देशक वसन्त निरौलाले बताए।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्ममा चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै छायांकन थालिएको थियो। फिल्मको शीर्ष भूमिकामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) छन्।
यी पाँच पात्रहरूलाई केन्द्रमा राखेर बुनिएको कथामा महिला मुख्य पात्रका रूपमा दीपाश्री निरौला र जनी गुरूङ देखिनेछन्।
फिल्मको शीर्षक 'पाँच पाण्डव' भए पनि यो कुनै पौराणिक वा धार्मिक कथा नभई पूर्ण रूपमा ‘सोसल ड्रामा’ (सामाजिक कथा) भएको लेखक सुशील पौडेलले स्पष्ट पारेका छन्। फिल्मले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने जनाइएको छ।
प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार फिल्मलाई भव्य बनाउन बजेटमा कुनै पनि सम्झौता गरिएको छैन। 'हामीसँग हरिवंश दाइजस्ता दिग्गज कलाकारदेखि नयाँ पुस्ताका प्रिय कलाकारहरू हुनुहुन्छ। यो यस वर्षकै प्रतिक्षित फिल्म बन्नेमा हामी ढुक्क छौं,' श्रेष्ठले भने।
नवीनले यसअघि गतवर्ष फिल्म 'लाज शरणम्' निर्माण गरेका थिए।
फिल्मको निर्माण काली रानी श्रेष्ठले गरिरहेकी छिन्। ४० दिनको छायांकन तालिका तय गरिएको यस फिल्मको अधिकांश दृश्यहरू झापाका रमणीय र महत्वपूर्ण स्थानहरूमा खिचिनेछ। झापाको तालिका सकिएपछि टोलीले अन्य स्थानको लागि यात्रा तय गर्ने निर्देशक निरौलाले बताए।
कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको यो फिल्म श्याम तामाङले खिच्दैछन्।