अभिनेता पशुपति राईले केही समययता आफू नजिकका साथीहरूलाई भन्न थालेकी थिइन्, 'अब म आमाको रोल गर्दिनँ।'
फिल्म 'शेप अफ मोमो' को कुरा हुँदा पनि उनले सुरूमा यसमा अभिनय गर्ने मन बनाएकी थिइनन्। धेरै पटक आमाको भूमिकामा दोहोरिइसकेकी उनलाई सायद यो पनि उस्तै खाले अर्को प्रस्ताव जस्तो लागेको थियो।
'टाइपकास्ट' भइने डर र नयाँ केही अनुभव गर्न नपाइने चिन्ताले पनि उनी आमाको भूमिका गर्नबाट तर्किएकी थिइन्।
त्यही बेला गौमाया गुरूङसँगको भेटमा त्यो फिल्मबारे चर्चा भयो।
गौमाया त्यसअघि नै 'शेप अफ मोमो' मा अनुबन्ध भइसकेकी थिइन् र पशुपतिजस्तै आफ्नो भूमिकाका लागि फरक पात्र हुनुपर्ने धारणा राख्थिन्।
'हामीले प्रायः फिल्ममा महिलालाई एउटै ढाँचामा देखिरहेका हुन्छौं। तर महिलाबीच हुने वास्तविक संवाद, साथीहरू, आमा, फूपूहरू, दिदीबहिनीबीचका तहगत अनुभवहरूमा आधारित पात्रहरू कमै भेटिन्छन्,' गौमायाले सेतोपाटीसँग भनिन्, 'म त्यही लेयरमा काम गर्न चाहन्थेँ।'
टाइपकास्ट भइरहेको महसुस गरिरहेकी गौमायाले सिक्किमकी निर्देशक त्रिवेणी राईले फिल्म बनाउन लागेको थाहा पाएपछि उनको काम खोजेर हेरेकी थिइन्।
त्यस बेला त्रिवेणीका केही सर्टफिल्म मात्रै सार्वजनिक थिए। पछि अडिसन कल आयो। कथामा पात्रका लागि त्यही प्रकारको अनुहार, भित्री तनाव र संवेदनशीलता खोजिएको थियो। गौमायाले अडिसन दिइन् र त्यसपछि पशुपति राईको नाम सुझाइन्।
पशुपति राईका अनुसार उनलाई सुरूमा यो फिल्मबारे खासै जानकारी थिएन। गौमायासँग महिलाको कथा, आमा पात्र र नयाँ प्रकारको फिल्मबारे कुराकानी भइरहन्थ्यो।
'आमाको भूमिकाका लागि कसलाई लिन सकिन्छ भनेर कुरा भइरहेको रहेछ,' उनले भनिन्, 'गौमायाले मसँग काम गरिसकेको हिसाबले मेरो नाम सुझाएको रहेछ।'
पशुपतिले अगाडि भनिन्, 'तर आमाको भूमिका धेरै गरिसकेको थिएँ। टाइपकास्ट भइसके जस्तो लाग्थ्यो। नगर्ने नै भनेर बसेको थिएँ।'
तर अडिसन पठाइयो। कथा पनि खुल्दै गयो। त्यसपछि उनी आफैले पात्रसँग जोडिएको महसुस गर्न थालिन्।
'अडिसन दिँदासम्म नगरे पनि हुन्थ्यो भन्ने लाग्थ्यो,' उनले भनिन्, 'तर स्क्रिप्ट पढेपछि भने मैले नै गर्नुपर्ने रोल होला जस्तो लाग्यो।'
'शेप अफ मोमो' सिक्किमको नेपालीभाषी समाजको परिवेशमा बनेको फिल्म हो। त्यहाँको भूगोल, संस्कृति, नेपाली भाषा र पारिवारिक संरचनाभित्र तीन पुस्ताका महिलाको कथा फिल्ममा बुनिएको बताइएको छ।
यसको सम्पूर्ण छायांकन सिक्किममै गरिएको हो। आमा–छोरीको भूमिकामा अभिनय गरेका पशुपति र गौमायाका अनुसार निर्माण टिम लामो समय एउटै घर र परिवेशमा बसेर काम गरेका थिए।
पशुपति भन्छिन्, 'सुटिङभन्दा केही दिनअघि हामी त्यहाँ पुग्यौं। धेरै कुराकानी भयो। पात्रबारे छलफल भयो। सुझावहरू पनि लिनुभयो। कथासँग हामी झन् नजिक हुँदै गयौं।'
कस्ट्युम डिजाइनर जानकी कडायतका लागि पनि यो फिल्म सिर्जनात्मक दृष्टिले विशेष अनुभव बन्यो। उनी कस्ट्युम डिजाइनरका रूपमा मात्र होइन, फिल्ममा एउटा सानो भूमिकामा पनि देखिएकी छन्।
उनले भनिन्, 'महिलाको कथामा काम गर्न पाएँ। एउटा महिला निर्देशकले पात्रलाई कसरी हेर्नुहुन्छ भन्ने कुरा बुझ्न उत्सुक थिएँ।'
उनका अनुसार फिल्ममा महिला प्राविधिकहरूको उपस्थिति पनि महत्वपूर्ण थियो।
'हाम्रो डिओपी (सिनेमाटोग्राफर) पनि महिला नै हुनुहुन्थ्यो। कस्ट्युममा रङ र मनोविज्ञानको कुरा आउँछ। पात्रले के सोचिरहेको छ, उसलाई कस्तो लुगा सहज हुन्छ भन्नेमा लामो छलफल हुन्थ्यो,' उनले भनिन्।
सिक्किम पुगेर नेपाली भाषा र त्यहाँको नेपालीपन देख्दा आफू चकित भएको अनुभव सुनाउँदै उनले अगाडि भनिन्, 'इन्डियामा भएर पनि त्यहाँ नेपाली भाषा र संस्कृतिलाई यति मज्जाले जोगाइएको रहेछ।'
फिल्मको मुख्य विषय महिलाको भित्री संसार हो। गौमायाका अनुसार फिल्मको सबभन्दा बलियो पक्ष 'आमा पात्रको ट्रान्जिसन' हो। उनले भनिन्, 'प्रायः फिल्ममा आमा कि त रोइरहेको हुन्छ, कि कराइरहेको हुन्छ। तर यहाँ आमाको युवा समय, उसका सपना र उसको परिवर्तन पनि देखिन्छ।'
फिल्ममा पुरूष सदस्य नभएको घरभित्र तीन पुस्ताका महिला कसरी पितृसत्तात्मक समाजसँग जुधिरहेका छन् भन्ने देखाइएको छ। गौमायाका अनुसार आमा पात्रले घरलाई 'डिप्लोमेटिक तरिकाले' सम्हालिरहेको छ, जुन फिल्मको महत्त्वपूर्ण पक्ष हो।
पशुपति राई भने फिल्मले महिलामाथिको अदृश्य सामाजिक दबाबलाई गहिरो रूपमा समातेको बताउँछिन्।
'महिलाले हरेक क्षण आफू महिला भएको महसुस गर्नुपर्छ। यो गर्न हुँदैन, यो भन्न हुँदैन, नरम हुनुपर्छ, सहनुपर्छ भन्ने समाजको दबाब हुन्छ,' उनले भनिन्, 'यसले महिलाको अर्को पाटोहरूको कुरा गर्छ। यसले समाजमा एक खालको बहस ल्याउँछ जस्तो लाग्छ।'
उनका अनुसार फिल्मले महिलाको 'सफ्टनेस' मात्र होइन, उसको आक्रोश, निराशा, प्रतिरोध र भित्री संघर्षको पनि कुरा गर्छ।
जोया अख्तर र राणा दग्गुबाती जोडिएको फिल्म
अंग्रेजीमा 'शेप अफ मोमो' नाम रहेको यो फिल्मलाई नेपालीमा 'छोरा जस्तै' नामकरण गरिएको छ।
फिल्मको वितरकमा भारतीय अभिनेता तथा निर्माता राणा दग्गुबातीको कम्पनी जोडिएको छ। उनको स्पिरिट मिडियाले फिल्मलाई भारत र नेपालमा वितरण गर्नेछ। उनको कम्पनीले सयौं फिल्मको वितरण गरिसकेको छ।
अभिनेत्री गौमायाका अनुसार राणा दग्गुबाती विशेषगरी फिल्ममा भानुमायाको वृद्ध पात्र 'मुमा' बाट प्रभावित भएका थिए।
'मैले बुझेअनुसार उहाँले त्यो पात्रसँग गहिरो सम्बन्ध महसुस गर्नुभयो,' गौमायाले भनिन्, 'त्यसपछि वितरणमा जोडिनुभयो।'
त्यस्तै, फिल्ममा बलिउड निर्देशक जोया अख्तर कार्यकारी निर्माताका रूपमा जोडिएकी छन्।
राणा दग्गुबातीको कम्पनीले वितरणको जिम्मा लिएसँगै जोया जोडिएको निर्माण टिमले बताएको छ। टिमका अनुसार फिल्मको कथा र अन्तर्राष्ट्रिय सम्भावना देखेर जोया फिल्मसँग जोडिएकी हुन्।
सिक्किमबाट बुसान हुँदै काठमाडौं आइपुगेको फिल्म
अन्तर्राष्ट्रिय यात्राले 'शेप अफ मोमो' को दायरा अझ फराकिलो बनाएको छ। यो फिल्म बुसान, सान सेबास्टियन, ह्याम्बर्ग लगायतका अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रदर्शन भइसकेको छ भने अवार्ड पनि जितिसकेको छ।
अन्तर्राष्ट्रिय दर्शकले हेरेको कथा अब आफ्नै भाषा र समाजका दर्शकमाझ पुग्दैछ। 'शेप अफ मोमो' यही जेठ १३ गते (बुधबार) नेपालमा प्रिमियर हुनेछ।
जेठ १३ देखि सुरू हुने काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा उद्घाटन फिल्मका रूपमा यसको प्रिमियर गर्न लागिएको हो। ठमेलस्थित क्यूएफएक्स छायाँ सेन्टरमा फिल्म प्रिमियर हुनेछ।
कलाकारहरू नेपाल प्रिमियरलाई लिएर एकदमै उत्साहित छन्। गौमाया भन्छिन्, 'नेपाली फिल्मको कथा बाहिरका फेस्टिभलहरूमा मानिसहरूले रूचाउनुभयो। त्यो देख्दा यो कथा साँच्चै युनिभर्सल हो भन्ने लाग्यो। अब आफ्नै दर्शकले हेर्दा कस्तो प्रतिक्रिया आउला भन्ने उत्साह छ।'
पशुपति र जानकी पनि किम्फमा दर्शकसँग फिल्म साट्ने क्षणको प्रतीक्षामा छन्।
नेपाल प्रिमियरपछि 'शेप अफ मोमो' मे २९ (जेठ १५) देखि भारत र नेपालमा प्रदर्शन गर्ने तयारी छ।
यस्तो छ ट्रेलर