शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म 'सेप अफ मोमो' (छोरा जस्तै)को सिनेमा हलहरूले अग्रिम टिकट बिक्री सुरू गरेका छन्।
सिक्किमकी निर्देशक त्रिवेणी राईको निर्देशनमा बनेको फिल्म नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको हो। नेपालमा क्युएफएक्स, आईएनआई सिनेमान, वान सिनेमाजलगायतका ठूला मल्टिप्लेक्सले शो तालिका सार्वजनिक गर्दै टिकट बिक्री थालिसकेका छन्।
यो फिल्मले रिलिजअघि नै अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा चर्चा बटुलिसकेको छ।
११४ मिनेट लामो ड्रामा विधाको यो फिल्ममा आफ्नो जागिर छाडेर गाउँ फर्किएकी एक महिलालाई केन्द्रमा राखेर कथा प्रस्तुत गरिएको छ। फिल्मले हिमाली समाज, महिलाको अस्तित्व, पारिवारिक सम्बन्ध र आत्मनिर्भरताको विषय उठाएको छ। फिल्ममा पशुपति राई, गौमाया गुरूङ, श्यामाश्री शेर्पा, भानु माया राई, राहुल मुखिया, जानकी कडायतलगायत कलाकारहरूको अभिनय छ।
फिल्मको वितरकमा भारतीय अभिनेता तथा निर्माता राणा दग्गुबातीको कम्पनी जोडिएको छ। उनको स्पिरिट मिडियाले फिल्मलाई भारत र नेपालमा वितरण गरेको हो।
त्यस्तै, फिल्ममा बलिउड निर्देशक जोया अख्तर कार्यकारी निर्माताका रूपमा छिन्। फिल्मलाई कार्यकारी निर्माताको रूपमा जोयासहित पायल कपाडिया र रीमा कागतीलगायत फिल्म निर्माताहरूको बलियो समूहले समर्थन गरेको छ। राणा दग्गुबातीको कम्पनीले वितरणको जिम्मा लिएसँगै फिल्ममा जोयासहितको टिम जोडिएको थियो। फिल्मको कथा र अन्तर्राष्ट्रिय सम्भावना देखेर उनीहरूसँग जोडिएको बताइएको छ।
यसअघि बुधबार फिल्मको नेपाल प्रिमियर काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को उद्घाटन समारोहमा गरिएको थियो। त्यसक्रममा निर्देशक राईले स्वतन्त्र तथा क्षेत्रीय फिल्मकर्मीका लागि किम्फजस्ता मञ्च महत्वपूर्ण हुने बताएकी थिइन्।
किम्फमा बिहीबार पनि फिल्म प्रदर्शन हुँदैछ।
यो पनिः सिक्किमबाट बुसान हुँदै काठमाडौं आइपुगेको फिल्म
यस्तो छ ट्रेलरः